08/23/2026
FIPNA को सदस्य संस्था तामाङ सोसाइटी अफ अमेरिका (TSA) एक ससक्त र अत्यन्तै महत्वोपुर्न सदस्य संस्था हो। आफ्नै परिवारको एउटा महत्वपूर्ण सदस्य संस्थाभित्र पछिल्लो समय देखिएको असमझदारी, विवाद र परिस्थितिप्रति म व्यक्तिगत रूपमा र सामुदायिक रुपमा अत्यन्तै दुःखी, चिन्तित छु। FIPNA को महासचिवको जिम्मेवारीमा रहँदा आफ्नै सदस्य संस्थाभित्र यस्तो अवस्था सिर्जना हुनु मेरा लागि झन् गम्भीर विषय बनेको छ। संस्था भनेको केवल पद, प्रतिष्ठा र संरचनाको नाम होइन-संस्था भनेको विश्वास, सम्बन्ध, सहकार्य, त्याग र सामूहिक भावनाले निर्माण भएको साझा घर हो। त्यसैले आज देखिएको यो परिस्थितिलाई कसैको जित वा हारका रूपमा होइन, सम्पूर्ण तामाङ समुदायको साझा पीडा र चुनौतीका रूपमा हेर्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ।
तामाङ समुदाय अमेरिकामा आफ्नो भाषा, संस्कृति, पहिचान, परम्परा र सामाजिक एकताको संरक्षण तथा प्रवर्द्धनमा लामो समयदेखि महत्वपूर्ण योगदान गर्दै आएको समुदाय हो। यस समुदायभित्र असाध्यै सक्षम, अनुभवी, दूरदर्शी र परिपक्व नेता तथा नेतृत्वहरू हुनुहुन्छ। त्यसैले अहिलेको जस्तो परिस्थितिको समाधान पनि हामी आफैँभित्र खोज्न सक्छौँ भन्नेमा म पूर्ण विश्वस्त छु। असहमति हुनु लोकतान्त्रिक र संस्थागत जीवनको स्वाभाविक पक्ष हो, तर असहमति जब संवादको ढोका बन्द गरेर विभाजनतर्फ जान्छ, त्यसले व्यक्ति वा एउटा संस्थालाई मात्र होइन, सिंगो समुदायलाई कमजोर बनाउँछ। हामीले आजको क्षणिक आवेगभन्दा भोलिको पुस्ताले हामीलाई कसरी सम्झिनेछ भन्ने कुरालाई प्राथमिकता दिन आवश्यक छ। नेतृत्वको वास्तविक परीक्षा अनुकूल परिस्थितिमा होइन, कठिन र संवेदनशील परिस्थितिमा संयमता, विवेक र सहमतिको बाटो रोज्न सक्नुमा हुन्छ।
विश्वका ठूला-ठूला राष्ट्रहरूबीचका दशकौँ पुराना संघर्ष, विवाद र गम्भीर मतभेदहरू समेत अन्ततः वार्ता, संवाद र टेबलटकबाट समाधान खोजिएका उदाहरणहरू हामीसामु छन्। त्यसैले हाम्रो समुदायभित्रको यो समस्या पनि संवादको टेबलमा बसेर समाधान गर्न नसकिने विषय पक्कै होइन। म अमेरिकाभरि रहनुभएका सम्पूर्ण तामाङ समुदायका अग्रज, नेता तथा नेतृत्वहरूप्रति व्यक्तिगत रूपमा र FIPNA को महासचिवको हैसियतले हार्दिक अपिल गर्दछु ! एकअर्कामाथि दोषारोपण गर्नेभन्दा एकअर्काको कुरा सुन्ने वातावरण बनाऔँ । विगतका तिक्तता र असमझदारीलाई बोकेर हिँड्नुभन्दा भविष्यको बाटो खोजौँ। आवश्यक परे हामी सबैले केही कदम पछाडि हटेर समुदायको एकताका लागि केही कदम अगाडि बढ्न सक्नुपर्छ। पद र प्रतिष्ठा क्षणिक हुन्, तर समुदायको विश्वास, सम्बन्ध र एकता दीर्घकालीन सम्पत्ति हुन्।
अन्तत यो विषयप्रति मेरो मनमा गहिरो पीडा र चिन्ता छ। TSA मा देखिएको परिस्थितिले तामाङ समुदायका नेता, नेतृत्व, FIPNA र सिंगो तामाङ समुदायलाई नै आत्मसमीक्षा गर्ने अवसर पनि दिएको छ। अहिले हामीले रोज्ने बाटोले आगामी पुस्ताका लागि सकारात्मक वा नकारात्मक दुवै प्रकारको उदाहरण निर्माण गर्न सक्छ। त्यसैले आग्रह छ-विवादलाई प्रतिष्ठाको विषय नबनाऔँ, संवादलाई कमजोरी नठानौँ र मेलमिलापलाई पराजयका रूपमा नलिऔँ। सबै पक्ष एउटै टेबलमा बसेर सम्मानपूर्वक संवाद गर्दै साझा समाधानमा पुग्न सक्नुभयो भने त्यो कुनै एक पक्षको विजय होइन, सम्पूर्ण तामाङ समुदाय, TSA र FIPNA को विजय हुनेछ। हाम्रो लक्ष्य व्यक्ति होइन, संस्था बलियो बनाउनु हो । विभाजन होइन, एकता कायम गर्नु हो । र आजको समस्या मात्र समाधान गर्नु होइन, भोलिका पुस्ताका लागि अझ बलियो, एकताबद्ध र सम्मानित तामाङ समुदायको आधार निर्माण गर्नु हो। 🙏
सुमन थाम्सुहाङ लिम्बू
महासचिव
Federation of Indigenous Peoples of Nepal in America (FIPNA)