-यशोदादेवी भगवानसिंह केसी स्मृति बृद्धाश्रमको बारेमा
पछिल्लो पटक विकसित मुलुकको प्रभाव र आकर्षण नेपाली समाजमा पनि पर्दै जान थालेपछि बुढेसकाल मा अरुको सहयोग आवश्यक पर्ने बेलामा नेपालका बृद्ध बृद्धाहरुको ठूलो संख्या क्रमशः बेसहारा, अपहेलित र तिरस्कृत हुँदै जाने अवस्था देखिएको छ । राज्यले जेष्ठ नागरिकलाई प्रत्याभूत गर्नुपर्ने सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी ढङ्गबाट लागू गर्न सकिरहेको छैन ।
२
०६८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालमा ६० बर्ष उमेर नाघेका बृद्धबृद्धाहरुको जनसंया २१ लाख ५४ हजार ४ सय १० रहेको छ । यो कूल जन संख्याको ८ दशमलव १३ प्रतिशत हो । बृद्धबृद्धालाई सामाजिक सुरक्षा अन्तर्गत उपलब्ध हुनुपर्ने बुढेसकालमा आवश्यक हेरचाह, बसोबासको उचित प्रवन्ध, मनोरञ्जनात्मक वातावरणको सहजता, उनीहरुभित्र रहेका सिर्जनात्मक शक्तिको उपयोग, मानसिक सन्तुष्टिको तर्फ भने सुधार हुन सकिरहेको अवस्था छैन ।
बृद्धबृद्धाहरुको सम्मानजनक जीवनयापनका लागि अनुकूल सेवा र सुविधा विस्तार गर्नुपर्ने देखिन्छ । जेष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभवलाई अधिकतम सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको छ । जेष्ठ नागरिकहरुको हक र अधिकार सुनिश्चित गर्ने र उनीहरुबलाई आवश्यक सुविधा पु¥याउनु पर्ने देखिन्छ । जेष्ठ नागरिकमैत्री वातावरण बन्नु अहिलेको टड्कारो आवश्यकता पनि हो । नेपाली समाजमा रहेका आर्थिक रुपमा कमजोर परिवारका बृद्धबृद्धाहरुको अवस्था निकै असहज देखिने गरेको छ ।
आम्दानीको भरपर्दो स्रात नभएका कारण बृद्धबृद्धाहरुको स्याहारमा ध्यान दिन नसकी अधिकांश बृद्धबृद्धाहरुले कारुणिक जीवनयापन गरिरहेका छन् । नेपाली समाज र विशेष गरी नुवाकोट जिल्ला र यसका वरपर रही असहज तरिकाले बाँचिरहेका बृद्धबृद्धाहरुलाई आधारभूत आवश्यकता उपलब्ध गराउन का लागि संस्था दर्ता ऐन २०३४ को अधीनमा रहेर यशोदादेवी भगवानसिंह केसी स्मृति बृद्धाश्रम स्थापना भएको छ । नेपालको गरिबीलाई कम गर्दै नेपालीहरुलाई समसामयिक रुपमा मर्यादित र स्तरीय जीवनयापनका लागि समाजलाई अगाडि बढाउन यस संस्थाको भूमिका उल्लेखनीय रहनेछ ।
यस यशोदादेवी भगवानसिंह केसी स्मृति बृद्धाश्रमको कार्यक्षेत्र नुवाकोट जिल्लाका कुनै एउटा ठाउँमा हुनेछ जसले नुवाकोट जिल्लाको तीन वटै निर्वाचन क्षेत्रलाई समेटेर सबै क्षेत्रको केन्द्रमा पर्ने ठाउँमा स्थापना गर्ने योजना रहेको छ । यसको लक्ष्य भनेको बृद्धाश्रम खोलेर बृद्धबृद्धाहरुको सेवा गर्ने हो । शुरुमा बृद्धाश्रममा दश देखि बीस जना बृद्धबृद्धाहरुलाई राखेर पालनपोषण गर्ने योजना रहेको छ । त्यसभन्दा माथि क्षमता अनुसार बढाउँदै लैजाने पनि बृद्धाश्रमको योजना रहेको छ । यो बृद्धाश्रम हाल जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता भईसकेको छ भने यसलाई समाजकल्याण परिषदमा पनि दर्ताको लागि प्रक्रिया शुरु भईसकेको छ । यस बृद्धाश्रमलाई दर्ता भएको मितिले एक बर्षभित्रमा सञ्चालन ल्याउने तयारी भईरहेको छ ।
यसको आवश्यकता अनुसार सम्बन्धित जिल्लाको स्थानीय अधिकारीको स्वीकृति लिई नेपाल राज्यभित्र कार्यक्षेत्र विस्तार गर्न सकिनेछ । यो एउटा स्वशासित, गैर नाफामूलक, गैर राजनीतिक तथा गैर सरकारी सामाजिक संस्था हो । यस संस्थाबाट आफ्नो उद्देश्य बाहेक आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिएर सेवा प्रदान गर्ने कार्य गरिने छैन ।
यो एक जनहितकारी र गैर नाफामूलक सामाजिक संस्था हो । यसले समाजमा रहेका बृद्धबृद्धाहरुको सेवा, सम्मान र उनीहरुको अधिकारका लागि आवाज उठाउने काम गर्नेछ । समाजमा बृद्धबृद्धाहरुलाई नियत बस गरिने अमानवीय क्रियाकलाप हरुको अन्त्य गर्न जनचेतनामूलक कार्यहरु सञ्चालन गर्ने, बृद्धबृद्धा, बालबालिका लगायतका समसामयिक सामाजिक सवालहरुमा खोज, अनुसन्धान, अध्ययन तथा विकास का कार्यहरु सञ्चालनमा सहयोग पु¥याउने, जेष्ठ नागरिकलाई राज्यबाट प्रदान गरिनु पर्ने सेवा, सुविधा सम्बन्धमा सरकार लगायत अन्य सरोकारवालाहरुसँग सहकार्य गर्ने र उत्पीडित, महिला, बालबालिका, दलित जाति, जनजाति, अल्पसंख्यक तथा पिछडिएका वर्गका जेष्ठ नागरिकको हक अधिकार को लागि कार्य गर्ने यस संस्थाको उद्देश्य रहेको छ । यस्तै समाजमा रहेका विपन्न, गरिब तथा पिछडिएका वर्गका बृद्धबृद्धाहरुलाई आवश्यक आधारभूत सवास्थ्य सेवा पु¥याउन सरोकारवालाहरुसँ समन्वय गर्ने, संस्थाले सञ्चालनगर्ने सबै कार्यहरु निःशुल्क रुपमा सञ्चालन गर्ने उद्देश्य पनि यस संस्थाको रहेको छ ।
यस बृद्धाश्रमले साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य र मानार्थ सदस्य गरि चार प्रकारमा सदस्यहरुको वर्गीकरण गरी आफ्नो सेवालाई सञ्चालन गर्नेछ ।
यस बृद्धाश्रमको संरक्षकमा डा. केदारनरसिंह केसी हुनुहुन्छ भने अध्यक्षमा धनञ्जयनरसिंह केसी, उपाध्यक्षमा उपेन्द्र कुईंकेल, सचिवमा निरञ्जन नरसिंह खत्री, कोषाध्यक्षमा स्वर्णिमा केसी रहनु भएको छ । यस्तैयस्तै सदस्यहरुमा प्रतापसिंह लामा, हरि सिटौला, उद्धव उप्रेती, शैलेश चौधरी, सोनिया केसी,
कमला भेटवाल र मिलन खनाल रहनु भएको छ । साथै उक्त समितिको पहिलो बैठकले समाजका विशिष्ट व्यक्तित्वहरुमध्येबाट श्रीमति प्रतिमा केसी, सभासद जगदीश्वरनरसिंह केसी, समाजसेवी गोविन्द थपलिया र कीर्तिराज सिटौलालाई सल्लाहकारमा मनोनित गरेको छ । अन्य सल्लाहकारहरु लाई भने अर्को बैठकबाट मनोनित गर्ने निर्णय बैठकले गरेको छ ।
साथै बृद्धबृद्धाहरुको सेवा गर्ने पवित्र उद्देश्य राखेर स्थापित बृद्धाश्रमलाई आफूले सक्दो सहयोग गर्न समेत नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा बृद्धाश्रमले आग्रह गरेको छ । बृद्धाश्रमको सम्पूर्ण जानकारी छिटो भन्दा छिटो वेबसाइटबाट हेर्न सकिनेछ ।