29/03/2026
कास्की जिल्लाका विभिन्न बालगृहका कर्मचारीहरूबीच आपसी समन्वय, सहकार्य तथा अनुभव आदानप्रदानलाई सुदृढ गर्ने उद्देश्यले बालगृह सञ्जाल कास्कीद्वारा एक प्रभावकारी फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रमको अध्यक्षता सञ्जालकी अध्यक्ष शोभा पहारीले गर्नुभएको थियो भन्ने विभिन्न बालगृहबाट ३० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्न, टिमवर्क, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले विभिन्न मनोरञ्जनात्मक खेलहरू सञ्चालन गरिएका थिए।
सहभागीहरूलाई आपसमा नजिक ल्याउन तथा टिमवर्क र नेतृत्व क्षमता विकास गर्न विभिन्न रोचक गतिविधिहरू सञ्चालन गरिएका थिए। टिम–बिल्डिङ अन्तर्गत धागोको सहायताले बल समात्ने खेल खेलाइएको थियो भने नेतृत्व विकासका लागि कप रेस तथा वाटर बोटल फ्लिप जस्ता खेलहरू आयोजना गरिएका थिए। यी गतिविधिहरूले सहभागीहरूबीच सहकार्य, विश्वास र नेतृत्व क्षमताको विकासमा सहयोग पुर्याएको थियो।
कार्यक्रममा बाल कल्याण अधिकारी बेल कुमारी गुरुङले यस्ता फेलोसिप कार्यक्रमहरू अत्यन्त उपयोगी हुने बताउँदै सहभागीहरूबीच अनुभव आदानप्रदान गर्दा बालगृहमा देखिने समस्या पहिचान गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो। उहाँले खुलेर छलफल र साझा अनुभवले समस्या समाधानमा सहयोग पुग्ने र बालबालिकाको समग्र संरक्षण तथा विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो।
समग्रमा, कार्यक्रम अत्यन्त उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो र सहभागीहरूले यस्ता कार्यक्रमहरूले आपसी सम्बन्ध मजबुत बनाउनुका साथै कार्यक्षेत्रमा अझ प्रभावकारी ढंगले काम गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए।