18/09/2026
✨प्रेस विज्ञप्ति🌈
तेस्रोलिंगी व्यक्तिमाथि भएको हिंसात्मक आक्रमणको तत्काल छानबिन तथा दोषीमाथि कारबाहीको माग
ललितपुर, २०८३ असोज १
माया को पहिचान नेपाल ललितपुरको बालकुमारीस्थित नमस्ते पेट्रोलपम्प नजिक मिति २०८३ असोज १ गते साँझ करिब ९ बजे तेस्रोलिंगी व्यक्तिहरूमाथि भएको भनिएको हिंसात्मक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्राप्त जानकारीअनुसार साथीको जन्मदिन मनाएर कोठातर्फ फर्किरहेका तेस्रोलिंगी व्यक्तिहरूमाथि बालकुमारी पुलमुनि मादक पदार्थ सेवन गरेका युवाहरूको समूहले लौरो तथा पाइपलगायतका वस्तु प्रयोग गरी सामूहिक रूपमा कुटपिट गरेको बताइएको छ। पीडितहरूका अनुसार घटनाका क्रममा प्रहरी अधिकारीहरू घटनास्थलमै उपस्थित भए पनि तत्काल सुरक्षा प्रदान नगरेको, उल्टै आक्रमणकारीलाई प्रोत्साहन गरेको र घटनाको भिडियो खिचिरहेको मोबाइलसमेत फालिदिएको आरोप छ।
यदि यी आरोपहरू सत्य प्रमाणित भएमा, यो केवल व्यक्तिमाथिको आपराधिक आक्रमण मात्र नभई कानुन कार्यान्वयन गर्ने निकायप्रतिको जनविश्वास र राज्यको नागरिक सुरक्षासम्बन्धी दायित्वमाथि गम्भीर प्रश्न उठाउने विषय हो।
पीडितहरूले आफूहरूमाथि आक्रमण भइरहँदा ज्यान जोगाउन खोलामा समेत झर्नुपरेको बताएका छन्। उनीहरूका अनुसार प्रहरीलाई पटक–पटक सम्पर्क गर्दा पनि अपेक्षित सुरक्षा तथा सहयोग प्राप्त भएन। यस प्रकारको व्यवहारले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूमा राज्यबाटै सुरक्षा नपाइने गम्भीर भय सिर्जना गर्न सक्छ।
माया को पहिचान नेपाल स्पष्ट रूपमा जोड दिन चाहन्छ कि कुनै व्यक्तिको लैंगिक पहिचान वा यौनिक अभिमुखीकरणका आधारमा हुने हिंसा, अपमान, विभेद वा बहिष्करण कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन। समुदायका कुनै व्यक्तिको व्यक्तिगत व्यवहार वा गल्तीलाई आधार बनाएर समग्र तेस्रोलिंगी तथा LGBTIQA+ समुदायलाई अपराधीकरण गर्ने, अपमानित गर्ने वा हिंसाको निशाना बनाउने प्रवृत्ति तत्काल अन्त्य हुनुपर्छ।
यस घटनाले विगतमा काठमाडौंका सोह्रखुट्टे, बालाजु, महाराजगञ्ज, चावहिल, कोटेश्वर, कलंकीलगायत विभिन्न स्थानमा तेस्रोलिंगी व्यक्तिहरूमाथि भएका हिंसाका घटनाहरू तथा सुनसरीको इटहरीमा सार्वजनिक रूपमा उठेका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायसम्बन्धी सुरक्षा र मानवअधिकारका सवाललाई समेत पुनः स्मरण गराएको छ।
हाम्रो माग
माया को पहिचान नेपाल निम्न मागहरू तत्काल सम्बोधन गर्न सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदछ:
1. बालकुमारी घटनाको निष्पक्ष, स्वतन्त्र र तत्काल छानबिन गरियोस्।
2. घटनामा संलग्न भएको प्रमाणित हुने सबै व्यक्तिलाई प्रचलित कानुनबमोजिम तत्काल कानुनी कारबाही गरियोस्।
3. घटनास्थलमा उपस्थित प्रहरी अधिकारीहरूको भूमिका, व्यवहार तथा पीडितलाई सुरक्षा प्रदान नगरेको सम्बन्धमा स्वतन्त्र छानबिन गरी दोषी देखिएमा विभागीय तथा कानुनी कारबाही गरियोस्।
4. घटनाको CCTV फुटेज, भिडियो तथा अन्य प्रमाणहरू सुरक्षित गरी निष्पक्ष अनुसन्धानको आधार बनाइयोस्।
5. पीडितहरूको सुरक्षा, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग तथा न्यायमा पहुँच सुनिश्चित गरियोस्।
6. तेस्रोलिंगी तथा LGBTIQA+ समुदायमाथि हुने हिंसा र विभेदलाई रोक्न सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायमा लैंगिक तथा यौनिक विविधतासम्बन्धी संवेदनशीलता र मानवअधिकारसम्बन्धी प्रभावकारी तालिम सुनिश्चित गरियोस्।
7. यस्ता घटनामा प्रहरी तथा राज्यका अन्य निकायबाट पीडितलाई नै थप अपमान वा जोखिममा पार्ने व्यवहार हुन नदिन स्पष्ट जवाफदेहिता र अनुगमन प्रणाली विकास गरियोस्।
माया को पहिचान नेपाल यस घटनाको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, गृह मन्त्रालय, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, ललितपुर तथा अन्य सम्बन्धित सरकारी तथा मानवअधिकार निकायहरूलाई तत्काल आवश्यक छानबिन, पीडितको सुरक्षा तथा न्याय सुनिश्चित गर्न गम्भीर अनुरोध गर्दछ।
रक्षक नै पीडक वा हिंसाको मौन दर्शक बन्ने अवस्था कुनै पनि लोकतान्त्रिक तथा मानवअधिकारप्रति प्रतिबद्ध समाजका लागि स्वीकार्य हुन सक्दैन।
तेस्रोलिंगी तथा LGBTIQA+ समुदायका नागरिकहरू पनि समान अधिकार, सम्मान, सुरक्षा र न्यायका हकदार नागरिक हुन्। पहिचानका कारण हुने हिंसा अन्त्य गरौँ, पीडितलाई न्याय र दोषीलाई कानुनी जवाफदेहिता सुनिश्चित गरौँ।
माया को पहिचान नेपाल