02/07/2025
नेपाली साहित्यमा मिथ जस्तो बनेका हरिभक्त कटुवालको जन्म वि.सं. १९९२ असार १८ गते (१९३५, जुलाई २) मङ्गलबारका दिन पिता वीरबहादुर क्षेत्री (कटुवाल) र आमा विष्णुमाया क्षेत्रीका जेष्ठ पुत्ररत्नका रूपमा उत्तर पूर्वांचल भारतको असमको लखिमपुर (वर्तमानको डिब्रुगड) जिल्लाको खोवाङ् गाउँमा एक खस(क्षेत्री) परिवार मा भएको थियो । कटुवाल जन्मेको डेढ वर्षपछि कटुवाल परिवार बोगीबिलमा बसाईँ सरेर गएको थियो । बोगीबिलको प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ गरेका कटुवालले डिब्रुगढको जर्ज हाइस्कुलबाट म्याट्रिक गरी कानै कलेजबाट प्राइभेट परीक्षार्थी भएर आई.ए. उत्र्तीण गरेका थिए । आर्थिक अवस्था कमजोर भएको र त्यहीबेला बाबुको देहावसान भएको हुँदा बी.ए. अध्ययन पूरा गर्न पाएनन् ।
पचासको दशकदेखि नै असमिया भाषामा गीत कविता लेख्न प्रारम्भ गरेका हरिभक्त कटुवालले सन् १९५६ देखि १९५७ सम्म पब्लिक हेल्थ इन्स्पेक्टर, एल.ओ.सी. स्कूलमा सन् १९५७ देखि १९६९ सम्म शिक्षक, सन् १९५८ मा नेपाली शिक्षा प्रचार समितिको मूलमन्त्री, केही समय होटल व्यवसाय (सन् १९६८) आदि कार्य समेत गरे ।
सन् १९६८ गोर्खा सम्मेलनको गडपाल अधिवेशन सम्पन्न भएपछि एकाएक जागिरबाट राजीनामा दिएर साहित्य नै जीवनको उद्देश्य भएकोले परिवेश र अनुकूल वातावरणको खोजीमा सन् १९६९ सेप्टेम्बरमा ३४ वर्षको उमेरमा उनी नेपाल प्रवेश गरे । नेपाली साहित्य संस्थान काठमाडौँमा कार्यालय सचिव, प्रज्ञाको प्रबन्ध सम्पादक हुँदै रूपरेखा र साझा प्रकाशन आदिमा समेत जागिरे जीवन र साहित्य साधना गरेका थिए।
सन् १९६७ साहित्य संस्थान पदक, सन् १९६८ मा श्रेष्ठ साहित्यकारको रूपमा सम्मान, सन् १९६९ मा सर्वश्रेष्ठ कविका रूपमा रोयल एकेडेमी पदक र सन् १९७१ मा श्रेष्ठ साहित्यकारको रूपमा सम्मान समेत प्राप्त गरका हरिभक्त स्वतन्त्रता, स्वाभिमान र अस्तित्वका पक्षपाति थिए । स्वाभिमानी आत्मालाई ठेस लाग्ने व्यवहारहरू हुँदा उनले राजकीय प्रज्ञा प्रतिष्ठानको जागिरबाट राजिनामा दिए ।
बुहभाषिक हरिभक्त कटुवालको गीत सङ्ग्रह (गीत, सन् १९५८), सम्झना (गीत, सन् १९६०), भित्री मान्छे बोल्न खोज्छ (कविता, सन् १९६२), ऐतिहासिक (कथा, सहलेखन सन् १९६०), सुधा (खण्डकाव्य, सन् १९६४), यो जिन्दगी खै के जिन्दगी (कविता, सन् १९७२), स्पष्टीकरण (कथा, सन् १९७३), बदनाम मेरा आँखाहरू (कविता र गीत, सन् १९८७), चरित्रपाठ र शिशुबोध गरी दुई अनुवाद कृति पनि प्रकाशित छन् ।
कटुवालले मुक्ति (सन् १९५८), हिमालय (सन् १९६२), दाली (असमिया, सन् १९६४) प्रज्ञा (सन् १९७०), हिमाली (सन् १९७०), सङ्गीत सरिता (सन् १९७१) र बान्की (सन् १९७१), अभिव्यक्ति (सन् १९७८) जस्ता साहित्यिक पत्रिका र पूर्व किरण (सन् १९६४) आसामका १२ जना कविका कविताहरूको सङ्ग्रह सम्पादन समेत गरेका थिए ।
नेपाली साहित्यमा कृतिगत रूपमा गीत सङ्ग्रह बोकेर औपचारिक देखापरेका हरिभक्त कटुवाल आशावादिता र जीवनको सपनालाई विवरणात्मक कविता ‘सुधा’ को प्रवाहले पवित्र पारेर ‘पूर्वकिरण’ मा बिउँझिएका तीसको दशकका चर्चित कवि एवम् गीतकार पनि हुन् । कविता र गीतको क्षेत्रमा कटुवाल जीवन निर्माणको उच्च आदर्श र विद्रोहको प्रखर सूर्यलाई काँधमा बोकेर आएको पाइन्छ ।
भारतीय नेपालीहरूले अधिकांश समय वर्गीयभन्दा जातीय लडाइँमा लगाएका छन् । वर्गीय सङ्घर्ष गौण भएर जातीय, भाषिक तथा क्षेत्रीय सङ्घर्ष प्रमुख भएकाले भारतीय नेपाली प्रगतिवादी साहित्यको विकास एकै प्रकारले भएको देखिँदैन । जसका कारण भारतीय नेपाली कविहरूले धेरै हाँक र विषम परिस्थितिबाट गुज्रनु परिरहेको छ । आफूलाई विदेशी भनिएकोमा र विस्थापनको जटिल प्रश्न छ यहाँ । भारतीय नेपाली साहित्य प्रयोगवादमा नेपालभन्दा अगाडि छ । स्वच्छन्दतावादी र यथार्थवादी साहित्यिक धारामा भने भारतीय नेपाली साहित्यमा नेपालमा जत्तिकै कमल चलेको छ ।
भारतीय नेपाली प्रगतिवादी साहित्यको चर्चा गर्दा हरिभक्त कटुवालका प्रगतिशील तथा प्रगतिवादी विद्रोहचेत बोकेका सिर्जनाहरूलाई भुल्न मिल्दैन । हरिभक्त जन्मदा (वि.स. १९९२) नेपाली साहित्यमा देवकोटा र सिद्धिचरणहरूले रोमाण्टिक धाराको सुत्रपात गरिसकेका थिए । त्यहीँ गोपालप्रसाद रिमाल, विजय मल्लहरू रोमाण्टिक प्रगतिवादी धाराका उत्तरार्धमा प्रयोगवादी धारातिर पनि लम्कने प्रयासमा थिए । पछि हरिभक्त काव्य यात्राको उर्वर चरणमा प्रवेश गर्दा नेपाली साहित्य र संगीत जगत्मा नयाँ भाव, नयाँ शैली र शिल्प प्रयोग हुन थालिसकेको थियो । नेपाली साहित्यमा प्रयोग हुन थालेको यस धारलाई सरल र सम्प्रेषणीय लोकधरातलमा ल्याउन भूपि शेरचनपछि हरिभक्त कटुवालको महत्वपूर्ण योगदान रहेको छ ।
कला र शब्दको गरिमालाई जस्तोसुकै अवस्थामा पनि नभुल्ने हरिभक्त कटुवाल नेपाली कवितायात्रामा स्वच्छन्दतावादी प्रगतिवादी धाराका कवि हुन् । वि.स. २०१२ सालतिरदेखि नेपाली साहित्यमा कलम चलाउन थालेका कटुवाल प्रारम्भमा असमिया भाषामा सिर्जना गर्ने कवि हुन् । उनी समसामयिक धाराका कवितालेखनमा पनि सक्रिय रहे । उनले आफ्ना कवितामा मानवजीवन, जीवनभोगाई, सामाजिक विषमता, आशाा निराशा, विसङ्गति र जीवनप्रतिको आस्थालाई विषय बनाए ।
रचयिता हरिभक्त कटुवाल आशा, उमङ्ग र प्रेरणाको सन्देश प्रवाह गर्ने प्रगतिवादी विद्रोही कवि हुन् ।
अधिकांश रचनाहरूमा उत्साह र जाँगरका लहरहरू सल्बलाएका पाइए पनि दुःख र वियोगका बादलले जिन्दगीको घामलाई डिब्रुगढ स्थित मेडिकल कलेजमा २०३७ साल भदौ २५ गते छोप्यो । घामको झुल्का पोखिने आँगन पनि स्तब्ध भयो । तुसारो पर्यो । हुस्सुले छोप्यो । शीतले भिज्यो ।