11/08/2026
"रिम्बिक मानेडाँडा साम्तेन गुम्बा परिसरमा रहेको प्राचीन चैत्य"
नमस्कार 🙏
म रिम्बिक मानेडाँडा साम्तेन गुम्बाको प्रमुख लामा l
आज हामीले यस प्राचीन चैत्यको रङरोगन तथा संरक्षणको शुभकाम सम्पन्न गरेका छौँ।
यसै अवसरमा म यस चैत्यको बारेमा केही कुरा भन्न चाहन्छु।
स्थानीय इतिहास र परम्पराअनुसार, यो चैत्य करिब डेढदेखि दुई सय वर्ष पुरानो भएको अनुमान गरिएको छ।
यस चैत्यको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यहाँ ढुङ्गामा कुँदिएका मन्त्र र देवताका सुन्दर आकृतिहरू हुन्। धेरै वर्षअघि नै ढुङ्गामा अत्यन्तै सुन्दर तरिकाले यी मन्त्र र देवताका आकृतिहरू कुँदिएका छन्।
यसमा तीन प्रमुख देवताका आकृतिहरू देख्न सकिन्छ।
बीचमा अवलोकितेश्वर,
एकातिर मञ्जुश्री,
र अर्कोतिर वज्रपाणीको आकृति रहेको छ।
यी तीनवटा आकृतिले हामीलाई जीवनका धेरै महत्वपूर्ण शिक्षा दिन्छन्।
सबैभन्दा पहिले, बीचमा रहेको अवलोकितेश्वरले दया, मैत्री र करुणाको सन्देश दिनुहुन्छ।
यसको अर्थ हामीले कुनै पनि काम गर्दा अरूलाई नराम्रो नहोस् भन्ने भावना राख्नुपर्छ। अरूको दुःख बुझ्नुपर्छ, अरूको हित र कल्याण सोच्नुपर्छ, र सकेसम्म निःस्वार्थ भावले अरूलाई सहयोग गर्ने प्रयास गर्नुपर्छ।
त्यसपछि मञ्जुश्रीले हामीलाई ज्ञान र विवेकको शिक्षा दिनुहुन्छ।
हामीले कुनै पनि काम हतारमा गर्नु हुँदैन। कुनै निर्णय लिनुभन्दा पहिले राम्रोसँग सोच्नुपर्छ। सही र गलत कुरा आफ्नो विवेकले छुट्याउनुपर्छ। आफ्नो ज्ञान र विवेक प्रयोग गरेर विषयलाई राम्रोसँग बुझेर मात्र काम गर्नुपर्छ भन्ने सन्देश मञ्जुश्रीले दिनुहुन्छ।
त्यसैगरी, वज्रपाणीले हामीलाई शक्ति, साहस, ऊर्जा र धैर्यको सन्देश दिनुहुन्छ।
राम्रो सोच्नु मात्र पर्याप्त हुँदैन। विवेक प्रयोग गरेर सही निर्णय लिनु मात्र पनि पर्याप्त हुँदैन। त्यसलाई व्यवहारमा उतार्न साहस, धैर्य, ऊर्जा र शक्ति चाहिन्छ।
हामीले सुरु गरेको राम्रो कामलाई बीचमै छोड्नु हुँदैन। धैर्य र निरन्तरताका साथ त्यसलाई अगाडि बढाउनुपर्छ।
यसरी हेर्दा, यी तीन देवताका आकृतिले हामीलाई एउटा धेरै सुन्दर र गहिरो शिक्षा दिन्छन्।
अवलोकितेश्वरले करुणा सिकाउनुहुन्छ।
मञ्जुश्रीले ज्ञान र विवेक सिकाउनुहुन्छ।
र वज्रपाणीले शक्ति, साहस र निरन्तरता सिकाउनुहुन्छ।
अर्थात्, पहिले हाम्रो मनमा करुणा हुनुपर्छ। त्यसपछि सही ज्ञान र विवेकले सोच्नुपर्छ। अनि सही कामलाई साहस, शक्ति र धैर्यका साथ निरन्तर अगाडि बढाउनुपर्छ।
आजभन्दा करिब डेढदेखि दुई सय वर्षअघि हाम्रा अग्रजहरूले यस्तो महत्वपूर्ण शिक्षालाई आफ्नो व्यवहारमा मात्र उतार्नुभएन, ढुङ्गामा कुँदेर भावी पुस्ताका लागि पनि सुरक्षित राख्नुभयो।
सायद उहाँहरूको सोच यही थियो—कागजमा लेखिएका कुराहरू समयसँगै हराउन सक्छन्, तर ढुङ्गामा कुँदिएको ज्ञान धेरै पुस्तासम्म सुरक्षित रहन सक्छ।
त्यसैले यो चैत्य केवल पूजा गर्ने ठाउँ मात्र होइन। यो हाम्रो इतिहास, संस्कृति, कला र बौद्ध शिक्षाको एउटा महत्वपूर्ण उदाहरण हो। यो हाम्रो साझा सम्पदा पनि हो।
यसलाई हेर्दा परापूर्वकालमा हाम्रा पुर्खाहरू कति बुद्धिमान, कति सीपयुक्त र कति ज्ञानवान थिए भन्ने कुरा पनि बुझ्न सकिन्छ।
ढुङ्गामा कुँदिएका मन्त्र र देवताका सुन्दर आकृतिहरूले हाम्रा पुराना पुस्ताको कला र शिल्पलाई पनि देखाउँछन्।
त्यसैले आजको पुस्ताले यस्तो प्राचीन सम्पदाको संरक्षण गर्नु धेरै आवश्यक छ। हामीले यसलाई जोगाउन सक्यौँ भने आउने पुस्ताले पनि यसलाई देख्न, बुझ्न र यसबाट शिक्षा लिन सक्नेछन्।
अन्त्यमा, यो चैत्यले हामीलाई एउटा सरल तर गहिरो सन्देश दिन्छ—
मनमा करुणा राखौँ,
विवेकले सोचौँ,
र साहस तथा धैर्यका साथ राम्रो काम गरौँ।
धन्यवाद।
भवतु सब्ब मङ्गलं।