04/10/2026
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : असोज २२ गते मतदान, असोज २० मा उम्मेदवारी दर्ता
काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २२ गते मतदान हुने भएको छ।
कार्यतालिकाअनुसार असोज १९ गते साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। सोही दिन साँझ ५ बजेदेखि ६:३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध दर्ता गर्न सकिनेछ भने ६:३० देखि ७:३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ। मतदाताको अन्तिम नामावली सोही दिन राति ८:३० बजे प्रकाशन गरिनेछ।
असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ। सोही दिन दिउँसो ४:३० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन हुनेछ। उम्मेदवारीमाथि दाबी–विरोधका लागि ४:३० देखि ५:३० बजेसम्म र त्यसउपर जाँचबुझका लागि ५:३० देखि ६:३० बजेसम्मको समय निर्धारण गरिएको छ। उम्मेदवारको दोस्रो नामावली साँझ ७ बजे प्रकाशन गरिनेछ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन वा उम्मेदवारी सच्याउन निवेदन दिन सक्नेछन्। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन उम्मेदवारलाई निर्वाचन प्रचार–प्रसारका लागि समय उपलब्ध गराइनेछ।
असोज २२ गते बिहान ७:३० बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदान राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा रहेको मतदान केन्द्र ‘क’, खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ तथा प्रज्ञा भवन, कमलादीस्थित मतदान केन्द्र ‘ग’ बाट हुने व्यवस्था गरिएको छ।
मतदान केन्द्र ‘क’ मा बागमती प्रदेश तथा सम्बन्धित प्रतिनिधिहरूका लागि व्यवस्था गरिएको छ। मतदान केन्द्र ‘ख’ मा कोशी, मधेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेशलगायत भ्रातृ एवं शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिसम्बन्धी प्रतिनिधिहरूका लागि व्यवस्था गरिएको छ। त्यसैगरी मतदान केन्द्र ‘ग’ मा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।
उम्मेदवारी शुल्क पनि तोकियो
निर्वाचन समितिले विभिन्न पदका लागि उम्मेदवारी शुल्कसमेत निर्धारण गरेको छ। जसअनुसार सभापति पदका लागि ४० हजार रुपैयाँ, केन्द्रीय उपसभापति तथा महामन्त्रीका लागि ३० हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।
मनोनयनपत्र दर्ता गर्दा तोकिएको शुल्क जम्मा गरेको भौचर, सक्रिय सदस्यको सिफारिस, फोटोसहितको परिचयपत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाणपत्रलगायत आवश्यक कागजात संलग्न गर्नुपर्नेछ।
सभापति पदका उम्मेदवारका लागि १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्नेछ। उपसभापति तथा महामन्त्रीका लागि ७/७ जना, विभिन्न समूहका सहमहामन्त्रीका लागि ५/५ जना तथा केन्द्रीय सदस्य पदका लागि ३/३ जना प्रस्तावक र समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।
विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट उम्मेदवारी दर्ता गर्ने प्रतिनिधिले नेपाली नागरिकताको प्रतिलिपिसमेत अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। वारेसमार्फत मनोनयनपत्र दर्ता गर्दा वारेसनामा र वारेसको नेपाली नागरिकताको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।
निर्वाचन समितिले उम्मेदवार तथा समर्थकहरूलाई निर्वाचन आचारसंहिता पालना गर्नसमेत आग्रह गरेको छ। उम्मेदवारको फोटो, नाम वा चुनाव चिह्न अंकित टोपी, क्याप, भेस्ट, टी–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेटलगायतका प्रचार सामग्री प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। मतदानस्थल आसपास फ्लेक्स तथा प्रिन्ट सामग्री राख्नसमेत निषेध गरिएको छ।
निर्वाचन समितिका अनुसार प्रकाशित कार्यतालिकामा आवश्यकताअनुसार संशोधन भए त्यसको जानकारी गराइनेछ।
मतदाता नामावली नेपाली कांग्रेसको आधिकारिक वेबसाइट तथा पार्टीको आधिकारिक फेसबुक पेजमा समेत उपलब्ध गराइने जनाइएको छ।