18/09/2025
हामी लेटाङका Gen-Z युवाहरूले आज हाम्रो आवाज र मागहरू सहितको औपचारिक ज्ञापनपत्र नगरप्रमुख भुपेन्द्र कुमार लावतीज्यूलाई बुझाएका छौँ।
हाम्रो ज्ञापनपत्रमा खोला दोहन रोकथाम, ठेक्का प्रक्रियामा पारदर्शिता, शिक्षा–स्वास्थ्य सुधार, रोजगारी सिर्जना, सम्पत्ति छानबिन र नगर सुधारका विषयहरू प्रमुख एजेन्डा हुन्। विशेष गरी हामीले खोलाको अनियन्त्रित उत्खननलाई नगरकै मुख्य समस्या मानेर तत्काल रोक्न माग गरेका छौँ।
हामिले एक हप्ताभित्र प्रत्येक वडागत रूपमा समस्या राख्न र समाधान खोज्न कार्यपालिकाको टोलीसँग प्रत्यक्ष संवादको वातावरण मिलाउन नगरप्रमुखज्यूलाई अनुरोध गरेका थियौँ। यसबारे उहाँले हामीलाई एक हप्ताभित्र आवश्यक वातावरण सृजना गर्ने जानकारी दिनुभएको छ।
नगरप्रमुखले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्दै उठाइएका मागहरू न्यायोचित रहेको स्वीकार गर्नुभयो। साथै, उहाँले भोलि संविधान दिवसको दिन अपराह्न ३ बजे नगरभवनमा संविधान दिवस विशेष कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो र सबै Zen-Z Letang का सदस्यहरुलाई सहभागी हुन आग्रह गर्नुभयो।
हामी Gen-Z ले सडक, शिक्षा, स्वास्थ्य, कृषि र सार्वजनिक सेवासहित नगर सुधारका मुद्दा निरन्तर उठाइरहने स्पष्ट घोषणा गरेका छौँ। साथै, लेटाङ–कानेपोखरी सडकमा गुड्ने सार्वजनिक बसहरूको अवस्था तत्काल परीक्षण गर्नुपर्ने हाम्रो माग पनि छ।
हामी स्पष्ट पार्छौँ — यदि हाम्रो मागहरू बेवास्ता भए भने हामी दबाबमूलक आन्दोलनका चरणतर्फ अघि बढ्न बाध्य हुनेछौँ।
Zen-Z Letang