12/09/2026
आमा गएदेखि कोही एक्लो भएको देखेँ भने,
मलाई आफ्नै बुबाको याद आउँछ।
बुबालाई हेरेर आज जीवन बुझ्ने प्रयास गर्दैछु,
जीवन जिउनलाई जीवनसाथीको साथ कति आवश्यक रहेछ भनेर।
सानो हुँदा त्यही आँगनमा
छोराछोरीको हाँसो र खेलले घर भरिएको थियो।
आज छोराछोरी सबै आ–आफ्नो भविष्य खोज्दै
आ–आफ्नो गन्तव्यतिर लागेका छन्।
बुबा भने त्यही घरमा, आमाको सम्झना बोकेर एक्लै हुनुहुन्छ। नत कसैलाइ आफ्नो लागि रोक्नै सक्नुभयो।
हिजोसम्म आमाले पकाएर दिएको खाना
तयारै भेट्ने बुबा…
आज आफ्नै हातले खाना पकाएर
एक्लै खानु पर्दा आमालाई कति सम्झनुहुन्छ होला?
त्यो भान्सामा आज चुल्हो बल्छ,कि बल्दैन
थाहा छैन। भोकै सुत्नु होला या खाएर थाहा छैन।
तर “आऊ, खाना खाऊ” भनेर मायाले बोलाउने आमाको आवाज छैन थाहा छ।
आमाले मायाले खाना पकाएर बोलाएको
त्यो सामान्यजस्तो लाग्ने दिन नै
तपाईंको खुशीको अन्तिम दिन थियो सायद ,
म भविष्य खोज्दै परदेशमा छु, बुबा…
तर कहिलेकाहीँ आफ्नै हातले खाना पकाएर खाँदा
तपाईंको सम्झना आउँछ।
अनि सोच्न थाल्छु,
म यहाँ आफ्नो भविष्य बनाउँदै गर्दा,
तपाईं त्यहाँ आमाको अभावसँगै
कति एक्लो भएर दिन काटिरहनुभएको होला?
आमा गुमाएपछि तपाईंले केवल जीवनसाथी गुमाउनुभएन,
आफ्नो जीवनको एउटा ठूलो हिस्सा गुमाउनुभयो।
बुबा, तपाईंको त्यो मौनता
अब म टाढैबाट भए पनि बुझ्न थालेको छु।