10/08/2025
#विश्वका उत्पीडित युवाहरू, एक होऊ!
#साम्राज्यवादलाई परास्त गरौं!
न्याय, समानता र मानव अधिकार मानव सभ्यताको मूल आधार हुन् । यिनै मूल्यका पक्षमा अडिग रहँदै अन्तर्राष्ट्रिय समाजवादी युवा सङ्घ (ILSY) संसारभर व्याप्त सबै प्रकारका विभेद, अन्याय र दमनको अन्त्यका लागि दृढ सङ्कल्पित छ । आजको युगमा मानव जातिको स्वतन्त्रता र स्वाभिमानमाथि अमेरिकी साम्राज्यवादले गरेको हस्तक्षेप, आर्थिक लुट, राजनीतिक दबाब र सांस्कृतिक वर्चस्व अत्यन्तै घातक र विनाशकारी बनेको छ । यसले केवल कुनै एउटा राष्ट्र वा क्षेत्रलाई मात्र होइन, पूरै विश्वका श्रमिक, किसान, विद्यार्थी, महिला र उत्पीडित समुदायलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पारिरहेको छ । यस्तो अवस्थामा, संसारका सम्पूर्ण सचेत र प्रगतिशील युवाहरूको एकता अब वैकल्पिक होइन, अपरिहार्य आवश्यकता हो ।
साम्राज्यवाद, पूँजीवादी शोषण र फासिवादी प्रवृत्तिको सामना गर्न अन्तर्राष्ट्रिय स्तरमा युवाको संयुक्त सङ्घर्ष नै हाम्रो विजयको मार्ग हो । हामीले सीमाना, जात, धर्म वा संस्कृतिका आधारमा होइन, वर्गीय एकता र साझा भविष्यका आधारमा सम्बन्ध निर्माण गर्नुपर्छ ।
ILSY सम्पूर्ण युवाहरूसँग अपील गर्दछ । आजको चुनौतीलाई टार्न होइन, सामना गर्न तयार होऊ । चेतना, संगठन र संघर्षका माध्यमबाट हामी नयाँ, न्यायपूर्ण र समानतामूलक समाज निर्माण गर्न सक्छौँ । हाम्रो भविष्य उज्यालो छ, तर त्यो स्वतः आउँदैन । त्यसका लागि आजैदेखि दृढ सङ्घर्षमा होमिनुपर्छ ।