22/04/2026
प्रधानमन्त्री बालेन्द्र शाह ले गृहमन्त्रालयको जिम्मेवारी हालका लागि आफ्नै मातहत राख्ने निर्णय गरेका छन्। गृहमन्त्री सुदन गुरुङ को राजीनामा स्वीकृत गरेपछि तत्काल नयाँ गृहमन्त्री नियुक्त नगर्ने र गृह मन्त्रालय आफैंले सम्हाल्ने निर्णय गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
गुरुङसँग जोडिएको विवादबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी पनि सरकारले अघि बढाएको छ। उक्त समितिले अनुसन्धान गरी प्रतिवेदन बुझाउनेछ।
स्रोतका अनुसार छानबिन समितिको प्रतिवेदन नआउँदासम्म गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहनेछ। यदि छानबिनबाट गुरुङ निर्दोष ठहरिए भने उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिने सम्भावना समेत खुला राखिएको छ।
गुरुङमाथि सेयर कारोबार, सम्पत्ति विवरण र विवादित व्यवसायीसँग सम्बन्ध रहेको विषयमा प्रश्न उठेपछि उनले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए।
यस घटनाक्रमसँगै सरकारको ध्यान अब निष्पक्ष अनुसन्धान र पारदर्शितातर्फ केन्द्रित भएको देखिएको छ। प्रधानमन्त्री शाहको निर्णयलाई एकातर्फ संकट व्यवस्थापनको प्रयासका रूपमा हेरिएको छ भने अर्कोतर्फ यसले राजनीतिक रूपमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ।