27/07/2026
🇳🇵नेपाल सन्दर्भ :रुन्छ नि मन किन रुदैन?!
ब्यबस्थाहरु परिवर्तन हुँदै आईरहेका छन् तर अवस्था अझै परिवर्तन हुन नसकेको जस्तो लाग्छ..... आशा अझै जिउँदै छ !
यो भिडियो क्लिप नै हो, जसले मेरो मनमस्तिष्क हल्लाईदिएको थियो । म धेरै रोएकी थिए, जतिपटक हेर्छु मुटु भक्कानिएर आउँने अनि एक्लै रुन्थे । हाम्रो देश र हाम्रो ती हुँदा खाने नेपालीहरुको भोगाइ, पिडा ब्यथा अनि कोरोना भाईरस महामारी संम्झेर मनमा केही गरौं भन्ने हुटहुटी जागेर आउँने थियो । तर के गर्ने कसो गर्ने स्थिति यस्तो कि मेरो अरु जोकोहीको आफ्नै जीवनको कुनै टुङ्गो थिएन, जुनसुकै बेला जेपनि हुन सक्थ्यो । ती दिनहरु आज स्मरण गर्दा पनि जीउ सिरिङ्ग हुन्छ, एकप्रकारको उकुसमुकुसपना अझै पनि हुने गर्दछ । त्यस्तो महाबिपत्ती अब कहिल्यै नदोहोरिऊन् ।
जतिबेला हङकङदेखि नजिकै चीनको एउटा प्रान्तबाट सानो आगोको झिल्को सरी साधारण रुघाखोकी जस्तै लक्षण भएको श्वासप्रश्वास संम्बन्धी रोगले बिश्वमा महामारीको रुप धारण गरेर धेरै मानिसहरुको अकालमा ज्यान लिईसकेको अवस्था थियो । स्वास्थ्य, सुरक्षा, सेवासुविधा, बिज्ञान एवं प्रविधि, राज्य संयन्त्र तथा नितीनियम आदि सबैसबै असफल भएको विषम एवं भयावह अवस्था बिश्वले सामना गरिरहेको थियो । ग्लोबल सुरक्षा नीति अनुसार मानवको सर्वोपरि हित एवं कल्याण र शान्ति सुरक्षाको दृष्टिकोणले बिश्व स्वास्थ्य संघले संसारभर निश्चित मापदण्ड तय गरी विभिन्न चरणमा विविध तहमा लक डाउनको नीति अवलम्बन गरेको थियो । यस्तैमा हाम्रो देश नेपाल पनि तत्कालीन अवस्थामा कोभिड-१९ को ईपिसेन्टर ठम्याइ- 'रेड जोन'मा राखेको थियो, लक डाउनको कडा नितीनियम लागू गरिएको थियो । कोभिड १९ महामारीले बिश्व आक्रान्त भएको समय कसलाई कतिबेला के हुने हो जीवनको कुनै टुङ्गो थिएन । यस्तो रोगले महामारीको रुप लियो कि जसको त्यतिबेला कुनै औषधोपचारको थिएन । अस्पतालहरु बिरामीको चापले गर्दा गुणस्तरीय सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरु असमर्थ भएका थिए । कोरोना भाईरसको संक्रमण दिनानुदिन फैलिनु, नियन्त्रण र रोकथामका लागि कुनै ठोस नीति तथा प्रभावकारी संयन्त्रको अभावमा विकसित मूलूकहरुका थुप्रै मानिसहरुले जीवन गुमाउनु परेको दुःखद् घटनाले भरिएका समाचारहरु टिभी रेडियो संचार माध्यममा सुन्दा र देख्दा डर र त्रासमा दिनहरु बिताउनु पर्ने बाध्यता थियोे । भनिन्छ, त्यसबेलाको परिस्थितिमा मानिसहरु बिरामी भएरभन्दा पनि समाचार र रोग प्रतिको मिथ्या अनभिज्ञताले उब्जाएको डर र त्रासले जीवन गुमाउनेहरुको संख्या निकै उच्च रहेको बिज्ञहरु अनुमान गर्दछन् । नेपालको परिप्रेक्षमा भने ज्वरोको लागि एउटा गोलि सिटामोल अनि श्वास फेर्न अक्सिजनको अभावमा मात्रै धेरैको ज्यान गुमाउन परेको थियो ।
यसै पृष्ठभूमिमा तयार पारिएको नेपाल र एउटा साधारण नेपाली नागरिकको वेदना, कथाब्यथालाई कलाको माध्यमबाट दर्शाउने कोशिश गरिएको यो भिडियो अत्यन्तै मार्मिक एवं संवेदनशील छ । कोभिड महामारीको कहालीलाग्दो दर्दनाक बिषमपरिस्थितिलाई बिषयबस्तु बनाई निर्माण गरिएको यस भिडियो क्लिपले समय बोलेको छ, एउटा राष्ट्रको सम्मानित नागरिकको अवस्थालाई उजागर गरेको छ । फेरीपनि म स्पष्ट महसुस गर्न सक्दछु कि उ भित्रको एउटा झिनो आशा भने अझै मरिसकेको छैन, जतिसुकै कठिन अवस्था किन नहोस् झिनो आशा अझै बाँचेको छ, बाँचिरहोस् मनमनमा यसैगरी..... । कलाको माध्यमबाट मार्मिक ढंगले संदेश स्वरुप आफ्नो कला प्रस्तुत गर्न सफल हुनुभएकोमा बहुप्रतिभशाली कलाकार सन्दीपलाई नमन गर्दछु उहाँको कलालाई सम्मान गर्दछु । यो उहाँको गज्जबको कलाकारिताले मेरो मनमस्तिष्कलाई आज पनि उसैगरी चिमोट्त्ने गर्दछ, त्यो समयलाई बारम्बार महसुस गर्न बाध्य तुल्याउछ । यसै भिडियोबाट प्रभावित भएर नै मैले हङकङ नेपाली महासंघको एउटा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाल परराष्ट्र मन्त्रालयले जारी गरेको राहत सामाग्री सहयोग संम्बन्धी आव्हान पत्र र महाबाणिज्यदुतावास हङकङसँग समन्वय गरी एउटा उदाहरणीय समाजसेवाको कार्य गर्ने सुअवसर जुरेको थियो । स्मरण रहोस्, नेपालभरी अक्सिजनको अभावमा बिरामीहरुले मृत्यु वरण गरिरहेको बिषमपरिस्थितीको बेला हङकङको एक दातृ संस्थाको सहयोगमा २०० वटा अक्सिजन कन्सन्ट्रेशन नि:शुल्क ७७ जिल्लामा वितरण गर्ने कार्य हङकङ नेपाली महासंघले सुसम्पन्न भएको थियो । मेरो जीवनको स्मरणीय क्षणहरुमा यो एउटा यस्तो समय कालखण्ड हो जसभित्र मैले जीवन दाउमा लगाएर समाजसेवीको उत्कृष्ट उदाहरण दिन सफल भएकी छु अनि थुप्रै तितामिठा अनुभव र अनुभूतिहरु बाँचेकी छु । प्रोत्साहन स्वरुप हङकङ पुलिस फोर्सबाट कदर पत्र र याउचिममोङ्ग जिल्ला परिषदबाट प्रशंसा पत्रबाट सम्मानित भएको क्षणले आफैलाई गर्बित एवं जिम्मेवार तुल्याउँदछ, जसलाई म कहिल्यै बिर्सन सक्दिन ।
अन्त्यमा, कोभिड आक्रान्त महामारीमा जीवन गुमाउनु हुने संसरभरीका सम्पूर्ण दिवंगत आत्माहरुको चिरशान्तीको कामना गर्दछु । साथदिनुहुने सहयोगी मनहरु प्रति हृदयदेखि नै कृतज्ञता आभार प्रकट गर्दछु अनि मृत्युलाई धेरै नजिकबाट नियालेर आज दोश्रो जिन्दगी भनौं बोनसको जिन्दगी बाँचिरहेका तपाई-हामी सबैलाई फेरीपनि धेरै धेरै बधाई तथा शुभकामना ! कुरोको बिट मार्नु अगाडि फेरी मनैदेखी अनुरोध छ की, जे सकिन्छ त्यही सबैले केही असल सामाजिक सेवा गर्दै रहौं बाँचिन्जेलीलाई💕
रिता गुरुङ
निवर्तमान अध्यक्ष तथा सेन्टर ईन्चार्ज, हङकङ नेपाली महासंघ ।
अध्यक्ष, नेपाल क्लब हङकङ ।