13/09/2026
मानवसेवा नै माधवसेवा हो भन्ने भगवान् श्री सत्य साई बाबाको सन्देश आत्मसात् गर्ने श्री सत्य साई सेवा सङ्गठन नेपालले आपद्विपद्मा परेकालाई तुरुन्तै सेवा गर्ने गरेको छ । आर्थिक रूपमा कमजोर एक जना महिला प्रसव व्यथा लागेर अस्पताल पुग्दा रकम अभावले भर्ना हुन नसकी सडक पेटीमै शिशुको जन्म दिएको पीडादायी खबर सुन्नेबित्तिकै सङ्गठनका केही सेवादल उहाँलाई खोज्दै राजविराज पुगे । श्री सत्य साई प्रदेश समिति १ख–को अग्रसरता पुगेको उक्त सेवादलको टोलीले सुत्केरी महिला बबिता पासवानको बासस्थान पर्साही वडा नं. १४ पुरानो टोल, राजविराज रहेको पत्ता लगायो । सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँको थप उपचारमा लाग्ने खर्च सङ्गठनले बेहोर्न अग्रसरता देखाउँदा हाल उहाँको उपचार गजेन्द्र नारायण अस्पतालमा निःशुल्क रूपमा भइरहेको जानकारी भयो।
उहाँको घरको स्थलगत अनुगमन गर्दा आर्थिक अवस्था निकै दयनीय भएको र ओड्ने ओछ्याउने कपडासमेत नभएको पाइयो । तत्पश्चात् चामल, दाल, तेल, साबुन, चना, सोयाबिन, घिउ, हर्लिक्स, सुजी, चिनीजस्ता केही महिना पुग्ने खाद्यान्न र दैनिक प्रयोगमा आउने वस्तुहरू राहतस्वरूप तुरुन्तै उहाँहरूलाई प्रदान गरियो । त्यसैगरी सिरक, डसना, तन्ना, सिरानी, सुत्केरीका लागि साडी, शिशुका लागि कपडा, झुल, कम्बल, शिशुका लागि कम्बलजस्ता सामग्री पनि प्रदान गरियो ।
साथै, सङ्गठनले उहाँहरूका १ जना छोरीलाई श्री सत्य साई विद्याश्रम पोखरामा निःशुल्क पढाउने व्यवस्था गरेको छ ।