21/09/2026
राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकनका लागि PAN का सुझाव पेश
प्रधानाध्यापक संघ नेपाल (PAN) द्वारा स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्र तहसम्म व्यापक छलफल तथा सुझाव संकलन गरी तयार गरिएको राष्ट्रिय पाठ्यक्रम प्रारूपसम्बन्धी लिखित सुझाव आज PAN का वरिष्ठ उपाध्यक्ष श्री हेमराज कँडेलज्यू तथा PAN को टोलीद्वारा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक श्री महेन्द्र पराजुलीज्यू तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलसमक्ष औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
उक्त अवसरमा PAN का केन्द्रीय अध्यक्ष श्री सुदाम प्रसाद गौतमज्यूले करिब ३० जना PAN प्रतिनिधि, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल तथा पाठ्यक्रम विकास केन्द्रका निर्देशकज्यूहरू लगायतको उपस्थितिमा PAN का सुझावहरू प्रस्तुत गर्दै त्यसका प्रमुख विषयवस्तु, औचित्य र विद्यालय तहका आवश्यकताबारे स्पष्ट पार्नुभएको थियो।
PAN ले विद्यालय तहको वर्तमान आवश्यकता तथा भविष्यको शिक्षालाई सम्बोधन गर्ने जीवनोपयोगी, सीपमूलक, विद्यार्थीकेन्द्रित, प्रविधिमैत्री तथा AI मैत्री शिक्षालाई प्राथमिकतामा राख्दै पाठ्यक्रम सुधारका लागि सुझाव प्रस्तुत गरेको हो।
यस चरणमा अन्य विषय तथा अन्य सरोकारवालाहरूबाट यसअघि नै प्राप्त भइसकेका सुझावहरू यस दस्तावेजमा समावेश गरिएको छैन। प्रस्तुत दस्तावेज PAN को आफ्नै प्रक्रिया, व्यापक छलफल तथा विद्यालय नेतृत्वबाट प्राप्त सुझावमा आधारित रहेको छ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक श्री महेन्द्र पराजुलीज्यूले PAN ले विद्यालय तहसम्म पुगेर व्यापक छलफल गरी सुझाव प्रस्तुत गरेको पहलको प्रशंसा गर्नुभयो। साथै, PAN स्वयं राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलको महत्त्वपूर्ण सदस्यसमेत रहेकों सन्दर्भमा आगामी पाठ्यक्रम परिमार्जन प्रक्रियामा PAN को भूमिका अझ प्रभावकारी र महत्त्वपूर्ण हुने अपेक्षा गरिएको बताउनु भयो!
कार्यक्रममा विभिन्न क्षेत्रका पाठ्यक्रमविद्, शिक्षाविद्, कार्यदलका सदस्य तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
Leading - Linking - Learning