28/09/2026
भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहितको हिम पहिरो खसेर भोटेकोशी लगायतका नदी बेसिनमा आएको अप्रत्याशित र अकल्पनीय सुनामी बाढीबाट रसुवा, नुवाकोट जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ र अरबौं अरबको भौतिक संरचनाको विनाश भएको छ । यिनै जिल्लाका बाढीबाट प्रभावित परिवारहरु मध्ये ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी)ले नुवाकोट जिल्ला विदुर नगरपालिकाको वडा नं. ७ र रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा नं. ५ वेत्रावतिका पीडित परिवारलाई आपतकालीन सहायता गरिरहेको छ । उक्त सहायता ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) ले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था Malterser international सँग मिलेर "Emergency Assitance to Support the flood Response in Nuwakot and Rasuwa, Nepal" परियोजना तयार गरी सोही दात्रिनिकायको सहयोगमा समाज कल्याण परिषदसँगको स्वीकृतिमा र सम्बन्धित स्थानीय सरकारको समर्थनमा गरेको हो ।
भाद्र १० गतेको बाढीबाट उल्लेखित जिल्लाको उल्लेखित पालिकाकाका त्रिशुली नदीको वरिपरिका सयौं व्यक्तिको मृत्युु भएको छ, हजारौं व्यक्ति वेपत्ता छन् । सयौं परिवारको आवासगृह, व्यावसाय, आवादी जमिन सबै वगरमा परिणत भएको छ । बाढीबाट प्रताडित परिवारहरु मध्ये धेरै परिवारहरु ती स्थलबाट विस्थापित भएका छन् । यसरी विस्थापित भएका परविारहरु मध्ये कतिपय स्थानीय तहमा संचालित अस्थायी होल्डिङ सेल्टर छन्, कतिपय गाउँमै आफन्तकोमा आश्रय लिएर बसेका छन् भने कतिपय काठमाडौंमा विभिन्न किसिमले आश्रय लिएर बसेका छन् ।
काठमाडौंमा आश्रय लिएर बसेका नुवाकोट विदुर नगरपालिका -७ का ८३ परिवारहरु र रसुवा उत्तरगया गाउँपालिका - ५ का ९३ परिवारहरुलाई उल्लेखित परियोजना अन्तर्गत आरएसडिसीका तर्फबाट यही आश्विन ९ र १० गते आपतकालीन सहायता स्वरुप ३ महिनाको लागि खाध्यान्न, खानापकाउने र खानेभाँडाहरु, अस्थायी सेल्टर सामानहरु र स्वास्थ्य सरसफाइका सामाग्रीहरु उपलब्ध गराइएको छ ।
सम्बन्धित स्थानीय सरकारले तयार गरेको विपद पीडित परिवार विवरणमा सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएर आएका काठमाडौंमा आश्रय लिएर बसोबास गरेका परिवारहरुले राहतस्वरूपको सहयोग प्राप्त गरेका छन् । राहत वितरण कार्यक्रममा उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ लगायतका सामाजिक व्यक्तिहरु, विदुर नगरपालिका-७ का डा. चेतनाथ अधिकारी लगायतका सामाजिक व्यक्तिहरु, आरएसडिसी प्रबन्ध समितिका सचिव कान्ता सिंह मानन्धर, सदस्यहरु हरि प्रसाद भट्टराई, सावित्री शर्मा र आरएसडिसीका कार्यकारी प्रमुख लगायतका कर्मचारीहरु हुनुहुन्थ्यो । विभिन्न सामाजिक व्यक्तिहरुले स्वयंसेवक भएर सहयोग पुर्याउनु भएको थियो ।
सो अवसरमा आरएसडिसीका कार्यकारी प्रमुख शिव प्रसाद बस्यालले यस अकल्पनीय प्राकृतिक विपत्तिमा परी निधन भएका व्यक्तिहरुप्रति ग्रामीण स्वावलम्बन विकास केन्द्रको तर्फबाट भावपूर्ण श्रध्दाञ्जली तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो । साथै, यस विपदमा सहयोग पुर्याउने दात्रिनिकाय Malteser international प्रति आभार सहित सबैको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
आरएसडिसीले विपद प्रभावित गाउँमा बसिरहेका उल्लेखित क्षेत्रका पीडित परिवारहरुलाई निकट भविष्यमा सोही स्थलमा राहतको सहयोग उपलब्ध गराउने छ ।