27/12/2025
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशद्वारा ९औं विकास योजना विकासका लागि सुझाव संकलन
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशले नेपाल रेडक्रस सोसाइटीको ८ औं विकास योजना (२०२२–२०२५) को अवधी समाप्तीको परिवेशमो ९ औं विकास योजना (२०२६–२०३०) विकासकालागि सुझाव संकलन कार्यशालाको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका अध्यक्ष श्री लिलाराम सुबेदीको अध्यक्षतामा २०८२ पौष ११ गते संचालित उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, सुर्खेत जिल्ला शाखाका प्रतिनिधिहरू, प्रदेश तथा जिल्ला स्तरमा कार्यरत कर्मचारीहरू, विभिन्न उपशाखा प्रतिनिधिहरू तथा रेडक्रस सर्कलमा प्रतिनिधित्व गर्ने युवाहरू गरि जम्मा २६ जनाको सक्रिय सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका कार्यक्रम व्यवस्थापक श्री राजकुमार क्षेत्रीले सहजीकरण गर्नुभएको उक्त कार्यशालामा नेपाल रेडक्रस सोसाइटी ९ औं विकास योजना (२०२६–२०३०) विकास गर्नुपर्ने औचित्य, आठौं विकास योजनाको समिक्षाबाट प्राप्त आगामी कार्यदिशा, एकीकृत योजना (Unified Plan) का रणनीतिक प्राथमिकताहरु, आइएफआरसी रणनीति २०३० का लक्ष्य तथा रुपान्तरण प्रक्रियाहरु, हनोई कार्य आह्वान (२०२३) का ९ प्रतिबद्धताहरू, दिगो विकास लक्ष्यहरू, नेपाल सरकारको सोह्रौं पंच वर्षिय योजना (२०८१/८२ – २०८५/८६) का प्राथमिकताका क्षेत्रहरु, नेपाल रेडक्रस सोसाइटीको दुरदृष्टि, दूरगामी लक्ष्यहरु, संस्थागत मूल्यहरु र नेरेसो आठौं विकास योजनाका रणनैतिक दिशाहरु र सो का उद्देश्यहरु तथा मूख्य कार्यक्षेत्रहरुबारे प्रस्तुती र छलफल गरिएको थियो । उक्त छलफलसँगै नौं विकास योजनालाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी बनाउनका लागि संभावित रणनैतिक दिशाहरु र सो का उद्देश्यहरु तथा मूख्य कार्यक्षेत्रहरुबारे समूह छलफल गरि विविध सुझावहरू संकलन गरिएको थियो । कार्यशालाका सहभागीहरूले नेरेसो आठौं विकास योजनाका आधारमा आगामी योजनाको रणनैतिक दिशाको रुपमा श्रोत व्यवस्थापन, बसाइसराई र विस्थापन व्यवस्थापन, संगठन विकास भन्ने भन्दा पनि संगठन सुदृढिकरण जस्ता कुरा थप गर्नुपर्ने, रणनैतिक दिशाका उद्देश्यहरु तथा कार्यक्षेत्रमा एम्बुलेन्स सेवालाई पनि देखिने गरि जोड्नु पर्ने, सामुदायिक आँखा तथा कान सेवाको प्रवद्र्धन र सुदृढिकरण, निर्णायक तहमा युवाको पहुच हुनेगरि सहभागिता बृद्धि, सामुदायिक युवा रेडक्रस सर्कल वृद्धि, पूर्व सूचना प्रणाली सुदृढिकरण, स्वयंसेवकको क्षमता वृद्धि र परिचालन आदी विषयवस्तुहरु समेटिनु पर्ने जस्ता महत्वपूर्ण सुझावहरू आएका थिए ।
कार्यक्रमबाट संकलित सुझावहरूले नेपाल रेडक्रस सोसाइटीको भावी रणनीति तथा नौं विकास योजना निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।