22/10/2022
मत युवा पुस्तालाई किन ?!!
जुन बाबुले आफ्ना सन्तानलाई वेबकुफ सम्झन्छ र जिन्दगीमा केही पनि गर्न सक्दैन भन्छ उसैका सन्तानहरुले झन राम्रो प्रगति गर्छन् । अर्थात "आमाभन्दा छोरी उत्तम" भनेजस्तो हरेक नयाँ पुस्ता अघिल्लो पुस्ताभन्दा जेहेन्दार र अब्बल भएर निकन्छ । उद्यमी र पौरखी भएर निस्कन्छ । बाबुले बनाईदिएको घरमा जीवन बिताउने मान्छेहरु सारै थोरै हुन्छन् ।
नेपाली राजनीतिको समस्या पनि त्यस्तै हो । बूढो पुस्तामा रहेको पदलोलुपताको कारणले नयाँ पुस्ताले अवसरै नपाइकन बूढो हुने भयो । देशको उन्नति प्रगति होस् भन्ने चाहना राख्ने हो भने विनाविलम्ब युवा पुस्ताको हातमा राजनीतिको मात्रै होइन सत्ताको बागडोर थमाउनुपर्छ । कमसेकम एकपटक सानो ठूलो पदमा पुगेर परीक्षित भैसकेकालाई ससम्मान विदा दिनुपर्छ ।
बुढाहरु अनुभवी हुन्छन् भन्ने सोचाइ नै गलत हो । रातदिन कम्पुटरमा झुण्डने बाजे भन्दा भर्खर स्कुल पढ्दै गरेको नातीले कम्प्युटरको भाषा राम्रोसँग बुझ्छ ।
राजनीति पनि त्यस्तै हो । ढोटेडाटेलाई ठूलो जिम्मेवारी दिनु हुदैन भन्ने सोच पुरानो हो । पुरानो पुस्ताले पुरानै कुरो जान्दछ, बूढो पुस्ताले समाजलाई पुरानै बाटोमा डोर्याउने हो । नयाँ समयको नयाँ कुरा बूढो दिमागमा छिर्दै छिर्दैन । परिवर्तित समयमा समयको माग बुझ्ने र समाजलाई नयाँ बाटोमा डोर्याउन सक्ने युवा मस्तिष्कले नै हो ।
त्यसैले आसन्न निर्बाचनमा अपेक्षाकृत तन्नेरी उमेदवारहरुलाई मत दिउँ । बूढो पुस्तालाई मत दिनु भनेको बूढो भैसीको स्याहर गर्नुजस्तो हो ।
नयाँ जमानाको जिम्मेवारी नयाँ पुस्ताला सुम्पिउँ है । अब गल्ती गर्दै नगरौं । पार्टी पनि नहेरौं । युवा रोजौं ।