United Youth & Student of Madhes for Change

United Youth & Student of Madhes for Change "Being the Youth of Madhes, We have to challenge the Real Problem of Madhes & Madhesi. We are the Yo

05/01/2026

राजा, राजनीतिक दल र जेन–जी सबैले मधेशलाई गर्ने उपेक्षा उस्तै छ’

‘यो दुर्भाग्य हो कि, मधेशमा पनि ठूलो दल पहिलो एमाले, दोस्रो कांग्रेस, त्यसपछि मात्रै जसपा र चौथोमा जनमत रहेको छ’– डा. सीके राउत, अध्यक्ष, जनमत पार्टी
पुस १९, २०८२

पढे–लेखेका नेता भएनन् भनेर टीकाटिप्पणी भइराख्छन् । तर सबै नेता त्यस्ता छैनन्, जस्तो कि डा. सीके राउत । उनले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र जापानको टोकियो विश्वविद्यालयबाट अध्ययन गरेका छन् । बेलायतको प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी गरेका छन् । अमेरिकाको ‘डिफेन्स स्ट्राटेजी’ मा सुरक्षा प्रणालीमा कम्प्युटर वैज्ञानिकका रूपमा पनि काम गरेका छन् ।

सप्तरीको पिछडिएको क्षेत्र महादेवा गाउँबाट काठमाडौं, जापान, बेलायत र अमेरिकाको फन्को लगाएर फेरि नेपाल आएका उनलाई आफ्नो गाउँ, जिल्ला र मधेशका जनताले ‘युवा विज्ञानी’ भनेर चिन्छन् । यी ‘युवा विज्ञानी’ ले भौतिकशास्त्र मात्रै होइन, राजनीतिकशास्त्रको अभ्यासमा आफूलाई उतारेको पनि केही वर्ष भइसकेको छ । उनीसँग जेन–जी आन्दोलन, मधेशको राजनीति र देशको राजनीतिको विषयमा कान्तिपुरका #उमेश #चौहानले गरेको कुराकानी :

- पहिला तपाईंको टाई एकदमै रातो हुन्थ्यो । अहिले छिरेबिरे नीलो हुँदै गएको छ । के यो राजनीतिक रूपान्तरण हो ? यसले के बताउँछ ?

👉️ हरेक कुरामा अर्थ नै दिनुपर्छ भन्ने त छैन । यसको अर्थ नै नभएको पनि होइन । पहिला पूर्ण रातो हुँदा क्रान्तिकारिताको प्रतीकका रूपमा लिन्थ्यौं । राजनीतिक सिद्धान्तमा हामीले सामुदायिक समाजवादलाई अघि बढाएका थियौं । अहिले आएर राजनीतिक पार्टी तथा त्यसको सिद्धान्तका रूपमा सामाजिक लोकतन्त्रलाई अँगालेका छौं । यसको रङ खासगरी ‘पिंक’ तिर जान्छ । त्यो रातो र नीलोको मिश्रण हो । बीचको रङ हो । तर, अर्थै निकाल्नुपर्छ भन्ने होइन । तर राजनीतिमा आएपछि आदर्शवाद व्यावहारिकतामा परिवर्तन भएको सूचकचाहिँ हो ।

- प्रयोगतावादमा जाँदाजाँदै ‘रेड’ प्रचण्डबाट अहिलेका प्रचण्ड, १४ वर्ष जेलमा बसेकाबाट अहिलेका ओली । विद्यार्थी नेताबाट अहिलेका शेरबहादुर देउवा हुने रहेछन् । सबैको प्रक्रिया यही हो ? तपाईंको भविष्य पनि यही हो भनेर अनुमान गर्नु कतिको ठीक हुन्छ ?

👉️ हामी धेरै भिन्न नजरबाट हेर्दैनौं । क्रान्तिकारीको पृष्ठभूमिको चरणमा रहँदासम्म धेरै आदर्शवादी कुराहरू हुन्छन् । स्वाभाविक हो । त्यो नेतृत्वमा पनि हुन्छ, जनतामा पनि । तर, व्यावहारिकतामा आएपछि, राज्य सञ्चालनमा आएपछि, संसद् वा सरकारमा आफैं संलग्न भएपछि सबै कुरा आदर्शवादी हुँदैनन् । व्यावहारिकतामा बिस्तारै ढाल्नैपर्ने नै हुन्छ । विश्व राजनीतिमा पनि त्यस्तो देख्नुहुन्छ । एकसेएक कम्युनिस्ट नेताहरू पछि रूपान्तरित भएर गए । कम्युनिस्ट सिद्धान्त नअँगालेका अरू पात्रमा पनि त्यस्तो देखियो । नेपालको सन्दर्भमा प्रचण्डमा देखिन्छ । हुँदाहुँदै अहिले विप्लवजीमा पनि देखिन्छ । आदर्शवादी पात्रकै रूपमा हुनुहुन्थ्यो । तर, रूपान्तरण भएपछि स्वाभाविक रूपमा व्यावहारिकतामा ढल्नैपर्ने हुन्छ । हरेक कुराहरू एकाएक कसैले परिवर्तन गर्न सक्ने होइन । राज्य सञ्चालनमा आएर एकाएक पूरै कर्मचारी, प्रहरी र सेना, राज्य संरचनादेखि सबैको मानसिकता नै फेरिदिन्छु भन्दैमा कसैले चाहेर हुँदैन । त्यहाँ व्यावहारिकताका पक्ष आउँछ नै । त्यतिबेला ‘कम्प्रोमाइज’ गर्नैपर्ने हुन्छ ।

- तपाईं ‘फिजिक्स साइन्टिस्ट’ बाट ‘पोलिटिकल साइन्टिस्ट’ मा आउनुभयो । त्यसको प्रयोग र अभ्यास गर्ने चरणमा आइपुग्नुभयो । तर, बाहिरबाट हेर्दा आन्तरिक पहिचानकै लागि संघर्षमा हुनुहुन्छ जस्तो देखिन्छ । कहिले मधेशको जुलुस, कहिले पार्टीको जिम्मेवारी हस्तान्तरण, कहिले ओशो तपोवनतिर केन्द्रित हुनुहुन्छ । प्रयोगतावादको राजनीति पनि गर्नुपर्ने, शक्तिको राजनीति पनि गर्नुपर्ने र अध्यात्ममा गएर रातो ‘गाउन’मा बस्नुपर्ने स्थितिले तपाईं पहिचानका लागि संघर्ष त गरिरहनुभएको छैन ?

👉️ अहिले म त्यो संघर्षको चरणमा छैन । पहिला पक्कै थिएँ । खासगरी कलेज जीवनमा हुँदा व्यापक मानसिक द्वन्द्वमा थिएँ । आध्यात्मिक बाटो समाउने कि, राजनीति गर्ने कि, कि आफ्नो काम गरेर मात्रै बस्ने कि, पढाइलेखाइ मात्रै गर्ने भन्ने द्वन्द्व थियो । खोजी गर्दैगर्दा आज त्यो चरणमा पुगेको छु कि अरू कुरालाई पात्रका रूपमा मात्रै हेर्छु । कम्प्युटरमा गेम खेल्दा विभिन्न स्वरूप हुन्छ नि, त्यहाँ प्रयोग हुने तरबार वा ‘क्वाइन’ को कुनै अर्थ छैन भन्ने थाहा हुँदाहुँदै पनि जम्मा गर्नेतिर लाग्छौं । अहिले पूरै संसारलाई नै ‘सिम्युलेसन’ हो कि भनेर हेर्ने चरणमा पुगेको छु । त्यही भएर आफ्नो भूमिका निर्वाह गर्दै छु । समग्रतामा ‘सिम्युलेसन’ हो है भनेर मात्रै हेर्छु ।

- तपाईंको दलको तर्फबाट मधेशका मुख्यमन्त्री हुनुभएका सतीशकुमार सिंहको भूमिका, पहिचान र जिम्मेवारीको विषयमा मूल्यांकन के छ ?

👉️ उहाँ जनमत पार्टीका तर्फबाट मधेश प्रदेशको मुख्यमन्त्री हुनुहुन्थ्यो । काम पनि राम्रै गर्नुभयो । नगरेको होइन ।

- जसलाई केही महिनाअगाडि मुख्यमन्त्रीको जिम्मेवारी दिनुभयो । र, केही महिनापछि अचानक फेसबुकमा लेखेर वा फोन गरेर छोड्न भन्नुभयो । तपाईंबाट अपेक्षित राजनीति यही हो र ?

👉️ यसका लागि त हामीलाई धन्यवाद दिनुपर्ने होइन र ? जनमत पार्टीलाई धन्यवाद र तारिफ गर्नुपर्ने जस्तो लाग्छ । किनभने जनमत पार्टीले जेन–जी आन्दोलन हुँदाखेरी आफ्नो मुख्यमन्त्रीलाई राजीनामा गर्न लगायो, आन्दोलनको सम्मान गर्दै । कसैलाई आजीवन मुख्यमन्त्री त बनाइएको होइन । निश्चित अवधिका लागि थियो । राष्ट्रिय अध्यक्षका रूपमा ‘एग्रिमेन्ट’ गर्ने मानिस त म हुँ । खासगरी त्यो कुरा अरूलाई थाहा पनि हुँदैन । कति दिनलाई बनाइएको छ भनेर कि मलाई थाहा छ, कि कांग्रेस, एमालेका नेतृत्वलाई थाहा छ । त्यस आधारमा पार्टीले फिर्ता बोलाएपछि उहाँ स्वाभाविक रूपमा फिर्ता आउनुपर्ने हो । जेन–जी आन्दोलनका क्रममा उहाँले राजीनामा दिन्छु भन्नुभएको थियो । त्यसको सम्मान पनि गर्नुपर्छ । आन्दोलन शान्त हुनासाथ म राजीनामा दिन्नँ, पदमै बसिराख्छु भन्नुभएन ।

- जेन–जी आन्दोलन भएको सय दिन नाघेको छ । यस अवधिमा मधेशमा चार जना मुख्यमन्त्री भइसकेका छन् । त्यति मात्र होइन, मधेशमा सेना परिचालन गर्नुपर्‍यो, मुख्यमन्त्रीको कार्यालय वरिपरि । मुख्यमन्त्रीसँग कसैले नमागेको राजीनामा जनमत पार्टीका अध्यक्ष आफैंले मागेर यस्तो भयो भन्ने छ नि ? आफैंले कसरी समीक्षा गर्नुहुन्छ ?

👉️ राम्रो समीक्षा गरेको छु । किनभने यसले ‘फल्ट लाइन’ देखायो । प्रदेश कसको नियन्त्रणमा छ, कसरी सञ्चालन भइरहेको छ, कहाँबाट भइरहेको छ, हाम्रो संघीयता कति कमजोर छ भन्ने सबै ‘फल्ट लाइन’ को उजागर यही समयमै भयो । प्रदेश प्रमुखले गलत धारा, उपधाराको प्रयोग गरेर मुख्यमन्त्रीलाई होटलमा लगेर शपथ खुवाउनुभयो । जनकपुरभित्रै किन गरिएन ? सुरक्षा दिने हैसियत थिएन ? थिएन भने यत्रो सेना/प्रहरी राखेको के काम भयो त ? सभामुख पार्टीको पक्षधरता लिएर उदाङ्गो हुनुभयो । उपसभामुखले प्रदेशसभा चलाउने अवस्था रहेन । सेनासमेत ओर्लिनुपर्‍यो । सांसदहरू कुटिँदा प्रहरी मौन बसे । अनि प्रहरी कहाँबाट परिचालित रहेछ ? उपसभामुखले खुला चौरमा दुईतिहाइभन्दा बढी सांसद राखेर प्रदेशसभा बसाउनुभयो । योभन्दा लज्जास्पद के हुन्छ ?
प्रहरीहरू अझै केन्द्रकै नियन्त्रणमा छन् । दुईतिहाइ सांसदलाई सुरक्षा नदिने रहेछन् । यसरी एकएक ‘फल्ट लाइन’ देखियो । त्यही भएर हामीलाई कुनै पश्चाताप छैन । खुसी छौं । जनताले पनि हेर्न पाए । किन हामीले स्वायत्तता माग गरिरहेका छौं ? त्यो संविधानबाहिरबाट मागिरहेका छैनौं । संविधानको अनुसूचीमा लेखिएको कुरा हो । तर, अधिकार दिन मानेका छैनन् । प्रदेश प्रमुख पनि संघीयताविरोधी गतिविधिमा लागे । त्यही भएर प्रदेशसभा आफैंले निर्वाचित गरेको प्रदेश प्रमुख बनाउने हो कि ? त्यो राम्रो विकल्प हो कि ? यसरी सबै कमजोरी बाहिर आयो । हामीले सारेको नौलो गणतन्त्रको नारामा शासकीय स्वरूपको परिवर्तन मात्रै होइन कि मुख्यमन्त्री पनि जनताद्वारा प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने छ । त्यो भएको भए सय दिनमा चारवटा मुख्यमन्त्री हुँदैनथे । अहिले त आठ सिट भएको पार्टी पनि मुख्यमन्त्री चाहिन्छ भनेर ढिपी लिन्छन् । संघीयताका कमीकमजोरी जनताले बुझ्ने अवसर पाए । त्यसले पूरै मधेशभरि संघीयता बलियो हुनुपर्छ भनेर आवाज उठ्न थालेको छ ।

- काठमाडौं जहिले पनि मधेशप्रति सशंकित हुन्छ, काठमाडौं अर्थात् यहाँको प्रणाली, मनस्थिति र शक्ति । त्यसमाथि पनि डा. सीके राउतप्रति अझ बढी प्रश्नचिह्न खडा भइरहन्छ । किनकि, यहाँले पहिले स्वतन्त्र मधेशको एजेन्डा लिएर राजनीति गर्नु भएको र जेल पनि जानुभएको हो । तर, केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग सम्झौता गरेर मूलधारको राजनीतिमा आउनुभयो । पछिल्लो पटक तपाईंले स्वायत्त मधेश भनेर प्रदर्शन गर्नुभएको छ । जबकि, संघीयता स्थापना भएर विकासको क्रममा छ । गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम वा बागमतीले नमागेको स्वायत्तता मधेशले माग्छ र त्यसको नेतृत्व सीके राउतले गर्नुहुन्छ भने त्यो शंका अझ फेरि बढ्छ । मधेश स्वायत्त किन हुनुपर्ने ?

👉️ जुन कारणले काठमाडौंले अधिकार दिन चाहेको छैन, ती कारण नै पर्याप्त छन्, स्वायत्तता माग्नका लागि । मधेशलाई शंका गरिनु पनि प्रमुख कारण हो, आफ्नो अधिकार माग्ने । शंकामा जहिले पनि बाँचिरहने कुरा हुँदैन । काठमाडौंको पाइतालामुनि हामीलाई बाँचिरहने इच्छा रहँदैन । आज न भोलि, त्यो विद्रोह हुन्छ । कारणहरू प्रस्ट देखिए । प्रदेश प्रमुख, प्रहरी, सेना सबै काठमाडौंबाट नियन्त्रित छन् । यस्तो अवस्थामा आफ्नो अधिकार र पहिचानको रक्षाका लागि स्वायत्तता चाहिन्छ भन्ने कुरामा मधेशका जनता दिनानुदिन स्पष्ट भइरहेका छन् । बरु १० वर्ष अगाडि मैले आवाज उठाउँदा मधेशकेन्द्रित राजनीतिक दलहरूले नै विरोध गर्थे । मधेशी जनताले नै विरोध गर्थे । तर, अहिले उनीहरू आफैंले बुझ्दै छन् । त्यसैले हामी भन्छौं, मधेश स्वायत्ततातिर अगाडि बढ्छ । यो भन्दा धेरैलाई नौलो लाग्छ । तर, यो नौलो होइन । २०६४ सालमा भयानक मधेश आन्दोलन भएपछि त्यहाँ स्पष्ट लेखिएको छ । स्वायत्त मधेश प्रदेशको चाहनालाई पूरा गरिनेछ । प्रदेशहरू पूर्ण रूपले स्वायत्त र अधिकारसम्पन्न हुने भनेको छ । अहिलेको संविधानले पूर्ण स्वायत्तता दिएको छैन । अधिकार पनि खासै दिन मानेको छैन । जति अधिकार दिएको छ । त्यसलाई पनि ठूला दलले दिन मानेका छैनन् । कर्मचारी र प्रहरी नै दिएका छैनन् ।

- प्रहरीको पुनःसंरचना गर्ने भनिए पनि सरकारले कानुन बनाएको छैन । त्यो मधेशका लागि मात्रै होइन, अरू प्रदेशका लागि पनि हो । संविधानतः गर्नैपर्ने काम सरकारले गरेको छैन । त्यसमाथि प्रश्न छ । कर्मचारीको समायोजनको विषय पनि ढिला गरिरहेको छ । त्यो विषयमा पनि नागरिक समाज र मिडियाले प्रश्न गरिरहेका छन् । तर, यहाँले त्यसभन्दा अगाडि बढेर स्वायत्तता भन्नुभएको छ । प्रहरी हुनुपर्छ, कर्मचारी हुनुपर्छ र संविधानले ‘ग्यारेन्टी’ गरेको अधिकार प्रदेशले पाउनुपर्छ भन्ने मात्रै हो कि यहाँहरूको माग वा त्योभन्दा बढी हो ?

👉️ स्वायत्तताको डिग्री हुन्छ । ‘एक्स्ट्रीम’ मा स्वायत्तता भन्नुभयो भने छुट्टिन पाउने अधिकारसम्मको विषय पनि हुन्छ । हामीले त्यो डिग्रीको स्वायत्तता मागेका होइनौं । पहिलो चरणमा, संविधानले दिएको अधिकार लागू गरौं । संविधान आएको १० वर्ष भयो तर त्यो मनसाय देखिएन । नियतमा खोट देखिएको छ । हाम्रो पहिलो माग नै संविधानभित्रकै अधिकार दिनुहोस् भन्ने हो । त्यसपछि हामी के चाहन्छौं भन्ने विषय आउँछ । अधिकारका विषयमा अस्पष्टता छ । संविधानको अनुसूचीमा एउटै अधिकार दुईतिर राखिएको छ । जसले गर्दा अविशिष्ट अधिकार संघकै मातहतमा रहन गएको छ । ऐनहरूमा संघीय ऐनबमोजिम लेखिदिन्छन्, त्यसमार्फत अल्झाउने काम गरिएको छ । त्यसले अधिकारहरू लागू गर्न कठिन छ । त्यसबारे स्पष्टता ल्याइनुपर्छ । दिनुपर्ने दिऔं, नदिने मन भएका विषयमा स्पष्ट पारौं भन्ने हो । संघीयतालाई प्रभावकारी तरिकाले लागू गर्ने हो भने जिल्ला–जिल्लाको बजेट सिंहदरबारबाट वितरण गर्ने होइन । स्थानीय तहको अधिकार सिंहदरबारले राख्ने होइन । विश्वभरि प्रचलित विषय हेर्नुपर्छ । त्यसैले स्थानीय तहको अधिकार प्रदेश मातहत ल्याइनुपर्छ । प्रहरी र कर्मचारी पनि प्रदेशकै होस् । सशस्त्र प्रहरी, सेना, परराष्ट्र नीति, मौद्रिक नीति मात्रै संघले राखोस् । तर, १० लाखको बजेट पनि सिंहदरबारले छुट्याउने र ससर्त अनुदान दिने त कुरा गर्नु भएन ।

- तपाईंले भन्नुभएको स्वायत्तता हरेक प्रदेशलाई चाहिएको छ वा मधेशलाई मात्रै ?

👉️ कमबेसी सबै प्रदेशलाई चाहिएको हो । तर, सबै प्रदेशमा सीमान्तकृत समुदायको उपस्थिति एकैनासको छैन । त्यो बुझ्नुपर्ने हुन्छ । मधेश मात्रै किन शंकाको घेरामा छ ? तर, बागमती किन छैन ? बागमती प्रदेशको समस्या बिल्कुल अलग हुन सक्छ, मधेशको अलग । त्यसो भएको हुनाले मधेश प्रदेशलाई सबैभन्दा बढी संघीयता चाहिएको हो । किनभने राज्यबाट सीमान्तकृत पारिएका ठूलो जनसंख्या त्यहाँ छ । जसलाई अनागरिक ठानियो । नागरिकता दिन पनि खोजिएन । रोजगारीबाट टाढा राखियो । हरेक संरचनामा विभेद गरियो । त्यस्तो समाज त त्यहाँ छ । बागमती, लुम्बिनी वा एक हदसम्म सुदूरपश्चिमलाई बढी संघीयता आवश्यक छ ।

- अहिले तपाईंले भन्नुभएको चाहिँ संविधानअनुसारको अधिकार हस्तान्तरण हुनुपर्‍यो भन्ने हो ?

👉️ बिल्कुल । त्यसमा इमानदारिता देखाउनुपर्‍यो । त्यो सबैभन्दा ठूलो कुरा हो । नभए यहाँ मानसिकता नै छ, कानुन नै अस्पष्ट रहोस् । त्यसबाट जहिले पनि खेल्न पाइयोस् । निर्णय गरे पनि लागू नै गर्न नसकियोस् ।
- प्रदेशमा अस्थिरता तथा केन्द्रकै जस्तो भ्रष्टाचारको विस्तारले संघीयताको विरोध पनि भइरहेको छ । मधेशले नै संघीयताको आवाजलाई संस्थागत गरेको हो । तर त्यही प्रदेशको संरचनाप्रति मधेशको नेतृत्व इमानदार र बफादार देखिएको छ त ?

👉️ सबभन्दा पहिले प्रदेशको जुन सीमांकन भयो र अधिकारको बाँडफाँट भयो, त्यसमा मधेशकेन्द्रित दलको ठूलो भूमिका रहेन । मधेशमा आन्दोलन भयो । तर, सुनुवाइ भएन । कमा र ‘फुलस्टप’ पनि परिवर्तन नगर्ने भनियो । जबर्जस्ती संविधान ल्याइयो । त्यसैले जुन प्रकारको संघीयता आएको छ, त्यो कुरूप खालको छ । लुम्बिनीकै संरचनाको कुनै आधार नै छैन । त्यसको दोष मधेशकेन्द्रित दललाई दिएर त भएन । ठूला दलले त्यसको जिम्मेवारी लिने हो । तर जनताले दोष हामीलाई दिइरहेका छन् । मेचीदेखि महाकालीसम्म एक रहेको मधेशलाई ५ टुक्रामा विभाजित गराइदिनुभयो भन्छन् । त्यो दोष मधेशकेन्द्रित दलले भोग्नुपरेको छ । जबकि भूमिका नै थिएन । मधेशकेन्द्रित दलहरू त आन्दोलनमै थिए ।
आठ जिल्लाको मधेश प्रदेश बन्यो । यसमा हाम्रो ठूलो भूमिका छैन । यो दुर्भाग्य छ, मधेशमा पनि ठूलो दल पहिलो एमाले, दोस्रो कांग्रेस, त्यसपछि मात्रै जसपा र चौथोमा जनमत हो । त्यसका लागि पनि हामीलाई दोष दिन मिल्दैन । निर्णायक शक्ति पनि पाउन सकेका छैनौं । जोड दिँदा पनि हाम्रो बहुमत पुग्दैन । जति भइरहेका छन्, त्यसको धेरै जिम्मेवारीमा हामी छैनौं । तर, हाम्रो निर्णायक सिट नहुँदा पनि कांग्रेस–एमालेले हामीलाई सरकार बनाउन दिए, त्यसका लागि धन्यवाद दिन चाहन्छौं । जनताको भावना बुझेरै दिनुभएको होला । हामीले जति जनमत पाएका छौं, त्यस हिसाबले जति गर्न सक्छौं, त्यति गरेका छौं । मुख्यमन्त्री हाम्रो थियो । कांग्रेसबाट बनेका अर्थमन्त्रीले ८/९ महिना बजेट नै चल्न दिएनन् । त्यो स्थितिमा हामीले के गर्ने ? त्यो कुरा जनताले बुझ्नुपर्ने हुन्छ ।

- ठूला दल एमाले वा कांग्रेसले मधेश प्रदेशमा जसपा वा जनमतलाई सरकार बनाउने अवसर दिए । त्यसले यस्तो लाग्दैन, जुन एजेन्डाका लागि तपाईंहरू आउनुभएको थियो, त्यो एमाले वा कांग्रेसले राखिदिएको चिनीमा माहुरी लट्पटिए जस्तो लट्पटिएर यिनीहरू पनि खास फरक होइनन् भन्ने स्थापित गराउन सफल भए ?

👉️ त्यस्तो लाग्छ । खासगरी जनमतको हकमा केही हदसम्म साँचो हो । हाम्रो धेरै सिट थिएन । १३ सिट थियो । हामीलाई सरकारको नेतृत्व किन दिइयो ? १०७ सिटमा हाम्रो १३ मात्रै भएको पार्टीलाई सरकारको नेतृत्व किन दिइयो भन्ने बुझ्न गाह्रो छ । तर, हामीले जोखिम लियौं । किनभने, मधेशको ‘डायनामिक्स’ फरक छ । त्यहाँ जहिले पनि राजनीतिक सिद्धान्तभन्दा पनि सरकारी सेवा प्राप्तिमा कसले सहयोग गर्‍यो, प्रहरी कार्यालयमा कसले सहयोग गर्‍यो, सीडीओ कार्यालयमा कसले सहयोग गर्छ, नाला कसले बनाइदिन्छ र ट्युबवेल कसले दिन्छ ? भन्ने जनताको माग हुन्छ । त्यहाँको मानसिकता त्यस्तो छ । घर अगाडि बनिसकेको नालाको सफाइ पनि माननीयले गरिदिनुपर्छ भन्ने ठान्छन् । त्यहाँको मापन नै नेताले के ल्यायो भन्ने हो । एजेन्डा, स्वायत्तता वा अधिकारका लागि लड्नेसँग मतलब छैन । मापन छैन । कम्बल वा ग्यास बाँडियो कि बाँडेन ? त्यसभन्दा फराकिलो सोच्नेले मात्रै हो, सडक र नालाको कुरा गर्ने । त्यस्तो मानसिकता छ । अब मधेश सरकारमा गइसकेपछि हामीले यतिसम्म भन्न पाएका छौं– केही योजना ल्याएका छौं । मेरो मात्रै निर्वाचन क्षेत्र, जहाँबाट जनमत पार्टीले जितेको छ, त्यहाँ झन्डै ६ सय योजना पुगेको छ । त्यसले हामीलाई भन्न सकिने वातावरण दिएको छ । चेतनाको स्तर तथा राज्यसँगको पहुँच त्यस्तै भएकाले पनि सरकारमा गएर केही गर्न सकिन्छ कि भनेर गएका हौं ।

- जेन–जी आन्दोलन किन भयो ? कांग्रेस, एमाले जस्ता शक्तिको व्यवहारको विरोधमा मात्रै थियो कि ? तपाईंहरूले जुन राजनीति सिक्दै हुनुहुन्छ, त्यसका विरोधमा पनि थियो ?

👉️ जनमत पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये १ सिटमा जितेको थियो । समानुपातिक पनि जोडिदिनुभयो भने २ सय ७५ मा ६ वटा सिट भएको हामीले कसरी र कुन रूपमा नीति परिवर्तन गर्न सक्छौं ? नीतिगत हस्तक्षेप गर्न सक्छौं ? आमजनताले हामीलाई नै बुझाइदिनुपर्‍यो । हामीले प्रयास नगरेको पनि होइन । रंगभेदविरुद्ध संकल्प प्रस्ताव पेस गर्‍यौं संसद्मा । तर, त्यो टेबलसमेत भएन । किनभने हाम्रो सिट संख्या सानो थियो । ठूलो पार्टी भएको भए दबाब पनि पुग्थ्यो । हिमाल, पहाड, मधेश सबैका बासिन्दालाई लागू हुने कुरा थियो, रंगभेदविरुद्धको प्रस्ताव । संकल्प प्रस्ताव दर्ता गर्न पनि कठिन भएको थियो । सचिवले मानेकै थिएनन् । पछि निजी विधेयक पनि पेस गर्‍यौं । त्यो छलफलमै ल्याइएन । लोकतन्त्र भनेको संख्याको खेल हो । दलीय लोकतन्त्र हो, हाम्रो । दलको ह्विप लाग्छ । दलले कुनै विधेयकप्रति कस्तो धारणा राख्छ, त्यसले काम गर्छ । व्यक्तिविशेषले राखेको अर्थ हुँदो रहेनछ ।

जेन–जी आन्दोलनको बृहत् विश्लेषण हुनुपर्छ । सबैले सबै कुरा बुझेको जस्तो पनि छैन । तर, सीमित कारण हेर्दा त्यसमध्ये प्रमुख सेवा प्रवाहमा भएको कमी पनि हो । अर्को, दुई ठूला दलहरू कांग्रेस र एमाले जस्ता विपरीत धारका राजनीतिक शक्ति मिले । उनीहरूले जसरी सरकार चलाइरहेका थिए, त्यहाँ जनताको आवाज सुनिएको थिएन । हामी गठबन्धनको घटक हुँदा पनि दुई–दुई महिनासम्म प्रधानमन्त्रीलाई भेट्ने समय पाइरहेका थिएनौं । आमजनताको हालत के होला ? कसैले सुझाव दिन चाहे पनि सुनुवाइ हुने ठाउँ थिएन । त्यो सरकारलाई हटाउने अर्को उपाय पनि भएन । अरू बेला सामान्य हलचलले पनि सरकार फेरिन्थ्यो । तर, दुईवटा ठूला दल मिलिदिएपछि हटाउने उपाय पनि थिएन । जसका कारण सडकमै यति ठूलो विस्फोट हुन पुग्यो कि देशले क्षति व्यहोर्नुपर्‍यो ।

- २३ र २४ भदौको जेन–जी आन्दोलनको आकलन यहाँलाई कस्तो थियो ? त्यो दिन सायद तपाईं नेपालमा हुनु हुन्थेन कि ? त्यसको सूचना तपाईंलाई कस्तो थियो ? अपडेटहरू कसरी पाउनुभयो ? मूल्यांकन कसरी गर्नुभयो ? अवधारणा कसरी बनाउनुभयो ?

👉️ लगभग आमनागरिकलाई थाहा थियो, केही कुरा मिलिरहेको छैन । असन्तुष्टि सबैसँग थियो । उकुसमुकुस जताततै थियो । तर, के गर्ने ? निकास के हो ? थाहा थिएन । र, हामीले पनि जनताको उकुसमुकुस अध्ययन गरेका थियौं । त्यही भएर २०८१ जेठ १५ मा नै खुलामञ्चमा आमसभा राखेर नौलो गणतन्त्रको उद्घोष गरेका थियौं । देशमा समस्या व्याप्त छ । असन्तुष्टि र आक्रोश बढ्दै गइरहेको भनेका थियौं । हामीले ८/१० बुँदाको निकास नै दिएका थियौं । यस्तो घटना हुने झल्को केही घटनाले दिएको थियो । कोरिया जाने विषयमा भएको घटनामा गोली चल्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालकोमा सुरक्षाकर्मीहरू सहितको बैठक बसेको थियो । त्यतिबेला पनि मैले भनेको थिएँ– कम्तीमा मन्त्रीलाई निकालेर गाडीमा आगो लगाइएछ । अर्को दिन यस्तो आउला, मन्त्रीलाई ननिकालेरै आगो लगाउन सक्छन् । मेरो त्यो भनाइलाई नकारात्मक रूपमा हेरियो । त्यस्तो आक्रोश त्यसबेलाको आन्दोलनमा देखियो ।

अर्को घटना गतवर्ष चैत १५ मा भयो, तीनकुनेमा दुर्गा प्रसाईंले गरेको आन्दोलनमा । त्यसपछि पनि प्रधानमन्त्री केपी ओलीले बैठक बोलाउनुभएको थियो, समीक्षाका रूपमा । मैले भनेको थिएँ– यो कुराको अनुमान राज्यले पहिले नै गर्नुपर्थ्यो । त्योभन्दा केही दिन अगाडि पूर्वराजा एयरपोर्टबाट आउँदा उपस्थित भएको मासलाई हेरेर अनुमान गर्न सक्नुपर्थ्यो । तर सरकारमा अहंकार मात्रै देखियो । जे भए पनि दबाउन सकिन्छ भन्ने खालको । त्यसैको शृंखलाका रूपमा जेन–जी आन्दोलन देखियो । विद्यार्थीहरू हुन्, आउलान्, जालान् भन्ने थियो । मेरो पनि आकलन त्यही थियो । मसँग कुनै इन्टेलिजेन्स त छैन । म बाहिर तीर्थ यात्रामा थिएँ । तर, इन्टेलिजेन्स रहेको राज्य यहाँ पनि चुक्यो । अहंकारको मानसिकतामा रहेका उनीहरूले बुझ्नसम्म पनि लागेनन् ।

- जनआक्रोश त थियो । त्यसमा कुनै शंका छैन । तर, यसमा देश बाहिरका शक्ति पनि जोडिएको अनेक आकलन भइरहेको छ । केहीले भूमिका खेले, केहीले रणनीति बनाए र योजनाअनुसार कार्यान्वयन गरे भन्ने टिप्पणी पनि भइरहेको छ । त्यो विशुद्ध जनआक्रोश मात्रै थियो, कि बाहिरी घुसपैठ पनि भयो ? तपाईंलाई के लाग्छ ?

👉️ हेर्नुस, यो राज्यले बुझ्नुपर्ने कुरा हो । हामीले त बाहिर जे हेर्छौं, त्यही भन्ने हो । जनआक्रोश थियो । नेता, संसद् सबैप्रति वितृष्णा बढेको थियो । त्यसमाथि एकाएक सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइयो । यस्तो त तनाशाही मुलुकमा पनि हुँदैन । आफ्नै छोराछोरीलाई केही घण्टा इन्टरनेटभन्दा टाढा राख्नुस्, मोबाइल खोस्नुस्, कस्तो आक्रोश हुन्छ ।

- त्यो आक्रोशबाहेक अरू पनि कारण थिए कि ?

👉️ त्यो आक्रोश ‘ट्रिगर प्वाइन्ट’ भयो । त्यहाँबाट बढ्यो । पछि घुसपैठ पनि भएकै हो । प्रमाणकै साथ भन्न सकिने ठाउँमा त छैन । तर, घुसपैठ पक्कै पनि भएको छ । विभिन्न शक्तिले यसलाई ‘म्यानुपुलेट’ गरेको जस्तो लाग्छ । तर, प्रमाण मसँग छैन । त्यही भएर योभन्दा बढी म भन्न सक्दिनँ ।

- राज्यले आकलन गर्न सकेन । अरू राजनीतिक दलहरूले मूल्यांकन गर्ने सकेनन् । यहाँहरू पनि अलमलमा देखिनुभयो । आन्दोलन र उत्पातको बीचमै प्रतिनिधिसभाबाट सामूहिक राजीनामा दिनुभयो । जब २७ गते संसद् विघटन गरियो, किन गरेको भन्नुभयो । खबरदारीको आह्वान गर्नुभयो । तपाईंको अपेक्षा के थियो, के मिलेन र विचार बगिरहे ?

👉️ संयोगले, जेन–जी आन्दोलन हुँदा म देश बाहिर थिएँ । म कैलाश मानसरोवर यात्रामा थिएँ । यहाँ के भइराख्या छ, त्यसबारे वस्तुगत मूल्यांकन थिएन । इन्टरनेटको उपलब्धता कम थियो । सहज थिएन । त्यसकारण धेरै अपडेट थिएन । सही समयमै सूचना पाइरहेको थिइनँ । यतैबाट सबैले राजीनामा दिनुपर्छ भन्ने प्रस्ताव आयो । देशैमा आगो लागिसक्यो भनियो । त्यही बेला राजीनामा दिएँ । मानसरोवरबाट होटलमा फर्किसकेपछि घटनाको ‘मनिटर’ गर्न थालें । कसैले संविधान खारेजीको कुरा गरेको देखियो । कसैले संघीयता खारेजीको कुरा गरेको सुनियो । संसद् रहनु हुँदैन भन्न थाले । त्यसपछि संसद् तत्कालै विघटन गर्नु हुँदैन भन्यौं । त्यसले रिक्तता निम्तिन्छ भन्यौं । भलै हामीले राजीनामा दिएका छौं । तैपनि हामी संसद् रहोस् भन्ने पक्षमा आयौं । आन्दोलनकै निकासकै लागि संसद् रहनुपर्छ । जेन–जीको माग सम्बोधनका लागि पनि संसद्बाट संविधान संशोधन गरिनुपर्छ भन्यौं । आन्दोलनमा जेन–जीको हत्या गरियो । हामीले नैतिकताका आधारमा संसद् छोड्यौं । यसलाई सकारात्मक रूपमा लिइनुपर्छ । जतिबेला कुनै पार्टीले बोलेका थिएनन् । त्यतिबेला बोल्ने पार्टी जनमत नै हो । संविधानमाथि धावा बोल्नु हुँदैन भनेका थियौं । संविधानले दिएको अधिकार पनि खोस्ने कुरा भयो भने त हामी आन्दोलनलाई समर्थन गर्न सक्दैनौं भन्यौं । त्यसपछि उल्टै थ्रेट आयो । कसैले नबोलिरहेका बेला संविधान नफालौं, संसद् बचाऔं भनेपछि थ्रेट आएको हो । मेरो काम हो, मार्गनिर्देशन गरिदिने । जे सही लाग्छ त्यही भनेको भने ।

- २४ गतेको घटनापछि नेपालका राजनीतिक संस्थाहरू निष्क्रिय भए । त्यसपछि राष्ट्रपतिको प्रतिनिधित्व गरेर सेनाले वार्ताको अग्रसरता लियो । काठमाडौं महानगरका मेयर बालेन शाह, रास्वपाका सभापति रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङलगायत सेनाले स्टेक होल्डर मानेका व्यक्ति र नेताहरूसँग प्रत्यक्ष, अप्रत्यक्ष संवाद गर्‍यो । दुर्गा प्रसाईंसँग पनि गर्‍यो । त्यसबीचमा तपाईंहरू, जो नयाँ राजनीतिक शक्ति हुनुहुन्छ । त्यसलाई कुनै संस्थाले इन्गेज गर्ने, धारणा लिने, सुझाव लिने कोसिस गर्‍यो कि गरेन ?

👉️ यहीँबाट देखिन्छ । त्यतिबेला संसद् विघटन गर्नु कति खतरनाक थियो ? भलै अहिले केही स्थिर स्थिति देखिएको छ । तर, त्यतिबेला बाह्य हस्तक्षेप गर्न चाहेको भए वा सेनाले नै देश चलाउँछु भन्ने चाहेको भए सजिलो हुने स्थिति थियो । त्यसबेला मधेशी र अन्य सीमान्तकृतलाई स्टेक होल्डर ठानिएन । प्रमुख भूमिका सेनाले गरिरहेको थियो । सेनाले अहिलेसम्म पनि मधेशीलाई मूल राष्ट्रियता मान्दैन । त्यो स्पष्ट जाहेर हुन्छ । तराई मधेशका जनता ५४ प्रतिशत छन् । बोलाइनुपर्थ्यो । सोधिनुपर्थ्यो । तर, कसैलाई बोलाइएन । जेन–जीको नाममा जति देखिए उनीहरूले मधेशी शब्दलाई पहिचान गर्न पनि अस्वीकार गरे । कसैले ‘डिस्कर्ड’ मा मधेशीको प्रतिनिधित्वको कुरा गर्दा त्यहाँ मधेशी चिन्दैनौं, त्यो कुरा गर्दै नगर भनियो । जुन पहिचान संविधानले स्वीकार गरिसकेको छ, नयाँ जेन–जीले त्यसलाई पनि अस्वीकार गर्न थाले, अधिकारको त कुरै नगरौं । राजतन्त्रमा जस्तो, एउटै भाषा एउटै भेष प्राणभन्दा प्यारो छ– देखिएपछि जेन–जीबाट हामी अलिकति सजग भयौं । हामी आँखा चिम्लेर समर्थन गर्न नसकिने स्थितिमा पुग्यौं । जुन संविधानले मधेशी, महिला, सीमान्तकृतलाई अधिकार दिएको छ, त्यही संविधान फाल्न खोजियो । संघीयता फाल्ने कुरा गरेपछि हामीले कसरी आँखा चिम्लेर समर्थन गर्ने । त्यतिबेला काठमाडौंको ‘इलिट’ वर्गका जेन–जी हाबी देखिए । काठमाडौंभन्दा बाहिर पनि नेपाली जनता बस्छन् । सीमान्तकृत समुदाय छन् । त्यसको बोधै नभएका मानिसहरूको बिगबिगी देखियो । सेना र राष्ट्रपतिले सबै दललाई बोलाउनुपर्थ्यो । यो देश कांग्रेस, एमाले र माओवादीको मात्रै त होइन । त्रुटि त त्यही भयो नि ।

(more in comment)

31/12/2025

डा. सी. के. राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको ज्ञापनपत्रमा
(१) २२, ८ र ११ बुँदे सम्झौता कार्यान्वयन,
(२) मुद्दा फिर्ता र राजनीतिक बन्दी रिहाइ,
(३) सुरक्षा निकायमा मधेशी समावेशिता,
(४) प्रदेशको पूर्ण स्वायत्तता,
(५) प्रहरी प्रदेश मातहत,
(६) निर्वाचन क्षेत्र पुनर्निर्धारण र सीमाङ्कन सच्याउने,
(७) संविधान संशोधन,
(८) मधेशीमाथिको विभेद र दमन रोक्ने,
(९) अन्तरिम सरकारमा समावेशी प्रतिनिधित्व,
(१०) किसान समस्या समाधान र युवालाई रोजगारी,
(११) वैदेशिक रोजगारीमा रहेकालाई मतदान अधिकार, र
(१२) तराई–मधेशका विकास आयोजना प्रभावकारी रूपमा अघि बढाउने माग गरिएको छ।

31/12/2025
30/12/2025

Address

Madhes
Kathmandu

Alerts

Be the first to know and let us send you an email when United Youth & Student of Madhes for Change posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to United Youth & Student of Madhes for Change:

Share