16/05/2026
मिति २०८३ साल बैशाख २८ गते, पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA Screening) कार्यक्रमसहित महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त कार्यक्रम भेरीगंगा नगरपालिका–१२, सुर्खेत स्थित चिन्चु स्वास्थ्य चौकीद्वारा हाम्रो बहिनी सुर्खेत (United for Impact), सुर्खेत महिला स्वास्थ्य क्लिनिक, Happy Souls तथा Inner Wheel Club of Surkhet Valley सँगको सहकार्यमा आयोजना गरिएको थियो।
कार्यक्रममा ३० देखि ५० वर्ष उमेर समूहका महिलाहरूलाई लक्षित गरिएको थियो। VIA Screening कार्यक्रममा कुल १२९ जना महिलाहरूको सहभागिता रहेको थियो, जसमध्ये ११ जना शंकास्पद पोजेटिभ तथा ७ जना पोजेटिभ देखिएका थिए। पोजेटिभ देखिएका महिलाहरूलाई मनोसामाजिक परामर्श तथा थप जाँच र उपचार प्रक्रियाबारे आवश्यक परामर्श प्रदान गरिएको थियो।
कार्यक्रम सफल बनाउन आवश्यक सामग्री उपलब्ध गराउनुका साथै VIA Screening सञ्चालन र सचेतनामूलक कार्यक्रमका लागि व्यवस्थित तथा सहज वातावरण प्रदान गर्नु भएकोमा चिन्चु स्वास्थ्य चौकी परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं। साथै, पाठेघरको मुखको क्यान्सर परीक्षणमा आफ्नो महत्वपूर्ण विशेषज्ञता प्रदान गर्नु भएकोमा सुर्खेत महिला स्वास्थ्य क्लिनिकका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राम बिष्टाप्रति विशेष धन्यवाद व्यक्त गर्दछौं।
त्यसैगरी, कार्यक्रमको समन्वय तथा सहयोगका लागि Happy Souls तथा Inner Wheel Club of Surkhet Valley प्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौं। अन्त्यमा, यस कार्यक्रमको महत्वलाई बुझी अपेक्षाभन्दा बढी संख्यामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण सहभागी महिलाहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।