27/07/2026
इटहरीमा सीप तथा रोजगारी विकासका लागि योजना, गुणस्तर र समन्वयमा जोड
इटहरी । इटहरीमा सीप तथा रोजगारीको विकासका लागि तथ्यांक र योजनाका आधारमा काम गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सँगै उनीहरुले तालिमको गुणस्तर वृद्धि गर्नुपर्ने र तालिमका लागि व्यक्ति छनोटदेखि रोजगार खोज्नेसम्मका काममा समन्वयात्मक तरिकाले अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आज इटहरीमा भएको ‘भोलिको इटहरीमा सीप तथा रोजगारीको विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले स्थानीय सरकार, तालिम प्रदायक संस्था, उद्योग–व्यवसायी र रोजगारदाताबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, कोशी प्रदेश समिति र व्यावसायिक सीप तथा तालिम प्रदायक संघ कोशी प्रदेश समितिको सहकार्यमा
नेप्ली मिडिया प्रालि इटहरीद्वारा आयोजित कार्यक्रममा विभिन्न व्यावसायिक सीप तथा तालिम प्रदायक संघ, व्यवशायीहरुले समस्याहरु उजागर गर्नुका साथै समाधानका उपायहरुसमेत सुझाएका थिए ।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, कोशी प्रदेश समितिका अध्यक्ष कृष्ण शाहले स्थानीय तहले प्राविधिक शिक्षाको व्यवस्थापन गर्ने जिम्मेवारी पाए पनि दर्ता भएका तालिम प्रदायक संस्थाको प्रवर्द्धनमा ध्यान नदिएको बताए । उनले गुणस्तरीय तालिमको अभाव, पुराना पाठ्यक्रम, सीप परीक्षण प्रणालीमा देखिएका विकृति सच्याउनुपर्नेमा जोड दिनुका साथै बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उनले सिटिइभीटीले पाठ्यक्रम परिमार्जन गर्नुपर्ने सुझाए ।
उनले स्थानीय सरकारले हरेक वर्ष आवश्यक जनशक्तिको प्रक्षेपण (सार्वजनिक गर्नुपर्ने र त्यहीअनुसार तालिम प्रदायक संस्थाहरुले तालिम सञ्चालन गर्नुपर्ने धारणा राखे । रोजगार बजारसँग तालिम केन्द्रलाई जोड्नुपर्नेमा जोड दिए । उनले इटहरीमा तालिम प्रदायक संस्थाहरु हुँदा हुँदै विभिन्न संघ संगठन र संस्थाहरुले तालिम चलाउनु र स्थानीय तहले उनीहरुलाई नै बजेट दिँदा तालिम प्रदायक संस्थाहरु निराश रहेको बताए ।
यस्तै सौन्दर्यकला व्यवशायी संघकी अध्यक्ष बिजु श्रेष्ठले बजारमा तालिम केन्द्रहरूबीच अस्वस्थ प्रतिस्पर्धा रहेको गुनासो गरिन् । उनले सीटीईभीटीको पाठ्यक्रम समयानुकूल परिमार्जन आवश्यक भएको बताइन्। उनले सम्बन्धित विषयका दक्ष जनशक्तिलाई नै स्थानीय तहले तालिमहरुमा प्राथमिकता दिनुपर्ने धारणा राखिन् ।
अर्की तालिम प्रदायक कमला दाहाल न्यौपानेले सौन्दर्यकला व्यवसायको क्षेत्रमा हुने तालिमलाई उपेक्षा गरिएकोमा दुःखेसो गरिन् । उनले दुःख पाएका धेरै महिलाहरु यो पेशाबाट जीविकोपार्जन गर्न सक्षम बनेको उदाहरण दिँदै रोजगारी बढाउने सीपहरुलाई प्रबद्र्धन गर्नुपर्ने बताइन् । उनले विभिन्न परियोजनामार्फत सञ्चालन भएका निःशुल्क तालिमले धेरैलाई स्वरोजगार बनाएको अनुभव सुनाउँदै बजेट सक्नेभन्दा पनि तालिमहरु रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने बताइन्।
उद्यमशील विकास महासंघ सुनसरी अध्यक्ष रञ्जु सिग्देलले स्थानीय तहले आवश्यकताको अध्ययनबिनै तालिम सञ्चालन गर्ने गरेको भन्दै वास्तविक मागका आधारमा तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिइन्। उनले तालिमसँगै उत्पादनको बजारीकरण र रोजगारी सुनिश्चित गर्ने नीति आवश्यक रहेको बताइन्। एकै जनाले धेरै खालका तालिमहरु लिने गरेको बताउँदै उनले आवश्यकताका आधारमा योजना बनाएर मात्र तालिम दिनुपर्ने बताइन् ।
ड्राइभिङ एशोसिएसनका योगेन्द्र पोख्रेलले राज्यले लगानी गरेर दिएका हरेक तालिमको उपलब्धी पनि हेर्नुपर्ने बताए । राज्यको लगानी बालुवामा पानी हुन नहुने बताए । जनशक्ति उत्पादन गरिसकेपछि पुर्ण दक्ष बनाउनेगरी गर्नुपर्ने बताए ।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ कोशी प्रदेश समितिका सचिव नवराज दाहालले इटहरीमा रहेका तालिम प्रदायक संस्थाको आधिकारिक सूची तयार गर्नुपर्ने र सीपसम्बन्धी वार्षिक क्यालेन्डर निर्माण गरेर तालिमहरु व्यवस्थित तवरले सञ्चालन गर्नुपर्ने प्रस्ताव राखे । व्यवसायीहरू संगठित भएर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए ।
इटहरी उद्योग वाणिज्य संघकी अध्यक्ष गायत्री कटवाल भण्डारीले सीप विकास र रोजगारी विस्तारका लागि सम्बन्धित सबै पक्षसँग सहकार्य गर्न उद्योग वाणिज्य संघ तयार रहेको बताइन्। उनले व्यवसायीहरूको हकहित संरक्षणसँगै सीप र उद्यम विकासमा संघले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।
होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जयप्रसाद उपाध्यायले दक्ष जनशक्तिको अभाव होटल क्षेत्रमा गम्भीर समस्या बनेको बताए। उनले अबको १५ वर्षमा इटहरीमै तालिम लिएर इटहरीमै रोजगारी पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले सीप तथा रोजगार विकासका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
नेपाल तालिम तथा रोजगार व्यवसायी संघ उपाध्यक्ष सुमन शाहले प्राविधिक तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए। उनले तालिम सञ्चालन गर्ने संस्थाको दर्ता प्रक्रिया सरल बनाउनुपर्ने, स्किल टेस्ट प्रणालीलाई थप व्यवस्थित गर्नुपर्ने तथा पुराना संस्थाको प्रवर्द्धनमा सरकारले ध्यान दिनुपर्ने धारणा राखे।
जिल्ला होटल तथा लज व्यवशायी संघका अध्यक्ष तेजबहादुर पुरीले बारिस्टालगायत विभिन्न तालिम सञ्चालन भए पनि दक्ष जनशक्ति अभावका कारण रोजगारदाताले कर्मचारी पाउन कठिन भएको बताए । उनले दक्ष जनशक्ति उत्पादन सकेसम्म गर्न अनुरोध गरे ।
व्यावसायिक सीप तथा तालिम प्रदायक संघका अध्यक्ष रमेश कटुवालले सरकारी तालिम कार्यक्रम सञ्चालनमा पारदर्शिता आवश्यक रहेको बताए । उनले आर्थिक अनुदान र सहयोगका आधारमा सञ्चालन हुने तालिमका लागि विद्यार्थीलाई आफूले रोजेको तालिम केन्द्र छान्न सक्ने भौचर प्रणाली लागू गर्नुपर्ने सुझाव दिए। यसले संस्थाबीच स्वस्थ प्रतिस्पर्धा र गुणस्तर बढ्ने उनको भनाइ थियो ।
होटल व्यवसायी पुनम थापामगरले सीपमूलक तालिमकै कारण होटल व्यवसायको स्तर उल्लेखनीय रूपमा सुधारिएको अनुभव सुनाइन्। तालिमले युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ आकर्षित गरेको भन्दै गुणस्तरीय तालिमलाई थप विस्तार गर्नुपर्ने बताइन्। तालिमका लागि लाग्ने शुल्क तिर्न नसक्नेहरुले विभिन्न संस्थाहरुको सहयोगमा सञ्चालित तालिमहरुले सहयोग गरेको बताइन् ।
कार्यक्रममा बोल्दै व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीका प्रमुख अशोक शाहले नयाँ नियमावलीमार्फत व्यावसायिक तालिम प्रणाली सुधार गर्ने प्रयास भइरहेको जानकारी दिए। उनले उद्योगसँग सहकार्य गरी अप्रेन्टिससिपमा आधारित तालिमलाई प्राथमिकता दिनुपर्ने, आधुनिक प्रयोगशाला निर्माणमा तालिम प्रदायकहरुले पनि जोड दिनुपर्ने, विशेषीकृत तालिम केन्द्र तथा प्रभावकारी अनुगमन प्रणाली आवश्यक रहेको बताए। सर्वेक्षणअनुसार करिब ४८ प्रतिशत प्रशिक्षार्थी रोजगारीमा आबद्ध भएको तथ्यांक पनि उनले प्रस्तुत गरे।
कार्यक्रममा बोल्दै नेप्ली मिडिया प्रालिका निर्देशक हिमाल दाहालले दक्ष जनशक्ति, रोजगारको क्षेत्र र तालिम केन्द्रलाई जोड्ने गरि काम गर्न आवश्यक रहेको बताए । उनले स्थानीय तह, सिटिइभीटी, प्रशिक्षण प्रतिष्ठान, रोजगारदाता, तालिम प्रदायक संस्थाहरु मिलेर तथ्यांकका आधारमा काम गर्नुपर्नेमा जोड दिँदै छलफल र अध्ययन गरी दीर्घकालिन योजना बनाएर अघि बढ्नुपर्ने बताए ।
सहभागीहरूले अहिले सरकारी स्तरबाट सञ्चालन भएका तालिममा तालिम सञ्चालन गर्ने र अनुगमन गर्ने संस्था एउटै हुँदा गुणस्तर मापन तथा नियमनमा कठिनाइ भएको तालिम प्रदायकहरुको गुनासो थियो । उनीहरुले तालिमको जिम्मा आफुहरुलाई दिन सरकारसँग माग गरे ।
कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघकी अध्यक्ष गायत्री कटवाल भण्डारीलाई नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, कोशी प्रदेश समितिका अध्यक्ष कृष्ण शाह तथा व्यावसायिक सीप तथा तालिम प्रदायक संघका अध्यक्ष रमेश कटुवालले सम्मान गरेका थिए।
कार्यक्रम अर्ल इलेक्ट्रोनिक्स ट्रेनिङ सेन्टर इटहरीको तालिमहलमा सम्पन्न भएको थियो ।