29/11/2025
सिंहदरबारभित्र र आसपास पछिल्ला दिनहरूमा जेन–जीका नाममा चलिरहेको हुलदंगा, होहल्ला र धरपकडमा सहभागी समूहको नेतृत्व पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहका छोरा विकेश साहले गरिरहेको प्रहरीले सार्वजनिक रूपमा जनाएको छ। प्रहरीका अनुसार पछिल्ला गतिविधिहरू मात्र होइन, भदौ २३ र २४ मा संसद भवनदेखि एमाले केन्द्रीय कार्यालयसम्म भएको आगजनी र विध्वंसमा समेत विकेश साह प्रमुख रूपमा संलग्न देखिएका छन्।
सिंहदरबार सुरक्षामा खटिएको प्रहरी गणले माथिल्लो निकायमा पठाएको रिपोर्ट अनुसार विकेश साह, मिराज ढुंगाना, सुप्रिया शाहीलगायतका व्यक्तिहरूले विभिन्न समूह बनाएर नियोजनाबद्ध रूपमा सरकारी क्षेत्र हुलहुज्जत गरिरहेकाछन्। सोमबार र मंगलबार सिंहदरबारको मुख्य प्रवेश क्षेत्रमा प्रहरीमाथि दुर्व्यवहार र जबर्जस्ती छिर्न खोज्ने प्रयास पनि यही समूहले गरेको बताइएको छ।
भदौ २४ का दंगामा प्रत्यक्ष उपस्थिती, भिडियो–फोटो प्रहरीको हातमा
अपराध महाशाखाका अनुसार विकेश साह भदौ २४ को हिंसात्मक घटनामा ‘फ्रन्टलाइन’मा रहेका व्यक्ति हुन्। संसद भवन, सिंहदरबार, एमाले केन्द्रीय कार्यालय, भैंसेपाटीस्थित मन्त्री निवासलगायत स्थानमा आगजनी गर्ने समूहभित्र साह देखिएको प्रमाण प्रहरीले संकलन गरेको छ।
विकेश स्वयंले पनि केही स्थानमा आगो लगाइँदा खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा हालिदिएका थिए। तीमध्ये धेरै मेटाइए पनि प्रहरीसँग सबै प्रमाण सुरक्षित रहेको महाशाखाको दाबी छ।
प्रहरीको अनुसन्धानले विकेशले जेन–जी आन्दोलनका बेला काठमाडौं महानगरपालिकाले हटाएका कबाडी मजदूर र बेरोजगार युवालाई समेत जम्मा गरी आन्दोलनलाई हिंसात्मक दिशातर्फ धकेलेको संकेत गरेको छ।
प्रभु साहका राजनीतिक पृष्ठभूमि र परिवारको सक्रियता
विकेश साहका पिता प्रभु साह तत्कालीन नेकपा माओवादीबाट पटक–पटक सांसद र मन्त्री बनेका नेता हुन्। नेकपा विभाजनपछि उनी केही समय एमालेमा प्रवेश गरेका थिए भने २०७९ मा सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेर सांसद निर्वाचित भएका थिए।
प्रभु साहकी पत्नी रानीकुमारी साह रौतहटको मौलापुर नगरपालिकामा लगातार दुई कार्यकाल मेयर रहेकी छन्। विकेशले केही महिना अघि पिता प्रभु साहलाई ‘मुख्य अतिथि’ बनाएर जेन–जी भ्रातृ संगठनसमेत गठन गरेको भन्दै प्रहरीले टिप्पणी गरेको छ।
जेन–जी आन्दोलनभित्रैबाट आरोप : ‘नेपो किड्सले हाइज्याक गरे’
जेन–जी आन्दोलनका कतिपय अगुवाहरू स्वयंले पनि विकेश साहप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनीहरूले विकेशलाई ‘नेपो किड्स’ (राजनीतिक पारिवारिक विशेषाधिकारप्राप्त) भन्दै आन्दोलनलाई व्यक्तिगत स्वार्थ र अवसरवादी राजनीतिको प्लेटफर्म बनाएको आरोप लगाएका छन्। केही जेन–जी अगुवाले प्रधानमन्त्री सुशिला कार्कीविरुद्ध भइरहेको हालको प्रदर्शनमा पनि विकेशको भूमिका ‘शंकास्पद’ रहेको बताउँदै असन्तुष्टि पोखेका छन्।
सरकारको चिन्ता : जेन–जी नाममा भइरहेको गतिविधिले अवस्था बिग्रिँदै
सरकार नजिकको स्रोतका अनुसार जेन–जी आन्दोलनका नाममा सय थरी समूह सक्रिय हुँदा सुरक्षा निकायहरू आक्रान्त बनेका छन्। वैधानिक माग भन्दा बाहिर गएर हुलदंगा, तोडफोड, अराजक क्रियाकलाप भइरहेको भन्दै सरकारले कडाइ गर्न थालेको छ।
प्रहरीले भदौ २४ का हिंसात्मक घटनामा विकेश साहको संलग्नताको प्रतिवेदन गृह मन्त्रालयमा पठाइसकेको र आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने संकेत गरेको छ।