24/08/2024
जलन सम्बन्धि जानकारी
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बर्षेनी कम्तीमा ५६,००० नेपालीले जलनको समस्या झेल्नु परेको र २१०० जना भन्दा बढीले त ज्यानै गुमाउनु पर्ने अवस्था छ l यो समस्या नेपालको मात्रै नभएर सम्पूर्ण निम्न तथा मध्यम आय भएका सबै देशको र विशेष गरी दक्षिण-पूर्व एशियाकै ठूलो समस्याको रुपमा देखिएको छ l जलनको समस्यामा आगोले पोल्ने, तातो झोल पदार्थले पोल्ने, करेन्ट लाग्ने, विभिन्न रसायन जस्तै अम्ल (एसिड) तथा क्षlर (अल्काली)ले पोल्ने पनि पर्दछन् l जलनको उपचार धेरै समय लाग्ने र खर्चिलो पनि छ तर हामी यहाँको सक्दो राम्रो उपचारको लागि कटिबद्ध छौं l
तपाईले जलनको प्राथमिक उपचार गर्नु भयो?
जिउमा आगो लागेको खण्डमा पहिले सुरक्षित स्थानमा जानुहोस् अनि आफ्नो जिउको आगो निभाउनु होस् l जिउको आगो निभाउन stop (आतिएर नदौडी टक्क अडिने) , drop (भुइँमा लेट्ने), roll (अनि लडिबुडी गर्ने) गर्नु पर्छ l यति गर्दा पनि आगो ननिभेमा बाक्लो कम्बल वा कपडाले छोपेर आगो निभाउनु पर्छ l
आगो निभाइसके पछि पोलेको भागलाई पोलेको ३ घण्टा भित्र वा सकेसम्म छिटै बगिरहेको ठण्डा पानीमा राख्नुपर्छ l यसो गर्दा पानीले तातोपना सोसेर घाउलाई थप गहिरो हुन दिंदैन l रासायनिक जलनमा अझै लामो समय (कहिलेकाही त केही घण्टा सम्मै) पानीले धुन पर्ने हुन्छ l पोलेको घाउमा वरफ राख्दा अझै हानी हुनसक्छ l त्यसै गरी गोलभेंडा, बेसार, घिउकुमारी, गोबर, दन्तमंजन, नौनी ईत्यादी पनि राख्नु हुँदैन l
पोलेको भाग चिस्याई सके पछि अस्पताल नजिक भए खाली पेटमा नै घाउलाई सफा कपडा वा प्लास्टिकले छोपेर केही नलगाई अस्पताल जानुपर्छ भने अस्पताल पुग्न केहि घण्टा लाग्ने भए बाटोमा जीवनजल वा पानी खाँदै जानुपर्छ अनि घाउलाई पनि सिल्भर सल्फाडायजिन वा नियोमाइसिनजस्ता मलम लगाएर सफा कपडा वा प्लास्टिकले छोपेर अस्पताल जानुपर्छ l पोल्दा लडेर वा खसेर अन्य चोट लागेको भए सो को जानकारी हुनु/गराउनु जरुरी छ l
अस्पतालमा हुने उपचार
पोलिएर आएका बिरामीलाई ईमरजेन्सीमा चिकित्सकले हेरेर कति गहिरो र कति क्षेत्रफलमा फैलिएको भनी निर्क्यौल गर्दछन् l यसैले नै जलनको गम्भीरता निर्धारण गर्छ l जस्तो कि छालाको सतह मात्र जलेमा सतही जलन भनिन्छ जसमा घाउ हेर्दा रातो हुन्छ, धेरै दुख्छ, र यस्तो घाउ अपरेसन नगरी ड्रेसिंग मात्रले निको हुन्छ l जलेको घाउमा पानीको फोका ठुला भएमा सतही जलन र ससाना भएमा गहिरो जलन भनेर बुझ्नुपर्छ l गहिरो जलनमा छालाको पुरै वा धेरै जसो तह जल्छ; यस्तो घाउ हेर्दा सेतो वा डढेको कालो हुन्छ भने धेरै वा कत्ति पनि नदुख्न सक्छ l गहिरो जलनको घाउलाई अपरेसन गरेर मरेको छाला फ्याँके पछि अरु ठाउँको छाला प्रत्यारोपण गरेपछि मात्र निको हुन्छ l
यसै गरी शरीरको जम्मा क्षेत्रफलको कति प्रतिशत जलेकोछ त्यसले पनि जलनको गम्भीरता हेर्न सकिन्छ l वयष्कमा जिउको २० % र बालबच्चा र बृद्धबृद्धामा १०% भन्दा बढी जलेमा त्यसलाई गम्भीर जलन भनिन्छ किनकी यो अवस्थामा पोलेको ठाउँमा मात्र हैन जिउभरी (अन्य अंग जस्तो फोक्सो, मुटु, आन्द्रा) नै असर पर्छ l गम्भीर जलन भएको मान्छेलाई अस्पतालमा अनिवार्य भर्ना गर्नुपर्छ किनकी उसलाई नशाबाट सलाइन दिनुपर्छ अनि पिसाबको मात्र पनि हेर्नुपर्छ l त्यसै गरी मुखबाट खाएको खाना पनि नपुग्ने हुँदा नाकबाट पाइप हालेर खानेकुरा परिपूर्ति गर्नुपर्ने हुन्छ l सो भन्दा कम पोलेमा सामान्य जलन भनिन्छ र माथि भनेको कुनै पनि कुराको जरुरत हुँदैन l तर सामान्य जलनमा पनि निम्न कुराहरु भएमा भर्ना गरेरै उपचार गर्नुपर्ने हुन्छ l
१) नाक, मुख, स्वासनली र फोक्सोमा जलन भएमा- यस्ता बिरामीहरुलाई स्वासनली सुन्निएर स्वास फेर्न गार्हो हुने, विषालु ग्याँस रगतमा घुलेर रगतमा अक्सिजनको मात्र नपुग्ने जस्तो समस्या हुने र निमोनिया तथा मृत्युको अत्यन्तै धेरै सम्भावना हुने हुँदा भर्ना गरेर सघन कक्षमा राखेर कहिलेकहिँ कृत्रिम रूपमा यन्त्रबाट स्वासप्रस्वास गराउनुपर्छ l स्वासनली धेरै सुन्निएमा प्वाल परेर त्यतैबाट स्वास फेराउनु पर्छ l
२) हात वा जोर्नीमा पोलिएमा l
३) जनेन्द्रियमा पोलिएमा l
४) करेण्ट लागेकोमा- बिजुलीको प्रवाहले मुटुको चालमा असर गर्ने हुँदा ईसीजी गर्नुपर्छ भने कम्तिमा २४ घण्टा मुटुको चालको सुपरीवेक्षण गर्नुपर्छ l यसै गरी रगतमा मुटुको मांसपेशीबाट निस्किने ईन्जाइम (Troponin, Creatine Kinase, CK) हेर्दा पनि मुटुमा असर परे नपरेको हेर्न सकिन्छ l त्यसै गरी अन्य भागको मांसपेशीबाट निस्किने मायोग्लोबिन भन्ने तत्व पिसाबबाट निस्किने क्रममा मृगौलामा जम्मा भएर मिर्गौला फेल गराउन पनि सक्छ l यसको लागि बिरामीलाई धेरै सलाइन दिएर धेरै पिसाब (२ मिलि/किलो तौल/घण्टा) गराउनुपर्छ l
५) रासायनिक जलन- यी बिरामीको पनि विशेष खालको उपचार चाहिने भएकोले भर्ना गर्नुपर्छ l
६) अन्य रोग भएको – मधुमेह, उच्च रक्तचाप, मुटुको रोग वा अन्य कुनै असाध्य रोग का साथै अन्य चोटपटक लागेको खण्डमा पनि बिरामीलाई भर्ना गरिन्छ l
७) आत्महत्या वा घरेलु हिंसाको शंका भएमा- यस्ता बिरामीलाई भर्ना गरेर मनोवैज्ञानिक र कानूनी सहायता दिनुपर्ने हुन्छ l
छालादान/ छाला बैंक
गहिरो पोलेको बिरामीको डढेको छाला निकालेर अर्को छाला प्रत्यारोपण गर्नु नै बिरामीलाई बचाउने एउटा मात्र उपाय हो l कुनै बिरामीको ३०% भन्दा बढी जलन भएको खण्डमा आफ्नो छालाले खाली ठाउँ छोप्न पुग्दैन l यस्तो अवस्थामा छाला बैंकमा उपलब्ध छाला वा आफन्तले दान गरेको छाला लगाएर घाउ छोप्नुपर्छ l
मृत्यु पश्चात १६ वर्ष माथिको जोसुकैले पनि छालादान गर्न सक्छन् l यसको लागि पहिले नै मंजुरिनामा पत्र भर्नुपर्छ l मृत्यु पछि नातेदारले खबर गरेपछि नजिकैको अस्पतालको छाला बैंकका तालिम प्राप्त कर्मचारी छाला निकाल्नको लागि आउँछन् l छालादान सामान्यत ६ घण्टा भित्र र शरीर फ्रिजभित्र राखेको खण्डमा २४ घण्टा सम्म निकाल्न सकिन्छ l छाला प्रत्यारोपण गर्दा रगत समुह मिल्न जरुरी छैन l एक पल्ट निकालेको छाला ५ वर्षसम्म बैंकमा भण्डारण गरेर राख्न सकिन्छ l थप- जानकारीका लाई Easy Healthcare Foundation मा call गरि जानकारी लिगन् सक्नुहुनेछ।