13/11/2025
"सबै ठिक छ"
"सबै ठिक छ।" यी तीन शब्दहरू मेरो जीवनको सबभन्दा जटिल सत्य र सबभन्दा सुन्दर झूठ बनिसकेका छन्। यिनीहरू मेरो व्यक्तित्वको दुईवटा विपरीत ध्रुवहरूबीचको सेतो झण्डा हो - बाहिरी शान्ति र भित्री उथलपुथल बीचको सम्झौता।
हो, सबै ठिक छ। यहाँको सडकहरूमा मेरा कदमहरूले आफ्नै एक्लोपनको सङ्गीत रच्दछन्। यहाँको गल्लीहरूमा म आफ्नो छायाँसँग कुरा गर्छु। एउटा टुक्रिएको तारा आफ्नै प्रकाशमा डुबेको जस्तै यहाँको भीडभाडमा पनि म एक्लै छु, । यो नगर जसरी मेरो सपनाहरुको सहर थियो, त्यसको हरेक इँटामा अब मेरा आँसुहरू जमेका छन्। र पनि भन्दिन्छु - सबै ठिक छ!
के सुनाउने तिमीलाई? कि यहाँको सफलताको परिभाषा मेरो आत्माको टुक्राहरूसँग किनबेच भएको हो भनेर सुनाउ? कि यहाँको मित्रताहरू समयको साथ पानी जस्तो बग्छन् भनेर सुनाउ? कि यहाँको प्रेमहरू मौसमको रुखजस्ता छन् - हरियाली र रंगहरू परिवर्तन हुने गर्छ भनेर सुनाउ? कि म आफ्नै सपनाहरूको भीडमा हराएको छु भनेर सुनाउ? र पनि भनि दिन्छु -सबै ठिक छ!
बल्ल बुझ्दै छु! यहाँको जीवन एउटा अन्तहीन प्रतीक्षाको खेल रहेछ। हरेक भिसाको लागि, हरेक कागजातको लागि, हरेक अवसरको लागि हामी प्रतीक्षा गर्छौं। र यो प्रतीक्षाको प्रक्रियामा हामी आफूलाई हराउँदै जान्छौं। मलाई थाहा छैन अब म को हुँ - त्यो युवा जसले आफ्नो गाउँबाट सपनाको खोजीमा निस्केको थियो, वा यो परिपक्व व्यक्ति जसले एक्लै आफ्नै छायाँसँग बस्न सिकेको छ। त्यसैले त् भनिदिन्छु - सबै ठिक छ!
हरेक बिहान उठेर म आइनामा हेर्छु - त्यहाँ एउटा परिचित अनुहार हुन्छ, तर आँखाहरूभित्र अपरिचित थकान देखा पर्छ। त्यो थकान यस्तो थकान हो जसले मलाई सुस्त अती सुस्त गतीमा खाइरहेको छ, तर मर्न चै कहिल्यै दिदैन! यो जीवनको एउटा अजीब विरोधाभास हो - हामी धन र अवसरको खोजीमा हाम्रो आत्मालाई बेच्छौं। हो त्यहि किनबेच बिच अल्झिएको छ तिन अङ्कको शब्दको एक पुर्ण वाक्य- सबै ठिक छ!!हो! यहि हो बिदेश! यहि हो परदेश
तर फेरि, जब पनि म बन्द आँखाले सम्झन्छु - त्यो घरको आँगनमा खेल्ने बालकलाई, त्यो आमाको मुस्कानलाई, त्यो बाबुको गर्विलो हेराइलाई - मलाई लाग्छ सबै कुरा सार्थक छ। तिमीहरूको सपनाहरू पूरा गर्ने प्रतिज्ञाले मलाई टुट्न पनि दिदैन!! त्यसैले त् मुसुक्क मुस्कुराउदै भनिदिन्छु - सबै ठिक छ!
केही रातहरू ओल्लो पल्लो कोल्टे फेर्दा फेर्दै बिहानि हुन्छ, म निदाउन सक्दिन! केवल बिस्तारामा पल्टिएर तिमीहरूको बारेमा सोच्छु। तिमीहरूले पठाएका फोटोहरू मेरो कोठाको भित्तामा टाँसिएका छन्। तिनीहरू मेरा सबैभन्दा बहुमुल्य सम्पत्तिहरू हुन्। हरेक फोटोमा तिमीहरूको मुस्कान मेरो लागि एउटा प्रार्थनाको रूपमा परिणत भएको छ। हो यसै कारण पनि म थिचोल्दिन्छु ति मेरा बेचैन मनलाई र भनि दिन्छु - सबै ठिक छ!!
यसो सोच्छु - होइन, यी कुरा सुनाउने होइन। यी सत्यहरू तिम्रो हृदयमा काँडा झैं गाडिने छन्। यी वास्तविकताहरूले तिम्रो निद्रालाई डरलाग्दा सपनाहरूले भरिदिनेछन्। त्यसैले त म आफूभित्रका सबै चीत्कारहरूलाई मुस्कानको मखमली थैलोमा बन्द गर्दछु। अनि मुसुक्क हाँस्दै भनिदिन्छु "सबै ठिक छ।"
तिमीहरूले सोध्छौ - "खानामा के खायौ?" म भन्छु - "राम्रो खान्छु।" साँच्चिकै भन्नु पर्दा, धेरै दिन त म भोकै सुतेको छु।कामबाट फर्के पछी लखतरान भएको शरीरले खाना बनाउन साथ दिदैन!खाना नखाई कतिखेर ओछ्यान भेटौं भन्ने भएको शरीरलाई बिश्राम दिन्छु। नयाँ ठाउँमा राम्रो खाना पाउनु र राम्रो सँग आराम गर्न पाउनु पनि एउटा चुनौती नै हो रहेछ! र पनि मुसुक्क हाँस्दै भनिदिन्छु "सबै ठिक छ।"
तिमीहरूले सोध्छौ - "साथीहरू छन्?" म भन्छु - "धेरै छन्।" साँच्चिकै भन्नु पर्दा, यहाँ सबै मित्रताहरू सतही छन्। कसैले कसैलाई साँच्चिकै चिन्दैन।
तिमीहरूले सोध्छौ - "काम कस्तो छ?" म भन्छु - "राम्रो छ।" साँच्चिकै भन्नु पर्दा, हरेक दिन म आफूलाई अपमानित महसुस गर्छु। तर के गर्न सक्छु? यो त मेरो आफ्नै छनोट हो। मनमा पिडाबोध जे सुकै भए पनि भनि दिन्छु - सबै ठिक छ!
कम्तिमा दिनको एक पटक बेलुकी घरमा फोन गर्दा आमाको स्वर सुनिन्छ - "छोरा, कस्तो छस?" मैले आफ्नो आवाजलाई सादाहरण बनाउदै भन्ने गर्छु- "सबै ठिक छ, आमा।" उनले सुन्छिन र भन्छिन खाना खायौ त?
भोकै भए पनि - अँ खाए भनेर झुट बोल्छु!
आमा भन्छिन- "ए ल ल "ठिक छ भने ठिक छ" नि त्।
मोबाइल राम्रो सँग चलाउन नजान्ने मेरी आमाले छोराले कति खेर कल गर्ला र बोलौला भनेर मोबाइल हातमै राखेर बसेकी हुन्छिन अनि बुढीमाउ लाई कसरी यहाँको बिजोग सुनाउ? त्यसैले भनिदिन्छु - सबै ठिक छ।
आमाको आवाज सुनेपछि मेरो बन्द कोठामा पनि घरको सुगन्ध आइपुग्छ। उनको आवाजमा त्यो न्यानोपन हुन्छ जसको लागि म यो सबै सहिरहेको छु। उनको आशीर्वाद नै मेरो सबैभन्दा ठूलो सम्पत्ति हो। उनलाई कसरी निरास बनाउ? मान्दैन! अँहँ मनले मान्दै मान्दैन।
र त् भनि दिन्छु - सबै ठिक छ!
फोन राखेपछि एउटा लामो, गहिरो पिडाले मलाई निल्छ। त्यो पिडामा मेरा सबै त्यागहरू, सबै सम्झनाहरू, सबै आशाहरू र सबै निराशाहरू समेटिएका हुन्छन। यो पिडा मेरो प्रार्थनाको रूपमा परिणत हुन्छ - एउटा अन्धविश्वासीको प्रार्थनाजस्तो जसले आफूले नपाएको कुराको लागि, लागी परी रहेको छ।
हरेक दिन,हप्ता र महिना बित्दै जाँदा, मलाई थाहा हुँदैछ - म तिमीहरूको जीवनबाट हराइरहेको छु। तिमीहरूको हाँसोको कथाहरू फोनमा मात्र सुनिन्छन्। तिमीहरूको दुःखहरूमा म साथ दिन सक्दिन। तिमीहरूको सफलताहरूमा म उपस्थित हुन सक्दिन।
यो समयको सबभन्दा क्रुर सत्य हो - जब हामी परदेशमा हुन्छौं, हामी आफ्नै परिवारको जीवनबाट बहिष्कृत हुन्छौं। हामी दर्शक मात्र बन्छौं, सहभागी हैन। हरेक समारोहमा, हरेक उत्सवमा, हाम्रो अनुपस्थितिले एउटा खाली ठाउँ छोड्छ। र पनि भन्नु पर्छ - सबै ठिक छ!!
तर के गर्न सक्छु? यो मेरो आफ्नै छनोट थियो। र हरेक दिन म सोच्दछु - के मैले सही निर्णय गरेको थिए र? के यो सबै कुरा उचित भै रहेको छ?
तर फेरि, जब म तिमीहरूको भविष्यको बारेमा सोच्छु - तिमीहरूको राम्रो शिक्षा, तिमीहरूको स्वास्थ्य, तिमीहरूको सुख - मलाई लाग्छ यो सबै पिडा मेरो लागी योग्य छ। मेरो वर्तमान पीडा तिमीहरूको भविष्यको लागि एउटा बलिदान हो। र यो बलिदान म गर्वले तिमीहरुको नाममा दिँदैछु। त्यसैले भन्छु - सबै ठिक छ!
हो, सबै ठिक छ। झूठ सुनाउने र आँसु लुकाउने यो जीवन पनि त् ठिक नै छ। किनभने तिमीहरूको खुशी नै मेरो सबभन्दा ठूलो उपलब्धि हो। तिमीहरूको चिन्ता नै मेरो सबभन्दा ठूलो पीडा हो।
त्यसैले कुर्दै छु अब फेरि भोली हुने
अर्को फोनका लागी... र तयार पनि छु फेरि भन्न - "सबै ठिक छ।"
परदेशको यो जीवन एउटा लामो प्रतीक्षा हो जसमा म आफैँसँगको युद्ध लडिरहेको छु। तर तिमीहरूको लागि, म सधैँ विजेता हुने छु। किनभने तिमीहरू नै मेरो असल संसार हौ।
म जस्तो सुकै परीस्थीतिमा जहाँसुकै पनि हौ, तिमीहरूको सम्झनाले नै मलाई जिउनको लागि शक्ति दिन्छ। र म जान्दछु - एक दिन म तिमीहरूसँग भेट्नेछु, र त्यो दिन म साँच्चिकै भन्न सक्ने छु "सबै ठिक छ" ।
"सबै ठिक छ" - यो मेरो मन्त्र हो, मेरो प्रार्थना हो, मेरो बलिदान हो। र जब सम्म म जिउँछु, यो झूठ जिउँदो रहनेछ। किनभने कहिलेकाहीं, झूठ नै सबभन्दा राम्रो सत्य हुन्छ। र प्रेम नै सबभन्दा ठूलो सत्य हो। त्यसैले फेरी पनि भन्दै छु - सबै ठिक छ! सबै ठिक छ!!
©️Warren