21/01/2026
वालेन शाहले जनकपुरमा गरेको भाषण मिठो थियो, तर राजनीति भाषणले होइन नीति, निरन्तरता र व्यवहारले मापन हुन्छ । बालेन शाहको जनकपुर अभिव्यक्तिलाई उनको मेयरकाल र राजनीतिक लाइनसँग जोडेर हेर्दा गम्भीर विरोधाभासहरू देखिन्छन् ।
१. संघीयता र प्रदेश सशक्तिकरण: शब्द र संगठनबीचको विरोधाभास
बालेन शाहले जनकपुरमा प्रदेश सशक्त बनाउने कुरा गरे ।
तर जसको राजनीतिक घेराभित्र उनी देखिन्छन्, त्यही धार (रास्वपा र त्यससँग जोडिएका विचार) ले प्रदेश संरचना नै खारेज गर्नुपर्छ भन्ने लाइन लिएको छ ।
प्रश्न स्पष्ट छः
प्रदेशको अस्तित्वमाथि नै प्रश्न उठाउने राजनीतिक धारमा उभिएर मधेशलाई सशक्त बनाउने कुरा कसरी विश्वसनीय हुन्छ?
यो मधेशका लागि अधिकार विस्तार होइन, अधिकारको पुनः केन्द्रीयकरण तर्फको संकेत होइन र ?
२. काठमाडौं निर्भरता घटाउनेः नीति कि नारामात्र ?
बालेनले काठमाडौं–केन्द्रित सोच अन्त्य गर्ने कुरा गरे ।
तर मेयर हुँदा काठमाडौंमा के भयो ?
– फुटपाथमा जीविकोपार्जन गर्ने साना व्यापारी
– मकै, चटपटे, फलफूल बेच्ने गरिब परिवार, जसमा ठूलो हिस्सा मधेसी समुदायको थियो,
उनीहरूलाई नागरिक विकल्प नदिई बल प्रयोग गरेर हटाइयो ।
न त वैकल्पिक बजार बनाइयो, न त पुनस्र्थापना योजना ।
नतिजा के भयो?
कसैलाई गाउँ फर्कन बाध्य बनाइयो, कसैलाई विदेशिन ।
अब प्रश्न उठ्छः
जनकपुरमा आएर “आत्मनिर्भर अर्थतन्त्र” को कुरा गर्नु
त्यही समुदायलाई काठमाडौंमा विस्थापित गरेर गरिएको भाषण हो कि होइन ?
३. धार्मिक भावनाको प्रयोग ः आस्था कि अवसर ?
जनकपुर पुगेर जानकी मन्दिर दर्शन गरियो, यो राम्रो कुरा हो ।
तर प्रश्न दर्शन होइन, निरन्तरता र निष्ठाको हो ।
३ वर्ष काठमाडौंको मेयर हुँदा
– पशुपतिनाथ मन्दिरमा औपचारिक दर्शन ? शून्य
– पशुपति क्षेत्रको सांस्कृतिक नेतृत्व ? मौन
अब जनकपुर आएर
“काठमाडौं घुम्न जाने, पशुपति दर्शन गर्ने” भन्ने लाइन प्रयोग गरिन्छ ।
अव स्वाभाविक प्रश्न उठ्छः
यदि आस्था यति नै महत्त्वपूर्ण थियो भने
आफ्नै कार्यकालमा किन देखिएन ?
कि मधेशमा आएपछि मात्रै धर्म र भावना सम्झिने हो ?
४. मेयरकालका बाचा: केही सीधा प्रश्नहरू????
क. २ दिनमा काठमाडौंको फोहोर व्यवस्थापन हुन्छ, फोहोरबाट मोहोर बन्छ, बजेटको कमी छैन, २ अर्वमा सवै काम हुन्छ भन्ने कुरा कहाँ पुग्यो ?
यदि यो गम्भीर योजना थियो भने आज पनि फोहोर किन उस्तै छ ?
कि यो चुनाव जित्नका लागि गरिएको भावनात्मक घोषणा मात्रै थियो ?
ख. ठेला हटाउँदा समस्या समाधान भयो कि गरिबलाई लुकाइयो मात्र ?
वैकल्पिक बजार, पुनस्र्थापना र रोजगारी योजना बिना ठेला हटाउनु
नीति हो कि दृश्यात्मक पिआर ?
ग. पार्क, स्मार्ट पार्किङ योजना धेरै, नतिजा किन कम ?
घोषणा गर्नुभन्दा कार्यान्वयन गाह्रो हुन्छ भन्ने थाहा हुँदाहुँदै
किन अधुरा योजनालाई “क्रान्ति” भनेर बेचियो ?
घ. असफलताको जिम्मेवारी सधैं अरूले नै लिनुपर्ने हो ?
बजेट आएन, संघले दिएन, अधिकार छैन
त्यसो भए नेतृत्वको काम के हो ? बहाना कि समाधान ?
ङ सीमित अधिकारमै वाचा पूरा गर्न नसक्नेले
राष्ट्रव्यापी ठूला वाचा कसरी पूरा गर्छ ?
यो प्रश्न सोध्नु गलत हो कि अनिवार्य ?
च. काम अधुरो भए पनि
“सिस्टम हल्लाएँ” भन्ने भाष्य किन यति जोडले बेचियो ?
नतिजा भन्दा छवि ठूलो बनाउनु
नेतृत्व हो कि भावनासँग खेल्ने राजनीति ?
छ. स्थानीय तहमा भावनात्मक नारा प्रयोग गरेर भोट तानियो,
अब राष्ट्रिय तहमा पनि यही रणनीति दोहोर्याइँदैछ ?
यदि हो भने, यो परिवर्तन हो कि केवल अल्गोरिदम पिआर ?
अन्तिम र सबैभन्दा खतरनाक प्रश्नः
हामी वास्तवमै नेता छान्दैछौँ
कि डिजिटल एल्गोरिदमले बनाइदिएको हिरो लाई स्वीकार गर्दैछौँ ?
बालेन शाहसँग भोटभन्दा धेरै followers छन्,
नीतिभन्दा बलियो reach छ,
र कामभन्दा छिटो viral हुने image छ।
तर के
TikTok, Facebook र Twitter मा चल्ने एल्गोरिदम
देश चलाउने संविधानभन्दा ठूलो हुन सक्छ ?
आज राजनीति नीति र योजना होइन,
डिजिटल युद्ध (algorithmic war) मा रूपान्तरण भइसकेको छ
जहाँ प्रश्न सोध्नेलाई “दलाल”,
आलोचना गर्नेलाई “पुरानो सोच”,
पाको उमेरलाई “ बूढाखाडा, ग्वाँज”
र भीडसँग नहिँड्नेलाई “राष्ट्रद्रोही” बनाइन्छ ।
यो परिवर्तन होइन,
यो mass psychology manipulation हो।
भावनाले जितेको भोट
कहिल्यै संरचनाले जित्दैन,
र एल्गोरिदमले बनाएको नेता
कहिल्यै संस्थागत सुधारको प्रतीक हुँदैन ।
आज हामीले निर्णय नगरे
भोलि नेता होइन,
हामीलाई कुन भिडले के सोच्न दिने हो
त्यो एल्गोरिदमले निर्णय गर्नेछ ।
अब प्रश्न बालेनको होइन
हामी नागरिक रहन्छौँ
कि डिजिटल भीडमा रूपान्तरण हुन्छौँ????