28/10/2025
कालीगण्डकी किनारमा हरिबोधनी एकादशीको तोरण मेला : धार्मिक आस्थाको मेला र ग्रामिण सहारा समाजको अथक प्रयासमा निरन्तरता
पवित्र तीर्थस्थल केलादि घाट धाम स्याङ्जा–पाल्पा–तनहुँ सङ्गमस्थल (कालीगण्डकी तट) —
जाडो मौसमको प्रारम्भ सँगै पवित्र हरिबोधनी एकादशी पर्वको अवसरमा यस वर्ष पनि कालीगण्डकी किनारमा तोरण तार्ने ऐतिहासिक मेला श्रद्धा, सहकार्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न हुने भएको छ।
स्थानीय बासिन्दा, धार्मिक संघसंस्था र युवाहरूको सक्रिय सहभागितासँगै,
ग्रामिण सहारा समाज र राधा आमा समुह को अग्रसरतामा आयोजित यस मेलाले
दीर्घकालीन परम्परालाई निरन्तरता दिँदै समुदाय बीचको एकता र सांस्कृतिक चेतनालाई पुनः जागृत गराउने विश्वास लिईएको छ।
✓स्थगित परम्पराको पुनर्जागरण
बिभिन्न सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिका कारण स्थगित रहेको यो ऐतिहासिक मेला बिगत कहि बर्ष देखि ग्रामिण सहारा समाजको अथक प्रयासमा पुनः सुरु गरिएको हो।
त्यसबेलादेखि हरेक वर्ष निरन्तर रूपमा यस मेलालाई निरन्तरता दिइँदै आएको छ,
र अहिले यो क्षेत्रको सांस्कृतिक सम्पदा र सामाजिक एकताको प्रतीकका रूपमा स्थापित भएको छ।
✓“यो मेला केवल धार्मिक आस्था होइन,
हाम्रो पहिचान, सहकार्य र सामुदायिक पुनर्जागरणको अभिव्यक्ति हो।
ग्रामिण सहारा समाजले विगत दुई दशकदेखि यसको निरन्तरता र संरक्षणमा निरन्तर योगदान दिइरहेको छ।”
यस स्थानमा हरेक बर्ष ५ देखि १५ बटा सम्म पनि तोरण हरु तारी उत्सव मनाईदै आएको पनि छ।
साझ को बेला गंगा आरती ले थप उर्जा दिने छ।
✓ सालको लिङ्गा र तोरण बाँध्ने परम्परा
मेलाको मुख्य आकर्षण सालको लिङ्गा गाडेर तोरण तान्ने प्राचीन परम्परा हो।
सालको रुख दीर्घायु र पवित्रताको प्रतीक भएकाले, यसलाई गाडेर नदी वारिपार डोरी बाँध्ने चलन श्रद्धा र सहकार्यको प्रतीकका रूपमा हेिन्छ।
स्थानीयहरूका अनुसार, तोरण तान्दा गाउँका युवादेखि वृद्धसम्मको सहकार्यले
“साझा श्रम र साझा विश्वास”को सन्देश दिन्छ।
यस क्षेत्रका बिभिन्न संघ संस्था वा व्यक्तिगत रूपमा पनि तोरण ल्याई मेलालाई व्यवस्थित बनाईदै आईरहेको छ।
✓उपवास र अर्गानिक जीवनशैली
पर्वका दिन भक्तजनहरूले उपवास बसेर सुन्तला, चक्रे, तरुल, सखरखण्ड, गेडागुडी र फलफूल सेवन गर्छन्।
यी सबै अर्गानिक खानेकुराले शरीरलाई शुद्ध पार्ने, रक्तसञ्चार सन्तुलित राख्ने र मानसिक शान्ति प्रदान गर्ने विश्वास छ।
स्वास्थ्यकर्मीहरूका अनुसार, यस्तो सात्त्विक आहारले शरीरलाई “डिटक्स” गर्दै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
✓सांस्कृतिक र सामाजिक समृद्धिको उत्सव
तोरण मेला धार्मिक मात्र होइन, सामाजिक–आर्थिक दृष्टिले पनि महत्वपूर्ण बनिरहेको छ।
स्थानीय कलाकारहरूको प्रस्तुति, व्यापारिक स्टलहरू, सामूहिक पूजा र भजन–कीर्तनले समुदायको साझा उत्सव को रुपमा स्थापित छ।
यसरी मेला स्थानीय पर्यटन, सांस्कृतिक सम्पदा र सहकार्यको सशक्त माध्यम बनेको छ।
कालीगण्डकीको पवित्र प्रवाह, सेता ढुंगा र सालका लट्ठाहरूमा तानिने तोरण —
यी सबैले श्रद्धा, सहकार्य र प्राकृतिक सुन्दरताको एक अद्भुत चित्र प्रस्तुत गर्नेछ।
भक्तजनहरू नदीको वारिपार यात्रा गर्दै आस्था र एकताको अनुभव बोकेर फर्किन्छन्। सम्पुर्ण महानुभावहरुले तोरण बाट्न सहकार्य र सहयोग गर्नु भई पुण्य प्राप्त गर्नु हुनेछ।
सन्जु बाबु पोख्रेल
धन्यवाद