08/07/2025
बौद्ध चैत्य सन्दर्भमा "नाथ" शब्दको प्रयोग !
नेपालमा रहेका दुई प्रमुख बौद्ध धार्मिक स्थल स्वयम्भु महाचैत्य र बौद्ध चैत्य प्रति पछिल्लो समय एक भ्रमपुर्ण परिपाटी विकसित हुँदै गएको छ । धार्मिक, शैक्षिक तथा प्रशासकीय वृत्तहरूमा यी स्थलहरूलाई क्रमशः स्वयम्भुनाथ र बौद्धनाथ भनेर सम्बोधन गर्ने चलन व्यापक बन्दै गएको छ । "नाथ" को प्रयोग यत्तिकै भाषिक परिवर्तन होइन । यो धार्मिक अवधारणाको पुनर्लेखन हो, जुन बौद्ध परम्पराको आत्मा र ऐतिहासिक साक्ष्य सँग मेल खादैन ।
"नाथ" शब्दको व्युत्पत्ति र परम्परागत प्रयोग संस्कृत भाषाबाट भएको हो । जसको अर्थ स्वामी, गुरु वा रक्षक हुन्छ । यसको प्रयोग विशेष गरि हिन्दुधर्ममा हुन्छ । जस्तै; शैव, वैष्णव तथा नाथ सम्प्रदायमा गहिरो रुपमा हुन्छ । उदाहरणका लागि पशुपतिनाथ, गोरखनाथ, बद्रीनाथ, केदारनाथ, जगन्नाथ, भैरवनाथ आदि हुन । यस्ता नामहरू हिन्दु परम्परामा देवताको महिमा सुचक उपाधिको रूपमा विकसित भए । तर बौद्ध परम्परामा "नाथ" शब्द कुनै पनि चैत्य, स्थान वा बुद्धसँग प्रत्यक्ष रूपमा प्रयोग गरिएको ऐतिहासिक प्रमाण छैन ।
प्राचीन शुद्ध बौद्ध परम्परा अनुसार स्वयम्भू र बौद्ध चैत्यको पौराणिक तथा ऐतिहासिक शब्द वा नाम "स्वयम्भू महाचैत्य" र बौद्धलाई "खास्ती चैत्य" भनिन्थ्यो । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता "डेविड गेल्नर" भन्छन, "नाथ" शब्द पछि थपिएको हो, जुन हिन्दु प्रभुत्व र बौद्ध स्थलहरुको संस्कृतिकरणको क्रममा उत्पन्न भएको हो : (Reference: The Emergence of Conversion in a Hindu-Buddhist Polytropy) । त्यस्तै अर्का अनुसन्धानकर्ता "निल्स गट्स्चो" भन्छन, स्वयम्भू र बौद्ध भनेर चिनिने धार्मिक स्थलहरुलाई "नाथ" उपसर्ग दिएर सम्बोधन गरिएको कुनै पनि अभिलेख वा बौद्ध पाण्डुलिपिमा उल्लेख छैन : (Reference: The Nepalese Chaitya: 1500 Years of Buddhist Votive Architecture in the Kathmandu Valley) ।
शाह वंशीय गोरखाली एकिकरणपछी धार्मिक राष्ट्रवादको प्रभावले बौद्ध स्थलहरूलाई हिन्दु संस्कारमा पुनः व्याख्या गर्ने काम भयो । स्वयम्भूमा हरिहर शिवविष्णु मन्दिर बनाइयो । खास्ती चैत्य (बौद्ध) माथी विष्णुको उपासनासम्बन्धी कथा जोडियो, “धनधन विष्णुका भक्तले बौद्ध बनायो” जस्ता लोककथाहरू जोडियो । यी परिवर्तन सँगै बौद्ध स्थलहरुमा हिन्दु शब्दावली "नाथ" थपिन थाले । यसरी "नाथ" जोड्ने परम्परा बौद्ध धर्मको आत्मप्रकाश होइन, राज्य र शासन प्रणाली द्वारा थोपारिएको भाषिक उपनिवेशवाद हो ।
आधुनिक विश्वविद्यालयबाट Bachelor, Master र PHD गर्ने क्रममा विद्यार्थीहरुले अनुसन्धात्मक थेसिस लेखिन्छ । पछिल्लो समय आधुनिक बौद्ध गुम्बा र मठहरुमा पनि खेन्पोहरु द्वारा बौद्ध ग्रन्थ सम्वन्धी पुस्तक लेख्ने अभ्यास थालेको छ । “बौद्ध गुम्बा र खेन्पोहरूद्वारा लिखित पुस्तकहरूमा "बौद्धनाथ", "स्वयम्भुनाथ" लेखिएको भेटिन्छ, जसको आधारमा कतिपय लामा पुस्ताहरूले नै यिनै शब्दलाई बौद्ध परम्परा भनी स्वीकार गर्छन ।
यो गहिरो समस्याको कारण: गुम्बा शिक्षालयमा पनि सरकारी पाठ्यपुस्तक, पर्यटन बोर्डको नक्सा, वा प्रशासनिक कागजातहरूको आधार बनाइन्छ । ती स्रोतहरूमा हिन्दु संस्कारमा ढालिएको शब्दावली प्रयोग भएकाले थेसिस वा रिपोर्टमा पनि त्यही शब्दको पुनरावृत्ति हुन्छ । र खेन्पोहरूद्वारा अनुसन्धान गर्दा भाषिक शुद्धता भन्दा प्रचलनको सहजता प्राथमिकता दिइन्छ, जसले गल्तीलाई अन्जान संस्थागत बनाई रहेका छन । र बुद्धको मार्ग समीक्षाको मार्ग हो, स्वयं खोज, परीक्षण गर, अनुभुती गर, भन्ने मुल मन्त्रले चल्ने परम्परामा, कुनै शब्दको प्रयोग केवल पुस्तकमै छ, भनेर स्वीकार गर्नु बौद्धिक आलस्य हो । किनकी शब्द नै विचारको थालनी हो, गलत शब्दले गलत विचार सँगै अन्ततः गलत इतिहास बनाउँछ । त्यसैले, आजको अवस्थामा बौद्ध दृष्टिकोणमा शब्दको शुद्धता निकै महत्वपूर्ण छ ।
त्यसकारण "बौद्धनाथ" वा "स्वयम्भुनाथ" भन्ने शब्दहरू बौद्ध परम्परा अनुसार न त शुद्ध छन, न त ऐतिहासिक रूपमा प्रमाणित । यी शब्दहरू हिन्दु संस्कृतिकरणको प्रभावस्वरूप उत्पन्न भएको भाषिक पुनर्निर्माण हो, जसलाई वर्तमान पुस्ताले नक्कल गर्दै मौलिक परम्परा बिर्सिदै गएको छ । बुद्धका चिन्तकहरू हुनु भनेको इतिहासका अँध्यारा कोठामा साँचोको दियो बाल्नु हो, पुस्तकमै छ भनेर आँखामा पट्टी बाँध्नु होइन । यदि हामी बौद्ध परम्पराका वारिस हौ भने स्वयं खोजी गरौ, परिक्षण गरौ, अनुभुती गरौ ! नाथ होइन ज्ञान जोडौ, त्यही नै बुद्ध मार्ग हो ।
अन्तमा: मैले भनेकै थिए म सँग बहसमा उत्रनु अघी केही अध्ययन गरेर आउनु, हैन भने तपाईंका अध्ययनको गहिराई कति छ भनेर बुझ्न मलाई सेकेन्ड पनि लाग्दैन । अझै पनि मैले प्रस्तुत गरेका ऐतिहासिक पौराणिक तथा श्रोत सान्दर्भिक दस्तावेजहरु तपाइलाई असत्य, भ्रमपुर्ण र अतिरञ्जित लाग्छ भने कृपया कुनै धार्मिक तथा पौराणिक इतिहासविद सँग प्रमाणसहित परामर्श गरेर बुझ, अनुमानको आधारमा नबोल ।
साभार - फारप रुम्बा तामाङ