16/07/2026
लालझाडी गाउँपालिकामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति सकारात्मक सोच विकास सम्बन्धी अभिमुखीकरण सम्पन्न
कञ्चनपुर — एकता नेपालको आयोजनामा लालझाडी गाउँपालिकामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति सकारात्मक सोच विकास गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। लालझाडी गाउँपालिकामा यस प्रकारको कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि रहेका छन् र उनीहरूको पहिचान, अधिकार तथा सम्मानको सुनिश्चितता आवश्यक रहेको विषयमा जानकारी प्राप्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष निर्मल राना तथा उपाध्यक्ष सपना चौधरी रानाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सवाललाई गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न विशेष जोड दिए। उहाँहरूले सबै नागरिकलाई समान व्यवहार र अवसर प्रदान गर्ने समावेशी स्थानीय शासनको विकासमा गाउँपालिका प्रतिबद्ध रहेको पनि बताउनुभयो।
एकता नेपालले यस्ता अभिमुखीकरण कार्यक्रमले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति रहेको गलत धारणा हटाई सम्मान, स्वीकार्यता र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।