07/05/2026
मातृभाषाका कवि गोष्ठी
आज मिति २०८ ३ वैशाख २४ गते मातृ भाषा कवि गोष्ठी सम्पन्न भयाे ।
भाषा केवल संवादको माध्यम मात्र होइन, सभ्यता, संस्कृति र पहिचानको जीवन्त धरोहर पनि हो। यही भावलाई आत्मसात गर्दै वर्तमान कविता समूह र रातोघर फाउन्डेसनको संयुक्त आयोजनामा भाषा दिवसको अवसर पारेर मातृभाषा कविता गोष्ठी सम्पन्न भयो। कार्यक्रममा नेपाली, नेपाल भाषा र तामाङ भाषासहित विभिन्न मातृभाषाका कविहरूले आफ्ना सिर्जनामार्फत समाज, समय, संस्कृति र मानवीय संवेदनाका विविध आयाम प्रस्तुत गरे।
कार्यक्रमको प्रारम्भ हालै दिवंगत भएका नेपाल भाषाका कवि, निबन्धकार, पत्रकार तथा भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर तथा प्रसिद्ध साहित्यकार पारिजात को स्मरण गर्दै गरिएको थियो। कार्यक्रममा बागमती प्रदेशभित्र बोलिने मातृभाषामध्ये नेपालीसँगै नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिइएको प्रसंग उल्लेख गर्दै सबै भाषाको संरक्षण, प्रवर्द्धन र सम्मान आवश्यक रहेको कुरामा जोड दिइयो।
कवि राजेन्द्र शलभ ले “किताब र नाता” शीर्षकको कविता वाचन गर्दै मानिस र सम्बन्धबीचको संवेदनशील सम्बन्धलाई सरल तर गहिरो ढंगले प्रस्तुत गरे। भीष्म उप्रेती को “आगो” कविताले समसामयिक समयको बेचैनी र तापलाई मुखरित गरेको थियो। अनुवादक रश्मी शर्मा ले आफूले हिन्दीमा अनुवाद गरेको पुस्तक उजालेके संग बाट स्नेह सायमी को “कठपुतली” तथा राजेन्द्र शलभको “माँ” शीर्षकका कविता वाचन गरिन्।
स्नेह सायमीले नेपाल भाषामा “आश याय्” कविता सुनाउँदै त्यसको नेपाली रूपान्तरण “आशा गरौं” मार्फत राजनीतिमाथि तीखो व्यङ्ग्य प्रहार गरे। लक्ष्मी माली ले “व दुकाय त्योम्हः मखु” कविता नेपाल भाषा र नेपाली अनुवादसहित प्रस्तुत गर्दै मातृभाषाको सौन्दर्य उजागर गरिन्।
त्यसैगरी रमी प्रिया को “सिन्हाज्या म्ये” ले उपत्यकाको जमिनमाथि भइरहेको अतिक्रमणप्रति गहिरो चोट व्यक्त गर्यो। प्रोल्लास सिन्धुलीय को “शहरको वृद्धालय” ले वृद्धावस्था, एक्लोपन र परिवारको मनोविज्ञानलाई मिहिन ढंगले केल्यायो भने प्रमोद स्नेही को “हातमा मलुवा” ले वर्तमान समाजको उदाङ्गो यथार्थ प्रस्तुत गर्यो।
विश्व सिग्देल ले “वृक्षरेखा पूर्णविराम थियो” शीर्षकको पर्यावरणीय कविता वाचन गर्दै जलवायु परिवर्तनले निम्त्याइरहेको संकटलाई उजागर गरे। ईश्वर थोकर ले तामाङ भाषामा “राला मिनरि” कविता सुनाए भने अनिता लामा ले नेपाल भाषामा “अथें अथें” कविता वाचन गर्दै नेवा संस्कृतिको सुन्दर सन्देश प्रवाह गरिन्।
सुरेश गाउँले ले “मुकुण्डो” कविता वाचन गरे। सुनिता खनाल को “पातमा प्रेम” कोमल प्रेमभावले भरिएको थियो भने केवल बिनाबी को “जिन्दगीले पिएका जिन्दगीहरू” ले वर्तमान जीवनको कठोर यथार्थलाई उजागर गर्यो।
कार्यक्रमको सञ्चालन रातोघर फाउन्डेसनकी महासचिव अनिता लामाले आत्मीय र सजीव शैलीमा गरेकी थिइन्। उनले विभिन्न मातृभाषाका कविताहरूलाई सुन्दर ढंगले जोड्दै कार्यक्रमलाई अझ भावपूर्ण बनाएकी थिइन्।
कार्यक्रमको अन्त्यमा वरिष्ठ कवि स्नेह सायमीले छोटो समयमै निम्तो स्वीकार गरी कविता वाचनमा सहभागी भएका सम्पूर्ण कविहरूप्रति आभार व्यक्त गर्दै प्रतिरोध र प्रतिपक्षको चेतना जीवित राख्न यस्ता कविता गोष्ठीहरू आवश्यक रहेको बताए। उनले पञ्चायतकालमा हुने साहित्य सन्ध्या र प्रतिभा प्रवाहजस्ता साहित्यिक गतिविधिको स्मरण गर्दै साहित्यिक ऊर्जाको निरन्तरतामाथि जोड दिए। साथै उनले सुरेश किरण मानन्धरले नेपालका मातृभाषाको संरक्षण र प्रवर्द्धनमा पुर्याएको योगदानको भावपूर्ण स्मरण गरे।
मातृभाषाका विविध स्वरहरूले सजिएको उक्त कविता गोष्ठीले भाषा केवल शब्द होइन, पहिचान, स्मृति र आत्माको उज्यालो हो भन्ने अनुभूति उपस्थित सबैलाई गराएको थियो।