29/08/2026
🕊️ हार्दिक श्रद्धाञ्जली तथा भावपूर्ण समवेदना 🕊️
विसं २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आफ्नो सम्पूर्ण धनसम्पत्ति गुमाउनुका साथै परिवारका सदस्यहरू—श्रीमती, बुहारी तथा नानीबाबुलाई सुरक्षित स्थानमा पुर्याउने क्रममा परिवारका मुख्य अभिभावक तथा आदरणीय पिता श्री राजकुमार थापा मगरज्यू भोटेकोशीको भीषण भेलमा परी बेपत्ता हुनुभएको र अन्ततः दुःखद निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौँ।
आफ्नो परिवारलाई बचाउने क्रममा आफ्नै ज्यानको समेत पर्वाह नगरी अन्तिम क्षणसम्म परिवारको सुरक्षाका लागि संघर्ष गर्नुभएका स्वर्गीय राजकुमार थापा मगरज्यूको साहस, त्याग र अभिभावकीय कर्तव्यप्रति उच्च सम्मान व्यक्त गर्दछौँ।
यस अकल्पनीय प्राकृतिक विपत्तिले उहाँको परिवारमा पुर्याएको अपूरणीय क्षतिप्रति नेपाल आदिवासी जनजाति संघ, आयरल्याण्ड गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त छोरा राजेश थापा मगरज्यू, उहाँको परिवार तथा सम्पूर्ण आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ।
यस दुःखको घडीमा राजेश भाइ तथा उहाँको परिवारलाई राहत, पुनःस्थापना तथा आगामी जीवनयात्रामा आवश्यक आर्थिक, मानसिक र भौतिक सहयोग पुर्याउन नेपाल आदिवासी जनजाति संघ, आयरल्याण्ड आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
साथै, आयरल्याण्डमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली समुदाय, विभिन्न संघ–संस्था, समाजसेवी तथा दाजुभाइ–दिदीबहिनीहरूलाई यस कठिन परिस्थितिमा एकजुट भई राजेश भाइको परिवारलाई यथाशक्य सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ।
🙏 सम्पूर्ण नेपालमा आएको बाढी तथा पहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूप्रति पनि हाम्रो गहिरो दुःख, समवेदना र प्रार्थना छ।
जसले आफ्ना प्रियजन गुमाउनुभएको छ, उहाँहरू सबैप्रति हार्दिक श्रद्धाञ्जली।
जो अझै बेपत्ता हुनुहुन्छ, उहाँहरू सकुशल भेटिनुहोस् भनी हामी हृदयदेखि प्रार्थना गर्दछौँ।
घाइते तथा विस्थापित सबैले शीघ्र राहत, उपचार र सुरक्षित आश्रय प्राप्त गरून्।
शोकसन्तप्त परिवारहरूलाई यो असह्य पीडा सहन सक्ने शक्ति र धैर्य प्राप्त होस्।
🕯️ दिवंगत आत्माहरूले चिरशान्ति प्राप्त गरून्।
🙏 बेपत्ता सबैजनाको सकुशल उद्धार होस्।
❤️ शोकमा रहेका सम्पूर्ण परिवारजनप्रति हाम्रो साथ, समर्थन र प्रार्थना सदैव रहनेछ।
नेपाल आदिवासी जनजाति संघ, आयरल्याण्ड
🕊️ भावपूर्ण श्रद्धाञ्जली। हार्दिक समवेदना।