18/05/2025
वीरेन्द्रनगरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
वीरेन्द्रनगर, सुर्खेत — वीरेन्द्रनगर जेसीजको आयोजनामा तथा मेटलाइफको सहकार्यमा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मध्यपश्चिम विश्वविद्यालयको सेमिनार हलमा शनिबार आयोजित उक्त शिविर विहान ८ बजे सुरु भई साँझ ५ बजेसम्म सञ्चालन भएको थियो।
शिविरको उद्घाटन मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलले रक्तचाप र सुगर परीक्षण गरेर गर्नुभएको थियो। कार्यक्रममा कुल ३५३ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि प्राप्त गरेका छन्।
शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। नाक, कान, घाँटी रोग विशेषज्ञ डा. पारस पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डा. कृतिका थापा, जनरल फिजिसियन तथा सर्जन डा. कुलराज शाही, डेन्टल तथा अर्थोडेन्टिस्ट डा. सुरक्षा सिंह ठकुरीले बिरामीको चेकजाँच तथा परामर्श सेवा उपलब्ध गराएका थिए।
कार्यक्रमका संयोजक श्याम कुमार थापाका अनुसार दुर्गम बस्ती झुप्रा तथा गिरिघाट क्षेत्रबाट विरामीहरूलाई ल्याउन र स्वास्थ्य सेवा प्राप्त गरेपछि पुनः फर्काउनका लागि बसको विशेष व्यवस्था गरिएको थियो। यसले दुर्गम क्षेत्रका नागरिकहरूलाई समेत स्वास्थ्य सेवामा पहुँच सहज बनाएको छ।
प्रेसर तथा मधुमेहका बिरामीहरूलाई १ देखि ३ महिनासम्म पुग्ने औषधि निःशुल्क वितरण गरिएको जानकारी थापाले दिनुभयो।
मेटलाइफको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरिएको मेटलाइफ सुर्खेत शाखाका प्रमुख दिलीपजंग शाहीले जानकारी दिनुभयो। उहाँले आगामी दिनहरूमा पनि समाजमा सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रमहरूमा मेटलाइफको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो।
स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको शिविरमा सेवाग्राहीहरूले राम्रो सेवा पाएको प्रतिक्रिया दिएका छन्। आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वपूर्ण कार्यहरू निरन्तर गरिरहने प्रतिबद्धता जनाएको छ।