19/09/2026
‘बिहेबारी २० वर्ष पारी’ सन्देशसहित कचनकवलमा कचहरी नाटक
बनियानी। असोज २। बालविवाह तथा कम उमेरमा हुने विवाहविरुद्ध समुदायस्तरमा जनचेतना फैलाउने उद्देश्यले कचनकवल गाउँपालिका–६ हुकाहुकी चोकमा ‘बिहेबारी २० वर्ष पारी’ सन्देशसहितको कचहरी नाटक सम्पन्न भएको छ।
महिला जनचेतना केन्द्र कचनकवलको आयोजनामा सञ्चालित ‘बालविवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण परियोजना’ अन्तर्गत आयोजित कार्यक्रममा स्थानीय महिला, किशोरकिशोरी, अभिभावक तथा समुदायका अगुवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। नाटकमार्फत कम उमेरमा हुने विवाहका कारण शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था र महिलाको भविष्यमा पर्ने दीर्घकालीन असरलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा कलाकारहरूले बालविवाहलाई सामाजिक परम्परा होइन, कानुनी तथा सामाजिक रूपमा हानिकारक अभ्यासका रूपमा चित्रण गर्दै २० वर्षभन्दा कम उमेरमा विवाह नगर्ने सन्देश दिएका थिए। नाटकपछि सहभागीहरूसँग खुला छलफलसमेत गरिएको थियो, जहाँ बालविवाह रोक्न परिवार, विद्यालय र समुदायको साझा जिम्मेवारीबारे धारणा आदानप्रदान गरिएको थियो।
महिला जनचेतना केन्द्र कचनकवल संयोजक खञ्जन राजबंशीले बालविवाह न्यूनीकरणका लागि केन्द्रले गाउँपालिकाका विभिन्न वडामा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनका अनुसार कचहरी नाटक, विद्यालय अभिमुखीकरण, किशोरी समूह गठन, अभिभावकसँग अन्तरक्रिया तथा समुदायस्तरीय अभियानमार्फत बालविवाह अन्त्य गर्ने प्रयासलाई थप प्रभावकारी बनाइएको छ।
“बालविवाह केवल कानुनी मुद्दा मात्र होइन, यो शिक्षा, स्वास्थ्य र मानव अधिकारसँग जोडिएको सामाजिक चुनौती हो। समुदाय स्वयं सचेत र जिम्मेवार बने मात्र ‘बिहेबारी २० वर्ष पारी’ अभियान सफल हुन्छ,” संयोजक राजबंशीले भनिन।
महिला जनचेतना केन्द्रले आगामी दिनमा पनि कचनकवल गाउँपालिकाका विभिन्न बस्तीमा यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।