24/05/2025
नारायणी मेमोरियल फाउन्डेसन, कन्काई नगरपालिका-४ र कन्काई प्रतिभा प्रतिष्ठान, कन्काईको संयुक्त आयोजनामा झापा जिल्ला स्तरीय "मेरो गौरव, मेरो राष्ट्र" विषयक युवा कविहरूको कविता प्रतियोगिता एवं नारायणी मेमोरियल फाउन्डेसनको शैक्षिक सत्र २०८२ को लागि झापा जिल्लाका २६ वटा विद्यालयका ४० जना छात्र छात्रालाई मिति २०८२ साल जेठ १० गतेका दिन कन्काई बहुमुखी क्याम्पसको सभा कक्षमा कन्काई प्रतिभा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष डा. पुण्यप्रसाद सिग्देलको अध्यक्षतामा कविता प्रतियोगिता एवं छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा युग कवि सिद्धिचरण श्रेष्ठ एवं नारायणी मेमोरियल फाउन्डेसनको अनन्त स्मृतिमा अंकित पूर्वज एवं प्रियजनहरूको स्मृति र सम्मानमा एक मिनेट मौन धारणा गरी कार्यक्रमको सुरुवात गरिएको थियो । मेची बहुमुखी क्याम्पसका प्रा. डा. गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता एवं कन्काई नगरपालिकाका उपप्रमुख आशा शर्मा सिवाकोटीको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रमको सुरुमा विद्यार्थीहरूबाट नारायणी मेमोरियल फाउन्डेसनको स्वागत गीत प्रस्तुत गरिएको थियो । कन्काई प्रतिभा प्रतिष्ठानका तर्फबाट श्री निर्मल खतिवडाले स्वागत गर्नुभएको कार्यक्रममा रुद्र-गौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, निर्णायक समितिका तर्फबाट प्रा.डा. ठाकुरप्रसाद पोखरेल, प्रधानाध्यापकका तर्फबाट आदर्श विद्या मन्दिर मा. वि. घैलाडुबाका प्र.अ. श्री नरहरी न्यौपानेले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नारायणी मेमोरियल फाउन्डेसनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठकले फाउन्डेसनका गतिविधिबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अक्षयकोषदाताहरूले विद्यार्थीहरूलाई छात्रवृत्ति रकम र शैक्षिक सामग्री वितरण गर्नुभएको थियो। प्रतियोगी कविहरू मध्येबाट प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने श्री खेमनाथ गुरागाई, श्री पूर्णचन्द्र मैनाली र श्री तेजेन्द्र घिमिरेलाई क्रमसः रू पन्ध्र हजार, दश हजार र पाँच हजार नगद रकम प्रदान गरिएको थियो । कन्काई प्रतिभा प्रतिष्ठानका सचिव श्री प्रेम प्रसाद न्यौपानेले सञ्चालन गर्नुभएकाे कार्यक्रममा छात्रवृत्ति वितरण कार्यक्रमको सहजीकरण नारायणी मेमोरियल फाउन्डेसनका सचिव श्री प्रदीप पाठक र छात्रवृत्ति समितिका सचिब श्री राम कुमार पाठकले गर्नुभएकाे थियो।