अत्रिगोत्रीय गौतम कुलका प्रवर्तक -महर्षि अत्रि का सन्तान गौतम वंशका मूलपुरूष - ऋतुभद्र का ८ औँ पुस्ताका सन्तति काशीदासको वनारसबाट १३औँ शताब्दीको उत्तरार्धमा जुम्ला साम्राज्यको सिञ्जा प्रदेशमा आगमन भएको इतिहासमा उल्लेख भएको पाइन्छ ।
१० औँ पुस्ताका गोतमदाशका सन्तान २९ औँ पुस्ताका श्रीधर को जुम्लाबाट अर्घाखाँची आगमन भएको तथ्य वि. सं. १६६९ मा खिदिम विर्ताको रूपमा गुल्मिका राजा रामसिंह बर्माबाट प्राप्त
भएको अभिलेखबाट सिध्द हुन्छ ।
अर्घाखाँचीको खिदिमबाट ३४ औँ पुस्ताका सुकरुका छोरा बालकृष्णका सन्तान ३९ औँ पुस्ताका देवर्षि गौतम पाध्ये (नन्दलालका छोरा) अर्घाखाँचीको खिदिमबाट कास्की-पोखरा हुँदै १९औँ शताब्दीको पूर्वार्धमा भोजपुरको पापुङ्गा (हाल षडानन्द नगरपालिका वडा नं १) मा आएर वसोवास सुरू गरेको पाइन्छ । देवर्षिका ३ पुत्रमध्ये भोजपुरकै सिम्लेमा दुर्गादाश, तुङ्गेछामा हरिनन्दन र पापुङ्गामा श्रीकृष्णको वसोवास पाइन्छ । श्रीकृष्णका ५ भाईछोरामा काशिनाथ र हरिनन्द ताप्लेजुङ्गको ओख्रेमा प्रारम्भिक वसोवास भई हरिनन्दका सन्तान ताप्लेजुङका ओख्रे, हाङ्देवा, सावादिन, नाङ्खोल्याङ आदी स्थान, पाँचथर जिल्लाको नाङ्गिन, फिदिम, च्याङ्थापु आदी स्थान, भोजपुर जिल्लाका ताँबु, बौलिया, कुदाक, केराबारी तथा ईलाम जिल्लाको सुलुबुङ, बरबोटे साथै तेह्रथुम जिल्लाको ह्वाकुमा वसोवास गरेको देखिन्छ । यिनै देवर्षिका सन्तानहरु भारत देशको पश्चिम बङ्गाल, मणिपुर, आसाम, अरुणाचल, नागालैण्ड, मध्यप्रदेश, महाराष्ट्र, दिल्ली तथा सिक्किम प्रान्तमा फैलिएर रहँदै हाल भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङग, सुन्सरी, उदयपुर, सर्लाही, पर्सा, चितवन, नवलपुर, परासी, कपिलबस्तु, बाँके, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर आदी जिल्लामा स्थायी वसोवास गर्दै India, Bhutan, Burma, UK, USA, Norway, Denmark, Finland, Spain, Japan, Canada, Australia आदी देशमा फैलिएर रहेको पाइन्छ ।