04/08/2026
***परिवर्तन***
"अहिलेको जमाना पनि सानो-ठूलो जात भन्ने हुन्छ र? पहिले पहिलेका बुढाखाडाले गर्ने व्यवहार हो त्यस्तो त ।" एकजना मित्रले म नजिकै बसेर भन्नू भयो । "खासमा यो दलित कोटा हटाए मात्र समाजमा विभेदको अन्त्य हुन्छ । हेरन राजेश तिमी दमाई म क्षेत्री भएर पनि एकै ठाउँमा खाइराखेका छौ ।" अर्को मित्रले थप्नुभयो । के हामीले साच्चैँ खोजेको परिवर्तन यहि हो त? हामीभन्दा माख्लो जात भनी कहलिएका संग एकै ठाउँमा नारिएर खानु, वा आफुभन्दा फरक जात भनौ माथिल्लो जातका संग बिहे गर्नु? वा अरुको चोटा-कोठामा पुग्नु? कदापी होइन । हामीले खोजेको परिवर्तन त हामी पनि आम मानिस सरह नै बाँच्न पाउनु पर्छ भन्ने हो । आम मान्छेसरह नै व्यवहार हामीलाइ गरियोस् भन्ने हो । न कि कसैका कोठा-चोटा चहार्ने र चुलो चौकोमा घुडैँ जोडेर बस्ने । जातकै नाममा मारिएका मेरा जातिले न्याय पाउन भन्ने होइन र? जात नमिलेर मिलेको मन नतोडियोस भन्ने होइन र? जात तल्लो भो भनेर गरिएको घीनलाग्दो व्यवहार अन्त्य होस् भन्ने होइन र? एउटी रजस्वला भएकी महिलाले त सात दिनपछि मुक्ती पाउँछिन भने यो जातको रगत हामीले बगाउनु पर्ने कहिलेसम्म? कति सजिलै भन्छन जात हटिसक्यो, कोटाले गर्दा राखिराख्या छ भनेर । जब तिमी मान्छे भएर मान्छेसरह बाँच्न पाउदैँनौ, जब तिमीलाइ जातको कारणले अवहेलना गरिन्छ तब थाहा हुन्छ यसले कति गहिरोसम्म कहि खील गाढेर बिझाउँछ भन्ने । अनगिन्ती प्रश्नहरुले मनमा एउटा तुवाँलो बनाएको छ र म आफैलाइ त्यसले निसास्सिदिएको छ । एउटा सञ्जाल बनाइदिएको छ । जसमा प्रश्न त थुप्रै छन तर- अनुत्तरित । सरसर्ती हेर्दा ठिकठाक देखिएला तर गहिराइमा तैरिन नसकिने गहिरो । अति अग्लो कि उचाइ नै छैन । हो त्यो अंहकारलाइ भत्काउनु परिवर्तन हो । त्यस्तो सन्काहालाइ ठेगान लाउनु परिवर्तन हो मेरो नजरमा । एउटा षड्यन्त्रकारी ढोङ्गी, सन्काहाले बनाएर लादिदिएको जातको चपेटामा मेरा मान्छे खोलै-खोला बगाइन्छन अनि जातप्रथा छैन भनिन्छ । परिवर्तन हुन नचहानेले गर्दा यो प्रथा विधिवत् रुपमा यथावत् रहेको हो । नत्र सति प्रथाजस्तो अमानवीय, मानव कलंक हट्ने राज्यमा यो जातप्रथा किन यथावत् छ? सबै कुराको जवाफ छ हरेक संग । छैन त केवल इच्छाशक्ती- जातियको नाममा भएको दुर्ववहार खत्तम बनाउने इच्छाशक्ति । मैले बुझेको र बुझाउन खोजेको परिवर्तनको परिभाषा साधारण छ- मान्छेलाइ मान्छेजस्तै व्यवहार गरियोस र बाँच्न दिइयोस् ।
✍️राजेश स्पन्दन, भक्तपुर