29/05/2026
भौतिक तथा डिजिटल पहुँचयुक्तता बिना समावेशी समाजको परिकल्पना सम्भव छैन।
बाग्मती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको साझेदारी, महालक्ष्मी नगरपालिकाको समन्वय तथा अपाङ्गता सशक्तीकरण समाज नेपालको आयोजनामा महालक्ष्मी नगरपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरूका लागि भौतिक तथा डिजिटल पहुँचयुक्तता सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्री टेकनाथ न्यौपानेज्यूको अध्यक्षता तथा महालक्ष्मी नगरपालिकाकी आदरणीय उपप्रमुख श्री लक्ष्मी महर्जन Laxmi Maharjan Deputy Mayor ज्यूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको संयोजन तथा सञ्चालन संस्थाका महासचिव ई. कृष्ण महर्जन Krishna Maharjan ले गर्नुभएको थियो भने CIL Kathmandu का महासचिव श्री गणेश के.सी. Ganesh Kc र श्री किर्तन दुवाल श्रेष्ठले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।कार्यक्रमना ५० भन्दा बढी विभिन्न अपाङ्गता भएका ब्यक्तिहरु र उनीहरुका अभिभावकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक संरचना, सेवा, सूचना तथा डिजिटल माध्यमहरूमा पहुँच सुनिश्चित गर्न आवश्यक ज्ञान, सीप र सचेतना अभिवृद्धि गर्नुका साथै पहुँचयुक्त समाज निर्माणका लागि उनीहरूको आवाज र सहभागितालाई सशक्त बनाउनु रहेको थियो।
कार्यक्रममा सहभागीहरूले भौतिक पूर्वाधार, सार्वजनिक सेवा, वेबसाइट, मोबाइल एप, डिजिटल सामग्री तथा सूचना प्रणालीहरूलाई सबैका लागि पहुँचयोग्य बनाउनु किन आवश्यक छ भन्ने विषयमा अन्तरक्रिया गरेका थिए। साथै आफ्ना अनुभव, चुनौती र सुझावहरू समेत साझा गरेका थिए।
हामी विश्वास गर्छौं कि पहुँचयुक्तता कुनै सुविधा होइन, यो मानव अधिकार हो। जब सार्वजनिक स्थान, सेवा र प्रविधि सबैका लागि पहुँचयोग्य बन्छन्, तब मात्र अपाङ्गता भएका व्यक्तिहरूको पूर्ण र अर्थपूर्ण सहभागिता सुनिश्चित हुन्छ।
यस कार्यक्रमले सहभागीहरूलाई आफ्नो अधिकारप्रति थप सचेत बनाउनुका साथै स्थानीय तहमा पहुँचयुक्त नीतिहरू, सेवा प्रवाह र पूर्वाधार विकासका लागि आवाज उठाउने आत्मविश्वास प्रदान गरेको छ। यस्ता पहलहरूले भविष्यमा थप समावेशी, समान र सम्मानजनक समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।