27/08/2026
भाद्र ११ गते/ काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बीच उच्च शिक्षामा गुरुङ भाषा (तमु क्युई) र संस्कृतिलाई पाठ्यक्रम र तालिम कार्यक्रमहरूमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न सहकार्य गर्ने विषयमा साझेदारीमा हस्ताक्षर भएको छ ।
यो सम्झौताले काठमाडौं विश्वविद्यालय र तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको सहकार्यमा प्रमुख पेशागत, शैक्षिक र अनुसन्धान-उन्मुख भूमिका खेल्नेछन र यसका सम्भावित सरोकारवालाहरूसम्म पुगेर गुरुङ भाषा र संस्कृति तथा अन्य शैक्षिक गतिविधिहरूलाई प्रवर्द्धन गर्न सहकार्य गर्नेछन् । दुइ संस्थाले गुरुङ भाषा र संस्कृतिसम्बन्धी अनुसन्धान परियोजनाहरूको नेतृत्व वा समर्थन गर्न, कोष परिचालन गर्न, विज्ञता आदान-प्रदान गर्नेछन र कक्षाकोठा अभ्यासकर्ताहरू, भावी शैक्षिक विज्ञहरू र शिक्षकहरूको विकासमा योगदान पुर्याउनेछन् ।
तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदले काठमाडौं विश्वविद्यालय, शिक्षा संकायमा सञ्चालन हुने PGDE in GLT कार्यक्रममा अध्ययन गर्न इच्छुक सम्भावित विद्यार्थीहरूका लागि छात्रवृत्ति वा अन्य आर्थिक सहयोगका स्रोतहरू पहिचान गर्न तथा त्यस्ता स्रोतहरूसम्म पहुँच स्थापित गर्न विश्वविद्यालयलाई सहयोग गर्नेछ ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदले काठमाडौं विश्वविद्यालयलाई आदिवासी शिक्षा र गुरुङ भाषा शिक्षण कार्यक्रममा सम्भावित विद्यार्थीहरू जोड्न र उनीहरूको शैक्षिक अवसरहरूको लागि कोष बनाउन सहजीकरण गर्नेछ ।
आज भएको दुइ संस्था विचको सहकार्यको सम्झौता कार्य(LOL)मा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष धनमान गुरुङ र काठमाडौं विश्वविद्यालय शिक्षा संकायका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले सहमति पत्रमा हस्तान्तर गरेको थियो ।