01/04/2024
अनौठो संसार
यो एउटा नयाँ संसार हो । यहाँ बन्धनहरू बन्धन छन् । यहाँ तिमी तिमी बन्न सक्छौ,म म बन्न सक्छु । यो तिम्रो र मेरो, उस्को र मेरो, तिम्रो र उस्को विचरण गर्ने स्मशान हो । सुन्दर बगैँचा हो। एक वेश्याको पवित्र मन हो । एक पतिव्रताको पीडित र कुण्ठित मन हो । यहाँ सगरमाथा आफ्नो उचाई खोज्न निस्कन्छ, जाकोवावादको गर्मी आगो तापिरहेछ, यहाँ भर्खोङ्ग्यासको चिसो फ्रीजको कुनै कुनामा जम्न खोजिरहेछ, चेरापुञ्जीमा पानी नपरेर आकाश ताकिरहेछन् सारा, सहारा मरुभूमि अहिले पानीको सतहमा दुबिरहेछ। यो एक आउँदै न आएको बितिसकेको एक पल हो। यो रक्सीको तल्तलले भट्टी अगाडि पुग्दा ढोका बन्द गरेको झैँ नमिठो पल हो । बाबाको फाटेको मोजामा च्यातिएको सानो कपडाको डल्लो त्यै भित्र मिसिँदा निस्किएको एक अबोध बालकको मुस्कान हो । ए ! अनि अर्को कुरा यहाँ, कुनै .......... छोडिदेऊ, बिर्सिए मैले । तिमीलाई यसले यत्तिकै छोडिदियो लाग्या होला होइन। होइन, होइन । मैले साँच्चै बिर्सिएकै हो। जस्तो आज भन्दा कयौँ वर्ष पहिला आफूलाई चिन्दा नचिन्दै बिर्सिएको थिए । यो संसारमा प्रवेश गर्दा र गरिसके पछि तिमीले केही सर्त मान्नु पर्ने हुन्छ । जस्तो कि घरमा महिलाले माइतिको कुरा गर्न नमिले झैँ यहाँ तिम्रा परमात्मा र भगवानका कथा रच्न, सुनाउँन पाउँने छैनौँ। यहाँ स्वयं परमात्मा नै आफैलाई चिनाउँन लागीपरिरहन्छन् । तिम्रो संसारमा झै कसैले ढुङ्गामा माथा टेक्दैनन् । यहाँ तिमीले देख्नेछौ, कहिल्यै नदेखेको, सुन्नेछौ कहिल्यै नसुनेको, भेट्नेछौ कहिल्यै नभेटेको, सुन्नेछौ कहिल्यै नसुनेको। कहिल्यै नचिनेको आफैलाई चिन्नेछौ । यहाँ नाइल केवल एक सफा सानो नालीमा गतिन्छ, मृत सागर कतै टाढाको उचाईमा आफ्नो गहिराई महसुस गरिरहेको पाउने छौ। यहाँ जे भेट्नेछौ। त्यो हुनु भन्दा पहिलेको भेट्नेछौ। यहाँ बाल्मिकीलाई तिमी कतै चोर्दाचोर्दै समातिएर पिटिइ रहेको रत्नाकर डाकु देख्न सक्छौ । सक्छौ तिमी यहाँ बुद्धलाई आफ्नै नजरबाट देख्न, राजकीय सत्तामा लिप्त, परस्त्रीसङ्गको जिस्काइमा । हिन्दाहिन्दै कुतै जालन्धरकी पत्नी वृन्दाको पतिव्रता नष्ट गर्न स्वरूप परिवर्तन गरिरहेका विष्णु देख्न सक्छौ । भेटिन सक्छ कतै द्यौरालीमा विश्वशान्तिको कामना गरिरहेको हिटलर। ओरालो झरिरहँदा टाढैबाट खोँचमा स्वयम्भूका आँखा अशान्ति र अज्ञानका आँसू झारिरहेका देख्न सक्छौ। तिर्खाले पानीको खोजीमा भौतारिरहँदा बालुवा कपाकप खाइरहेका मानिस देख्न सक्छौ हो। यो अर्को संसार हो । आश्चर्य मान्नुपर्दैन। उद्यानमा चिता लप्किरहेको देखे, चितामा उद्यान झुलिरहेको देखे । तिमीले सास फेर्न बिर्सिएको कयौँ महिना पछि पत्तो पाउँदा तिमी आफूलाई चिमोटीरहनु पर्दैन । यहाँ शिशिरका मुस्कुराउँदा बिहानीमा कागको सुरिलो आवाजले मन्त्रमुग्ध पार्न सक्छ । भेट्न सक्छौ, प्राप्त जीवनको रेसमा हारेका तिम्रा अरू प्रतिस्पर्धी भ्रूणहरू। तिमीसँग लहसिन सक्छन्, अनिदा रात, दु:ख र आँसूहरू । तिमीलाई यहाँ नचिनिदिन सक्छन्, तिम्रा आफ्नै जीत, सुख र खुसीले । हिन्दाहिन्दै थाकेका तिमी त्यो सधैँ अस्ताउने र उदाउँने पहाडको घामलाई हेरी थकाई मार्न घाँटीमा डोरी पासो लगाएर झुण्डिरहेको बेला पर कुनाको सागरमा दानवताको छालले मानवताको बालुवा पखालिरहेको देख्न सक्छौ । भित्र क्यै नभएको बाहिर आडम्बर र घमण्डले भरिएको मानव चोलालाई छर्लङ्ग देख्नेछौ । थुप्रिएको फोहोरमा कण्डमका थैली भित्र निस्सासिएका जीवन भेट्नेछौ। देख्नेछौ जति मान्छे छन्, त्यहाँभन्दा बढी लास देख्नेछौ। चिरिएका मन, अशान्त रात, झरिरहेका आँसू, बाँच्ने चाहना भन्दा, मर्ने बहाना बढी भएका ,भत्किएका, धस्सिएका खण्डहर घरहरूमा तड्पिरहेका जीवित प्रेतात्मा देख्नेछौं । बल्ल बुझ्नेछौ यो नयाँ संसार के हो । जुन सन्सार तिमीलाई बकवास लागेको थियो, त्यही संसार सुन्दर लाग्छ । यति गर्दा गर्दै तिम्रो थकान मेटिनेछ, डोरी निकालेर पछाडि फेरि थकान मेट्न झोलामा सुरक्षित राख्छौ। झोलामा वर्षौं पहिला लुकाएको मुस्कान कानसम्म फैलिने गरि सजाउँछौ अनि हराउँने छौ । श्मसानमा लहलहाई रहेका फूलको चितामा । आफ्नो दुःख बिसाउँने छौ तिमी।
फेरि पनि
तिमीलाई यो अनौठो संसारमा स्वागत ...🌼❤️ ।।
@ सागर कंडेल