03/09/2025
मितिः २०८२/०५/१८
प्रेस विज्ञप्ति
धनुषा जिल्लामा पछिल्ला दिनहरूमा मैथिली, भोजपुरी लगायतका सांगीतिक कार्यक्रमहरूमा अश्लीलता, अभद्र शब्दावली र सामाजिक मर्यादाविरुद्धका प्रस्तुतिहरू दिन प्रतिदिन बढ्दो अवस्थामा देखिन थालेका छन्। यसले हाम्रो मिथिला संस्कृतिको मौलिकता, सामाजिक मूल्य मान्यता तथा युवापुस्ताको सोचमा गम्भीर असर पारिरहेको छ।
जनकनन्दिनी फाउन्डेशनले यसप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै निकायलाई सचेत हुन आग्रह गर्दछ। समाजमा अश्लील, विकृति फैलाउने खालका कार्यक्रम तथा गतिविधिहरूले हाम्रो सभ्यता, संस्कृति र नैतिकतामाथि प्रहार गर्ने हुँदा यस्ता कार्यहरू तुरुन्त रोकथाम गर्न आवश्यक देखिन्छ।
यस सन्दर्भमा, फाउन्डेशनले जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा लगायत सम्बन्धित निकायहरूलाई यस्ता अस्वस्थ र विकृत गतिविधिहरूलाई नियन्त्रण तथा न्यूनिकरण गर्न तत्काल आवश्यक कदम चाल्न हार्दिक सिफारिस गर्दछ। साथै, स्थानीय तह, सञ्चार माध्यम, कलाकार, कार्यक्रम आयोजक तथा समाजका सबै सचेत नागरिकहरूलाई पनि हाम्रो संस्कृति र मूल्य मान्यता जोगाउन एकताबद्ध भएर योगदान गर्न अनुरोध गर्दछौं।
हाम्रो लक्ष्य मिथिला संस्कृतिको संरक्षण र समृद्धि हो। त्यसैले यस्ता विकृति र अश्लीलतालाई रोक्न सबै पक्षले आफ्नो भूमिकाप्रति जिम्मेवार बन्न आवश्यक छ।