24/05/2026
दुःखद खबर भनौँ कि नयाँ सुरुवातको संकेत !
गण्डकी बहिरा सङ्घ विगत ३७ वर्षदेखि कास्की जिल्लामा रहेका सुनाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार, शिक्षा, दोभाषे सेवा, रोजगारी र सामाजिक समावेशीताका लागि निरन्तर संघर्ष गर्दै आएको संस्था हो।
गण्डकी बहिरा सङ्घमा रहेको जग्गा तत्कालीन पोखरा उपमहानगरपालिका भोगचलनका लागि उपलब्ध गराएको थियो। सोही स्थानमा विभिन्न स्वदेशी तथा विदेशी सहयोगी मनहरू र बहिरा समुदायको अथक मेहनतबाट निर्माण भएको भवन आज भत्किँदैछ। यो भवन केवल इँटा र सिमेन्टको संरचना मात्र थिएन, यसमा बहिरा समुदायको सपना, संघर्ष, रगत र पसिना जोडिएको छ । यही भवनबाट धेरै व्यक्तिहरू शिक्षा, रोजगारी र अवसरसँग जोडिँदै आफ्नो जीवन उज्यालो बनाउन सफल भएका छन्।
गण्डकी बहिरा सङ्घको भवन खोलाको मापदण्डभित्र परेकाले सरकारी निर्णयअनुसार भवन हटाइँदैछ। यस विषयमा हामी स्पष्ट गर्न चाहन्छौँ कि भवन भत्किनुमा हाम्रो कुनै आपत्ति छैन। कानुनी प्रक्रिया र सार्वजनिक हितलाई सम्मान गर्दै हामी यस निर्णयलाई सकारात्मक रूपमा स्वीकार गरेका छौँ।
तर एउटा कुरा स्पष्ट छ । भवन भत्किँदैमा गण्डकी बहिरा सङ्घको अस्तित्व भत्किएको छैन। हाम्रो आत्मबल, उद्देश्य र आन्दोलन अझै जीवित छ। हामी हार मानेका छैनौँ। एउटा बीउ फेरि रुख बनेझैँ, हाम्रो संघर्ष अझ मजबुत भएर अगाडि बढिरहनेछ।
यस कठिन घडीमा सम्पूर्ण शुभेच्छुक, साथीभाइ, सहयोगी संस्था तथा समुदायसँग साथ, सहयोग र ऐक्यबद्धताको अपेक्षा गर्दछौँ। तपाईंहरूको साथले बहिरा समुदायको भविष्य अझ बलियो बन्नेछ भन्ने विश्वास लिएका छौँ। 🙏🙏