16/03/2026
प्रगतिशील युवा क्लबको अगुवाइमा भएको खबरदारी सभामा मेचीनगरका सकृय सामाजिक संघसंस्था युथ एडभोकेसी नेपाल, मेचीनगर लेडी जेसिज, परिवर्तन थ्रिएटर, महिला जनचेतना केन्द्र, माईति नेपाल, आफन्त नेपाल, विचार चौतेरी युवा क्लव, चेतनशीय सामुदायीक सिकाई केन्द्र, १०८ युवा समुह, साना हात नेपाल, नव अभियान नेपाल, स्ववियु त्रिदेव बहुमुखि क्याम्पस, स्ववियु काकरभिट्टा बहुमुखि क्याम्पस, राजवंशी युवा परिवार मेचीनगर-१५, लायन्स क्लव अफ मेचीनगर, प्रगति बाल क्लव, संवाद फाउन्डेसन, नयॅा विहानी आमा समुह, ज्यामिरगढी युवा क्लव, North Point का विद्यार्थी, अपाङ्ग मैत्री सेवा स्वरोजगार संस्था साथै युवा, विद्यार्थी, बालबालिका, नागरीक समाज, संचार कर्मी, सुरक्षा कर्मी सहितको सहकार्यमा भएको कार्यक्रममा इनिशा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडा कारवाहीको माग गर्दै पूर्वीनाका काँकरभिट्टामा खबरदारी सभा सम्पन्न गरिएको छ ।
क्लबका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा खबरदारी सभामा सहभागीहरूले इनिशा विकको हत्यारालाई कारवाही गर, बालबालिका माथि हुने हिंसा अन्त्य गर, पितृसत्ता मुर्दावाद, बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौं लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए भने र्यालीपछि इलाका प्रहरी कार्यालय नजिकै सडकमा कोण सभा गरिएको थियो ।
क्लबका सचिव करूणा पोखरेलले सञ्चालन गरेको कोण सभामा सामाजिक अभियन्ता राधा प्रधान कार्की, पूजा सापकोटा, शिक्षक शुभद्रा भट्टराई , पत्रकार अम्बिका भण्डारी, अभियन्ता विनय कार्कीले गम्भीर ढंगले विक हत्या प्रकरणको छानविनका साथै घटनामा संलग्नलाई दाेषीलाई कडा कारवाही र यस्ता घट्नाहरू दोहोरिन नदिन सबै सचेत हुनु पर्नेमा जोड दिएका थिए ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा गत फाल्गुन २३ गते इनिशा मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।