25/06/2025
क्लबद्वारा किशोरी लाई आत्मरक्षा तालिम ।
उर्लाबारी / किशोरीहरूमा आत्मविश्वास, सुरक्षा र सशक्तिकरणको भावना अभिवृद्धि गर्ने उद्देश्यले उर्लाबारी नगरपालिकाको मुख्य प्रायोजन तथा उर्लाबारी युवा क्लबको आयोजनामा सञ्चालित सात दिने आत्मरक्षा तालिम सम्पन्न गरिएको छ।
असार ५ गतेदेखि उर्लाबारी–४ स्थित फुटसल मैदानमा सुरु भएको तालिममा सामुदायिक विद्यालयहरूबाट १८ जना किशोरीहरूको सक्रिय सहभागिता रहेको थियो।
कोशी प्रदेशका प्रमुख आत्मरक्षा प्रशिक्षक प्रकाश बस्नेतको सहजीकरणमा सम्पन्न ७ दिने तलिम बुधबार सम्पन्न भएको हो ।
उर्लाबारी युवा क्लवका उपाध्यक्ष मनोज तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गंगा प्रसाद खरेल रहनु भएको थियो। विशिष्ट अतिथिमा नगर उपप्रमुख मिना खतिवडा पौडेलको उपस्थिति थियो भने वडा नं. ५ का सदस्य विनोद धिमाल,उर्लाबारी युवा क्लबका अध्यक्ष तुलबहादुर थापा , पुर्व अध्यक्ष पवन थापा , रिटर्नी उर्लाबारी अध्यक्ष सन्तोष दहाल , सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष जगन्नाथ भट्टराई, केदार चौहान, सरोज बस्नेत लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि खरेलले किशोरीहरूलाई सुरक्षित, सजग र आत्मनिर्भर बनाउने अभियानमा यस्ता तालिमहरूले टेवा पुग्ने उल्लेख गर्दै, आगामी दिनमा यस्ता कार्यक्रमलाई नगरपालिकाले अझ विस्तार गर्ने प्रतिबद्धता जनाउनु भयो। उपप्रमुख मिना खतिवडा पौडेलले तालिमले किशोरीहरूमा आत्मरक्षा मात्र नभई आत्मविश्वास र सामाजिक सशक्तिकरणको मार्ग खोल्ने विश्वास व्यक्त गर्नु भयो ।
तालिमको समापन अवसरमा सहभागी सबै किशोरीहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै सुनझोडा माविकी शान्ती भुजेललाई ‘उत्कृष्ट प्रशिक्षार्थीका रुपमा सम्मान गरिएको थियो ।
तालिममा सहभागी किशोरीहरूले प्राप्त सीप र ज्ञानले आफूहरूलाई सशक्त बनाएको अनुभूति व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।
समापन कार्यक्रमको संचालन उर्लाबारी युवा क्लबका पुर्व अध्यक्ष एवं कार्यक्रम सम्योजक घनश्याम भण्डारीले गर्नु भएको थियो ।