25/06/2026
बालबालिकालाई अनलाइनमा सुरक्षित राख्न चाइल्डसेफनेटले नगरपालिकाहरूसँग सहकार्य गरिरहेको छ।
यसै अन्तर्गत, हामीले २०८३ असार ४ र ५ गते बुढानीलकण्ठ नगरपालिकासँग सहकार्य गर्दै बुढानीलकण्ठमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि दुईवटा डिजिटल सुरक्षा तालिम सञ्चालन गर्यौँ।
तालिममा बु.न.पा.का ७ वटा सामुदायिक विद्यालयका ११५ जना विद्यार्थीहरू तालिममा सहभागी भएका थिए ।
ती अन्तर्क्रियात्मक र सहभागितामूलक तालिम सत्रहरू निम्न विषयहरूमा केन्द्रित थिए:
• इन्टरनेट र AI का अवसरहरूलाई गोपनीयता र सुरक्षाकासाथै सन्तुलनमा राख्ने
• इन्टरनेट तथा गेमिङ लत, अनलाइन ठगी, साइबरबुलिङ, सेक्स्टिङ र यौनजन्य ब्ल्याकमेलजस्ता अनलाइन जोखिमहरू पहिचान गर्ने
• डिजिटल जोखिम सामना गर्दा रिपोर्टिङ संयन्त्र प्रयोग गर्न र सहयोग खोज्न बालबालिकाको आत्मविश्वास अभिवृद्धि गर्ने
• स्वस्थ डिजिटल बानी विकास गर्ने र अनलाइनमा अरूप्रति संवेदनशील हुने
हाजिरीजवाफ, वादविवाद, छलफल र भिडियो प्रदर्शनमार्फत विद्यार्थीहरूले तालिम सत्रहरूमा सक्रिय सहभागिता जनाए।
उनीहरूले इन्टरनेट प्रयोगका आफ्ना अनुभवहरू पनि सुनाए । साथै, उनीहरुले आफ्ना चासोहरू व्यक्त गरे र डिजिटल स्थानहरूलाई अझ सुरक्षित र उत्पादक बनाउन के कस्ता भूमिका खेल्न सकिन्छ भन्नेबारे विचार गरे।
प्रत्येक बालबालिकालाई सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्ने र अनलाइनमा समेत सुरक्षित हुने अधिकार छ। सरकार, प्रविधि कम्पनीहरू, स्कूलहरु, अभिभावक र नागरिक समाज संस्थाहरूको बालबालिकालाई अफलाइनका साथै अनलाइनमा पनि सुरक्षित राख्ने जिम्मेवारी छ।
यसका लागि स्थानीय सरकारका पहलहरूले अनलाइनमा बालबालिकाका वरिपरि अझ बलियो सुरक्षा घेरा निर्माण गर्न सघाउँदछ र परिवर्तन स्थानीय तहबाटै सुरु हुन्छ।
तालिमलाई प्रभावकारी बनाउन सहयोग गर्ने बुढानीलकण्ठ नगरपालिका, सहभागी स्कूलहरु, विद्यार्थीहरू र चाइल्डसेफनेट टोलीप्रति हाम्रो हार्दिक धन्यवाद।
स्कूल, संस्था, समुदाय र टोलछिमेकमा डिजिटल सुरक्षा तालिम तथा सचेतना सत्र सञ्चालनका लागि हामीलाई सम्पर्क गर्नुहोस्:
[email protected]