07/07/2025
प्रेस विज्ञप्ति
तीज पर्व नेपाली हिन्दु महिलाहरूको एक महान र विशेष पर्व हो। यस पर्वमा विशेषत बिबाहित महिलाले गृहस्थ जीवनलाई मजबुत र दीर्घकालीन रूपमा पति र पत्नी बीचको सम्बन्ध सुमधुर रहोस भनी वैदिक परम्पराअनुसार मनाउने प्रचलन रहेको पाइन्छ। यस पर्वमा मौलिक परम्परा झल्कने गीत, भजन आदि गाउने चलन रहेको पाइन्छ। महिलाहरूले व्रत बसी आराध्य देव भगवान शिवको पूजा आराधना गर्ने र पति पत्नीको आयु दीर्घ बनोस भन्ने कामना गर्नु एक मौलिक परम्परा हो। माइतीमा भेला भई चेलीहरूले बर्ष दिन सम्म भोगेका सुख दुख बाड्ने, सुख दुखका भाकामा रम्ने र रमाउने गर्दछन। यस्तो मौलिक र सद्भावको पर्वको अवसर पारेर आजकल सांगीतिक बजारमा कयौ नेपाली मौलिक गीतहरू हेर्न र सुन्न पाइन्छ। जस मध्य केही गीतहरूले चाडपर्वको बर्खिलाप गरेको पाइन्छ। उदाहरणका लागि पछिल्लो पटक प्रकाशनमा आएको " सल्ला दमारमा" (राँगाले भैँसी गोरुले गाईलाई) बोलको गीतले वास्तवमै तीज पर्वको अपमान गरेको अनुभूत हुन्छ। यस्ता गीतले न मौलिकता नै जोगाउन सकिन्छ न त परम्परालाई पुस्तान्तरण गर्न सकिन्छ। एउटा गीतकार वा रचनाकार समाज र राष्ट्रको दर्पण हो । आफै फोहोरी भएर समाजको अगाडी उभिरहॅदा दर्शकले के देख्न सक्दछन भन्नेसम्मको हेक्का नहुनुले सम्पूर्ण सर्जकहरूको पनि अपमान भएको अनुभूत हुन्छ। त्यस्ता अश्लील , यौनिक उत्तेजना बढाउने गीतले विकृति बाहेक अरू केही गर्न नसक्ने, हिंसा र अपराधलाई प्रोत्साहन मिल्ने देखिन्छ। तसर्थ अन्तराष्ट्रीय नेपाली गीतकार संघ पर्वका नाममा रचित त्यस्ता उच्छृङ्खल गीतहरूलाई सशक्त बहिष्कार गर्दछ।आगामी दिनहरूमा कुनै पनि चाडपर्वका नाममा प्रकाशन गर्ने गीतहरूले मौलिक संस्कृतिलाई बर्खिलाप गर्ने , अश्लील र यौनिक उत्तेजना भएको अनुभूत भएमा सोही गीतहरूलाई पनि संघले निरन्तर बहिष्कार गर्नेछ।तसर्थ गीतकार संघ, नेपाल, लोकदोहोरी प्रतिष्ठान नेपाल, संगीतकार संघ नेपाल, संस्कृति मन्त्रालय नेपाल सरकार लगायत सम्पूर्ण सम्बन्धित निकायलाई त्यस्ता उच्छृङ्खल गीत वा रचनालाई निरूत्साहित गर्न ध्यानाकर्षण गराउन चहान्छौ।
"अन्तराष्ट्रीय नेपाली गीतकार संघ"
हरि उप्रेती। रन खड्का। सुनिता बस्नेत
अध्यक्ष। महासचिव। सचिव