03/07/2026
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसले साइप्रसमा रहेका नेपाली समुदायको हक, हित, सुरक्षा तथा सहज कन्सुलर सेवाको सुनिश्चितताका लागि नागरिक बोलीद्वारा सञ्चालन भइरहेको “साइप्रसमा नेपाली दूतावास स्थापना गरौँ” हस्ताक्षर अभियानप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ।
साइप्रसमा नेपाली समुदायको संख्या निरन्तर बढ्दै गएको अवस्थामा नेपाली दूतावासको अभावले पासपोर्ट, कन्सुलर सेवा, कानुनी सहायता, आपतकालीन उद्धार तथा अन्य अत्यावश्यक सेवामा नेपालीहरूले विभिन्न कठिनाइ भोग्दै आएका छन्। यस्तो अवस्थामा साइप्रसमा नेपाली दूतावास स्थापना हुनु सम्पूर्ण नेपाली समुदायको साझा आवश्यकता हो भन्ने हाम्रो संस्थाको स्पष्ट धारणा रहेको छ।
त्यसैले नागरिक बोलीद्वारा सञ्चालन भइरहेको यस अभियानलाई सफल बनाउन साइप्रसमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, सामाजिक संघसंस्था, व्यवसायी, विद्यार्थी, बुद्धिजीवी तथा सबै सरोकारवालाहरूलाई हस्ताक्षर अभियानमा सक्रिय रूपमा सहभागी भई आफ्नो समर्थन जनाउन हार्दिक अनुरोध गर्दछौँ।
साथै नेपाल सरकार, विशेषगरी परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायसमक्ष साइप्रसमा नेपाली दूतावास स्थापना सम्बन्धी आवश्यक प्रक्रिया यथाशीघ्र अघि बढाइदिन सम्मानपूर्वक अनुरोध गर्दछौँ।
हाम्रो संस्था नागरिक बोलीद्वारा सञ्चालन भइरहेको यस अभियानप्रति पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको जानकारी गराउँदछ।
“हाम्रो आवाज, हाम्रो दूतावास।”
“साइप्रसका नेपालीको साझा अभियान – नेपाली दूतावास स्थापनाको अभियान।”
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस
Nagarik Boli