03/06/2026
पुरुषोत्तम मास धार्मिक मेलामा गार्डियन माइक्रो लाइफको सामाजिक उत्तरदायित्वको उदाहरण
काठमाडौँ, चन्द्रागिरि:
नेपाली समाजमा धर्म, संस्कृति र चाडपर्वहरूको विशेष महत्व रहँदै आएको छ। हालै चन्द्रागिरि नगरपालिका वडा नं. ९ स्थित मत्स्यनारायण मन्दिरमा आयोजित "पुरुषोत्तम मास धार्मिक मेला" मा दर्शनार्थीहरूको सुविधा र आरामका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्रशंसनीय सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेको छ।
संस्थाले जेठको चर्को गर्मीमा दर्शनार्थीहरूको तिर्खा मेटाउन नि:शुल्क स्वच्छ खानेपानी वितरण शिविर स्थापना गरेको छ। विशेषत: वाटर डिस्पेन्सरमार्फत पानी वितरण हुँदा प्लास्टिक बोटल वा कप प्रयोग नगरी वातावरणमैत्री सेवा सुनिश्चित गरिएको छ।
कार्यक्रमले दर्शनार्थीहरूलाई मात्र राहत दिएको छैन, मेला व्यवस्थापनमा अहोरात्र खटिरहेका करिब २०० जना स्वयम् सेवकहरूलाई पनि भोजनका लागि आवश्यक सामग्री प्रदान गरिएको छ।
मेला व्यवस्थापन समितिका संयोजक एवं वडा अध्यक्ष अच्युत अधिकारीले निजी क्षेत्रको यस कदमको खुलेर प्रशंसा गर्दै भने, "मेलामा खानेपानीको व्यवस्था एकदमै चुनौतीपूर्ण हुन्छ। यस प्रकारको सामाजिक उत्तरदायित्व अन्तर्गतको पहल अत्यन्तै सराहनीय छ। अन्य संस्थाहरूले पनि यस्तै सांस्कृतिक र सामाजिक कार्यमा सहभागी हुनु आवश्यक छ।"
स्थानीय बासिन्दा र स्वयम् सेवकहरू हरेक दिन मन्दिर परिसरको सरसफाईमा सक्रिय सहभागी भइरहेका छन्।
फोटो साभार: सत्य श्रेष्ठको फेसबुक