15/05/2026
जनकपुरधाममा आयोजित मधेश साक्षरता कार्यक्रममा मधेश प्रदेशलाई चालु आर्थिक वर्षभित्र पूर्ण साक्षर प्रदेश घोषणा गर्ने लक्ष्यसहित गठित उच्चस्तरीय विज्ञ कार्यदलले आफ्नो प्रतिवेदन माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल समक्ष हस्तान्तरण गरेको छ।
प्रतिवेदनमा मधेश प्रदेशको साक्षरताको वर्तमान अवस्था, मुख्य चुनौतीहरू, समाधानका रणनीतिहरू तथा समयबद्ध कार्ययोजना समेटिएको छ। यसले साक्षरता अभियानलाई समुदायसँग जोडिएको, परिणाममुखी र व्यवहारिक ढंगले अघि बढाउने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।
कार्यक्रममा संघीय तथा प्रदेश सरकारका प्रतिनिधिहरू, सांसदहरू, शिक्षा क्षेत्रका विज्ञहरू, स्थानीय तह, विकास साझेदार तथा विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। छलफलका क्रममा समुदायस्तरमा जनचेतना विस्तार, विद्यालय बाहिर रहेका बालबालिका तथा युवालाई सिकाइसँग जोड्ने प्रयास, “Learning with Earning” अवधारणाको प्रवर्द्धन, अभिभावक सचेतना अभिवृद्धि तथा सामुदायिक सिकाइ केन्द्रहरूको सुदृढीकरणमा विशेष जोड दिइएको थियो।
माननीय मन्त्रीज्यूले “साक्षर मधेश, सक्षम मधेश” निर्माणका लागि शिक्षा क्षेत्रमा रूपान्तरणकारी पहल आवश्यक रहेको उल्लेख गर्दै अभियानलाई सफल बनाउन सरकार, समुदाय र साझेदार संस्थाहरूबीचको सहकार्य अझ महत्वपूर्ण हुने“ बताउनुभयो।मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री माननीय रानी कुमारी तिवारीले प्रतिवेदनले दिएका सुझाव ग्रहण गर्दै आगामी असार मसान्तभित्र मधेश प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
सेभ द चिल्ड्रेनले साक्षर मधेश अभियानको सुरुवातदेखि नै संघ, प्रदेश तथा स्थानीय तहसँग सहकार्य गर्दै आएको छ। सबै बालबालिका, युवा तथा समुदायलाई सिकाइको अवसरसँग जोड्दै समावेशी र दिगो साक्षरता प्रवर्द्धनका लागि संयुक्त प्रयासलाई निरन्तर अघि बढाइएको छ।