12/07/2023
येशूलाई नचिन्ने मेरा एक जना फेसबुके मित्रले मलाई धेरै कामलाग्दा र अप्ठ्यारा प्रश्नहरू सोधेर कमेन्ट गर्नुभयो। केही दिन अन्यत्रै व्यस्त रहेको कारण केही लेख्ने समय निकाल्न असमर्थ भएँ। अहिले ती प्रश्नहरूको उत्तर लेख्ने प्रयास गरिरहेछु। हुन त आलोचकहरूले बाइबलमा नभएको र बाइबलको सन्दर्भ नबुझी अनेकन् मनगढन्ते आलोचना गरिरहन्छन्। ती कुराको उत्तर पाएर पनि अनेकन् बहाना गरिरहन्छन्, अलमलमा पर्छन् वा प्रश्नकै लागि प्रश्न गरिरहन्छन्। जे भए पनि मेरा उत्तरहरूले जवाफको आवश्यकता पूरा गरे पनि सन्तुष्ट हुने वा नहुने भन्ने पाठकमै निर्भर हुन्छ।
१) येशू परमेश्वर हुनुहुन्छ: यो बुँदामा बाइबलअनुसार कुनै सन्देह छैन किनकि उहाँ नै सर्वोच्च परमेश्वरका प्रतिरूप र परमेश्वर हुनुहुन्छ। यूहन्ना १ अध्यायअनुसार दृश्य वा अदृश्य सबै कुरा उहाँद्वारा, उहाँको लागि बनिएका हुन्। उहाँलाई परमेश्वर बुझाउने अनेकन् पदहरू बाइबलमा छन्।
२) येशू परमेश्वरका पुत्र हुनुहुन्छ: यो अबधारण बुझ्न बाइबलको पृष्ठभूमि र तत्कालीन परिवेशको जानकारी हुनु महत्वपूर्ण हुन्छ। बाइबलको पुरानो र नयाँ करार दुबैले येशूलाई परमेश्वरको पुत्र भनेको छ। यूहन्ना ५:१८, "यसकारण यहूदीहरूले येशूलाई मार्न अझ बढ़ी प्रयत्न गर्न लागे किनकि उहाँले शबाथ-दिन भङ्ग गर्ने काम मात्र होइन, तर आफैलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई आफ्नै पिता भन्नुभएको थियो।" माथिको पदले यसलाई प्रष्ट्याउँछ। बाइबल लेखिने समय र परिवेशमा परमेश्वरका पुत्र भन्नु नै परमेश्वरको बराबरी भन्ने हो। त्यसकारण येशूले आफैंलाई परमेश्वर हुनुहुन्छ भन्न खोज्नुभएको हो।
३) येशू यस पृथ्वीमा सामान्य मानिस मात्रै होइन, कमाराको रूप धारण गरेर आउनुभयो। फिलिप्पी २ अनुसार उहाँ १००% मानिस र १००% परमेश्वर हुनुहुन्छ। त्यसकारण उहाँलाई मानिसको पुत्र भनिएको हो।
येशू नासरत सहरमा हुर्किनुभएको कारण उहाँलाई नासरतका अगमवक्त्ता भनिएको हो। अगमवक्त्ताले परमेश्वरको सन्देश मानिसहरूलाई सुनाउने, मानिसहरूको पाप देखाइदिने र त्यसबाट छुट्कारा पाउने बाटो देखाइदिने हो। येशूले त्यसै गर्नुभयो। यस पृथ्वीमा मानिसको रूपमा रहँदा उहाँले परमेश्वरको दासको रूपमा जीवन बिताउनुभयो। परमेश्वर मानिसजस्तै मर्नुहुन्न, त्यसकारण उहाँले मानिसको पापको लागि आफ्नो प्राण दिन मानिसको चोला लिनुभयो।
मानिसको पुत्र, परमेश्वरको पुत्र, मुक्त्तिदाता, परमेश्वरको सेवक र अन्य धेरै येशूलाई दिइएका पदावलीहरू हुन्। तर उहाँ परमेश्वरको बराबरी वा परमेश्वर नै हुनुहुन्छ। येशूलाई मानिसहरूले वा परमेश्वरले के भन्नुहुन्थ्यो भन्ने दुबै कुरा बाइबलमा छ किनकि परमेश्वरले सत्य वचनमा सबै कुरा सत्यतामा प्रकट गर्नुभएको छ।
आफ्नो कमजोर सृष्टिद्वारा येशूको हत्या भयो
येशूको जन्म, जीवन, मृत्यु र पुनरुत्थानब उहाँ आउनुभन्दा धेरै सय वर्षपहिले भविष्यवाणी भएको थियो। त्यसैअनुसार नै उहाँले पापीको लागि आफ्नो प्राण दिनुभयो। यो परमेश्वरकै योजनाअनुसार भएको हो। येशूको जीवनमा ३०० भन्दा धेरै भविष्यवाणीहरू पूरा भए। इतिहास र तथ्यले यो कुरा प्रमाणित गरेको छ। येशू व्यवस्था (तत्कालीन समयको अर्थमा धर्मकर्म) को पापबाट सबैलाई मुक्त्त गर्न क्रुसमा मर्नुभयो। फिलिप्पीमा लेखिएको छ कि परमेश्वरकै बराबरी भएर पनि उहाँ कमाराको रूप लिएर जन्मनुभयो र क्रुसको मृत्युसम्मै आज्ञाकारी भएर मानिसको मोक्षको काम सम्पन्न गर्नुभयो।
बाइबलका यी कुरा नबुझी हावामा गलत हो भन्नुभन्दा अध्ययन गरेरै विरोध गरेको भए कति राम्रो हुन्थ्यो? बाइबल शत प्रतिशत परमेश्वरको वचन हो।
येशूको खतना:
येशू तत्कालीन यहूदी समाजको व्यवस्थाको अधीनमा रहनुभयो। खतना परमेश्वरले येशूभन्दा करिब २२०० वर्षपहिले अब्राहामलाई दिनुभएको करारको चिन्ह थियो। येशूले त्यो आफ्नो शरीरमा पूरा गर्नुभयो। त्यसकारण लेखिएको हो कि येशू त्यस्ता कर्महरूको बन्धनबाट छुटकारा दिन मर्नुभयो। मोक्ष हाम्रो कर्म होइन, परमेश्वरको अनुग्रहबाट सित्तैमा पाइने कुरा हो। ती मित्रले उल्लेख गरेको २ थेसोलिनिकी २:११ को शक्त्तिशाली भ्रम ख्रीष्ट विरोधीको बारेमा हो। शैतानले पनि बाइबलकै पद गलत किसिमले प्रयोग गरेर येशूलाई परीक्षा गर्यो। येशूलाई नचिन्नेहरूले पनि कुरै नबुझी वा विरोधकै लागि हावामा बाइबलका पदहरूलाई गलत किसिमले प्रयोग गरिरहेका छन्।
बाइबलका पदहरूको लामै सूची दिएर हटाइयो वा संसोधन गरियो भन्ने कताबाट हावाका कुरा पाएछन्, ती मित्रहरूले। बाइबलको कुनै पदलाई थप्नु वा घटाउनु परमेश्वरको स्रापको हकदार बन्नु हो। बाइबलको अनुवाद ९९.५ सही छ र ०.५ प्रतिशत कमजोरी पनि भाषाको जटिलताले हुन्छ। अनि हावामा विरोधीहरूले हरेक दिन संसोधन हुन्छ भन्दा पत्याइदिनुपर्ने?
संसार भरिका विद्वानहरू र वैज्ञानिकहरूले बाइबलको आधिकारिकतामा प्रश्न गरेर खोज गरेपछि सत्य भेट्टाएका छन्। नेपालको एउटा कुनामा बसेर यही साँघुरो संसारको सीमित ज्ञानमा सर्वज्ञानी परमेश्वरको ज्ञानको बारेमा कसैले भनेको हावाका कुरामा हावा तर्क गर्नु साटो सत्यता खोजेको भए परमेश्वरले उहाँको गौरव देखाउनुहुने थियो।
बाइबलको एउटा पदलाई संसोधन गर्ने वा त्यस पदलाइ गलत अर्थ लगाउने कुनै पनि व्यक्त्तिलाई झुटा शिक्षा भनेर चर्चले बाहिस्कार गर्छ भने अनेकौं पदको संसोधन भएको छ भन्ने हावाको तर्क भएन र ? सुरुमा भएको सक्कली पाण्डुलिपिको भाषागत र व्याकरणीय सुधारबाट बाइबलको पद नै संसोधन गरेमा कुनै पनि चर्चले त्यो बाइबल स्वीकार्दैन। आजभन्दा करिब ३० वर्षपहिले नेपालमा कसैले केही शब्दहरू परिवर्तन गरेर छाप्दा त्यो बाइबल अस्वीकार भएर धेरै प्रतिहरू फाल्नुपरेको उदाहरण पनि हामीसँग छ।
-Bhuvan Devkota