27/07/2026
कुनै पनि मानिसको मृत्यु अत्यन्तै दुःखद घटना हो। यस्तो पीडाको घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।
हामी चिकित्सक तथा स्वास्थ्यकर्मीहरू प्रत्येक बिरामीको जीवन बचाउन आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म इमानदारीपूर्वक प्रयास गर्छौं। हामी भगवान होइनौं, चिकित्सा विज्ञानबाट प्रशिक्षित जनशक्ति हौं। चिकित्सा विज्ञानका आफ्नै सीमा हुन्छन्, र सबै प्रयासका बाबजुद पनि कहिलेकाहीँ बिरामीलाई बचाउन सम्भव हुँदैन।
यदि कसैलाई उपचार प्रक्रियामा चिकित्सकबाट लापरबाही वा त्रुटि भएको भन्ने लाग्छ भने त्यसको छानबिन र न्यायका लागि सम्बन्धित कानुनी तथा न्यायिक निकायहरू उपलब्ध छन्। तर दिनरात आफ्नो परिवारबाट टाढा बसेर बिरामीको सेवामा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन सक्दैन। यस्तो हिंसात्मक व्यवहार निन्दनीय मात्र होइन, कानुनअनुसार दण्डनीय अपराध पनि हो।
यस्ता घटनाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर नकारात्मक असर पार्छ, जसको प्रत्यक्ष प्रभाव भविष्यमा बिरामीहरूले पाउने स्वास्थ्य सेवाको गुणस्तरमा पर्न सक्छ।
हाम्रो समाजमा एउटा ठूलो भ्रम पनि छ अस्पतालमा जे भए पनि त्यसको सम्पूर्ण दोष चिकित्सकमाथि थोपर्ने। अस्पतालमा बेडको अभाव हुनु, आवश्यक उपकरण नहुनु, आईसीयू उपलब्ध नहुनु, औषधिको कमी हुनु, प्रयोगशालामा परीक्षण हुन नसक्नु, अक्सिजनको अभाव हुनु वा अन्य व्यवस्थापकीय कमजोरीहरू चिकित्सकको जिम्मेवारी होइनन्। यी विषय व्यवस्थापन र सम्बन्धित निकायसँग सम्बन्धित हुन्छन्। चिकित्सकको मुख्य जिम्मेवारी भनेको उपलब्ध स्रोत साधनभित्र रहेर बिरामीको उचित उपचार गर्नु हो।
यस विषयमा आम नागरिक मात्र होइन, सञ्चारकर्मी साथीहरूले पनि चिकित्सकको जिम्मेवारी र अस्पताल व्यवस्थापनको जिम्मेवारीबीचको भिन्नतालाई स्पष्ट रूपमा बुझ्नु आवश्यक छ। तथ्यमा आधारित समाचार र जिम्मेवार प्रस्तुतीकरणले समाजमा सही सन्देश प्रवाह गर्न मद्दत गर्दछ।
हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटनाको घोर भर्त्सना गर्दछौ। दोषीमाथि निष्पक्ष, शीघ्र र कडा कानुनी कारबाही होस्, ताकि भविष्यमा यस्ता घटना दोहोरिन नपाऊन् र स्वास्थ्यकर्मीहरूले सुरक्षित वातावरणमा निर्भय भएर सेवा प्रदान गर्न सकून्।