10/15/2026
यो जो–जसलाई सम्बन्धित छ।
चुनावी वाचा कि जनतालाई झुक्याउने राजनीतिक अस्त्र?
सार्वजनिक रुपमा यानेकी करोडौं सार्वभौम मतदाता र प्रवासी भूमिमा रहेका लाखौं - लाख सहयोगीहरू सामु प्रत्यक्ष रुपमा दुनियालाई साछी राखेर क़बूलना सहित औंठा छाप लगाईएको चुनावी वाचा पत्र केवल मत माग्ने दस्तावेज होइन, सार्वभौम जनतासामु गरिएको सार्वजनिक प्रतिबद्धता र राजनीतिक दलको नैतिक उत्तरदायित्व हो। जनताको मत लिएर सत्तामा पुग्ने, तर सत्तामा पुगेपछि आफ्नै प्रतिबद्धता बिर्सने प्रवृत्ति लोकतान्त्रिक मूल्य र जनविश्वासविपरीत हो।
विशेषतः वंशजको नेपाली नागरिकताको निरन्तरता र पुनर्स्थापनाजस्तो राष्ट्रिय पहिचान, पुर्ख्यौली सम्बन्ध र भावी पुस्ताको भविष्यसँग जोडिएको संवेदनशील विषयमा चुनावी प्रतिबद्धताबाट पछि हट्नु सामान्य राजनीतिक कमजोरी मात्र होइन, विदेशस्थित लाखौं नेपालीको विश्वास र भावनामाथिको गम्भीर प्रश्न हो।
यदि चुनावअघि नागरिकताको निरन्तरता र विदेशमा रहेका नेपालीका अधिकार सुनिश्चित गर्ने आश्वासन दिने, तर सत्तामा पुगेपछि स्पष्ट निर्णय र कार्यान्वयनबाट पन्छिने हो भने त्यस्ता वाचाको औचित्य के रहन्छ? घोषणापत्रमा लेखिएका प्रतिबद्धता चुनाव जित्ने साधन मात्र हुन् कि शासन सञ्चालन गर्दा पूरा गर्नुपर्ने जिम्मेवारी पनि हुन्?
सत्ताधारी दलले बुझ्नुपर्छ—जनता केवल मतदाता होइनन्, लोकतन्त्रका वास्तविक सार्वभौम शक्ति हुन्। जनतासामु गरिएका वाचा पूरा गर्नु कुनै दया, कृपा वा उपकार होइन, यो राजनीतिक र नैतिक दायित्व हो।
विडम्बना त के छ भने, चुनाव जित्न जनताको विश्वास चाहिने, तर जितिसकेपछि त्यही जनतासँग गरिएका वाचा सम्झाउनुपर्ने! यदि चुनावी प्रतिबद्धता कार्यान्वयन गर्ने नियत र साहस नै छैन भने घोषणापत्रमा ठूला अक्षरले वाचा लेख्नुको अर्थ के? जनताको मत माग्दा प्रतिबद्धता र सत्तामा पुगेपछि बहाना—यही हो त लोकतान्त्रिक राजनीति?
यस विषयमा सत्ताधारी दललाई मात्र होइन, प्रमुख प्रतिपक्षी दल र अन्य सबै प्रतिपक्षी दलहरूलाई पनि स्पष्ट सन्देश छ—वंशजको नेपाली नागरिकताको निरन्तरता र पुनर्स्थापना कुनै एउटा दलको राजनीतिक एजेन्डा मात्र होइन, राष्ट्रिय पहिचान, नागरिक अधिकार र लाखौं -लाख नेपालीको भविष्यसँग जोडिएको साझा राष्ट्रिय सरोकार हो। त्यसैले प्रतिपक्षी दलहरूले पनि यस विषयमा मौनता, अस्पष्टता वा राजनीतिक लाभ–हानिको हिसाबकिताबमा अल्झिएर बस्नु हुँदैन। उनीहरूले संसद्, सार्वजनिक बहस र सम्बन्धित राजनीतिक मञ्चहरूमा सकारात्मक, स्पष्ट र सशक्त आवाज बुलन्द गर्दै सरकारलाई आफ्ना प्रतिबद्धता पूरा गर्न उत्तरदायी बनाउनुपर्छ। आवश्यक नीतिगत तथा संवैधानिक सुधारका पक्षमा एकजुट भएर उभिनु आजको आवश्यकता हो।
जनताको अधिकारको प्रश्नमा सत्ता र प्रतिपक्षको कित्ताभन्दा माथि उठेर राष्ट्रिय हितका पक्षमा उभिन सक्नु नै जिम्मेवार राजनीतिको वास्तविक परीक्षा हो। सत्ताधारी दलले आफ्नो प्रतिबद्धता पूरा गरोस् र प्रतिपक्षी दलहरूले त्यसका लागि प्रभावकारी दबाब सिर्जना गरून्। चुनावी वाचालाई राजनीतिक स्वार्थअनुसार प्रयोग गर्ने, तर कार्यान्वयनको बेला पन्छिने प्रवृत्तिलाई अब छुट दिनु हुँदैन।
वंशजको नेपाली नागरिकताको निरन्तरता कुनै राजनीतिक दलको कृपाको विषय होइन, यो पुर्ख्यौली पहिचान, राष्ट्रिय आत्मसम्मान र नागरिकको अधिकारसँग जोडिएको विषय हो। त्यसैले अब आश्वासन, अस्पष्टता र आलटाल होइन, स्पष्ट नीतिगत निर्णय, आवश्यक कानुनी तथा संवैधानिक प्रक्रिया र समयबद्ध कार्यान्वयन आवश्यक छ।
चुनावी वाचा पूरा गर्नु जनताप्रतिको इमानदारी हो, पूरा नगर्नु जनताको विश्वासमाथिको धोका हो। सत्ताधारी दलले अब भाषण होइन, आफ्नो प्रतिबद्धता व्यवहारबाट प्रमाणित गरोस्। प्रमुख प्रतिपक्षी दल र अन्य प्रतिपक्षी दलहरूले पनि यस राष्ट्रिय सरोकारमा सकारात्मक तथा सशक्त भूमिका निर्वाह गरून्। वंशजको नेपाली नागरिकताको निरन्तरतासम्बन्धी प्रतिबद्धता आश्वासनमै सीमित नरहोस्—यसलाई ठोस निर्णय र कार्यान्वयनमा परिणत गरियोस्।
सम्पूर्ण आप्रवासी नेपालीहरूको तर्फबाट,
खगेन्द्र अधिकारी
अध्यक्ष
एसोसिएशन अफ नेपालीज इन द अमेरिकाज (एएनए)
वासिङ्टन, डी.सी.
उत्तर अमेरिका