पश्चिम नेपालको लुम्बिनी अञ्चल, रुपन्देही जिल्ला, दुधराक्ष गा वि स वडा नं ५ रामापुरमा ईन्गुरिया नदीको किनारमा पौराणिक रामघाट क्षेत्र अवस्थित छ। महेन्द्र राजमार्गसँग जोडिएको यो स्थान बुटवलदेखि १८ किमि पश्चिम, प्राचिन मलमलादेखि ५ किमि दक्षिण, शान्तिका दूत भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनीदेखि १५ किमि उत्तर, संस्कृत व्याकरणका प्रवर्तक महर्षि पाणिनिको तपस्यास्थल पाणिनि तपोभूमि पणेनादेखि २६ किमि दक्
षिण र बाणगङ्गादेखि १७ किमि पूर्वमा पर्दछ। यातायात सेवाले सुगम, आपसी एकता र सद्भाव भएको घना आवादीयुक्त यस पवित्र स्थानमा धार्मिक, आध्यात्मिक चिन्तनको माध्यमले स्वच्छ, शान्तिपूर्ण एवम् विकसित समाज निर्माण गर्ने उद्देश्यले नेपालका प्रथम धार्मिक शहीद वाचन शिरोमणि स्वर्गीय नारायणप्रसाद पोखरेल, जसले आध्यात्मिक धार्मिक माध्यमबाट सामाजिक सुधार एवम समग्र देश विकासमै उल्लेखनीय भूमिका निर्वाह गर्दागर्दै यस क्षेत्रमै आफ्नो भौतिक शरीर गुमाउनु भएको थियो, ले देखाएको सतमार्गलाई पछ्याउन उहाँकै सुपुत्र वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलज्यूको प्रमुख संरक्षकत्वमा "सत् चिन्तन सामुदायिक प्रतिष्ठान" स्थापित भएको हो।
यो प्रतिष्ठान गैर राजनीतिक, नाफा खाने उद्देश्य नभएको र केवल सामाजिक विकास, शान्ति, सुव्यवस्था, अमनचयन, मेलमिलाप कायम राख्ने खालको गैर सरकारी हो। यसमा समाजमा रहेका हरेक क्षेत्रका बालबालिका, युवा, प्रौढ, बृद्धबृद्धा, धनी, गरिब, दलित जातजाति, जनजाति, आदीवासी, महिला पुरुष लगायत सबैको समान सहभागिता हुनेछ। यो प्रतिष्ठानलाई नेपालकै लागि सर्वोत्कृष्ट नमूना सँस्थाको रुपमा स्थापित गराउने लक्ष लिईएको छ।